coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनवरत अनशन

जुम्ला - राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर पछिल्लो पटक १४ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिहीबार रातिदेखि थप जटिल बनेको छ ।

मस्तिष्कमा देखिएको समस्या कारण उनी छिनछिनमा अर्धचेत हुने गरेको जानकारी सहयोगी डा. जीवन क्षेत्रीले दिएका छन् । क्षेत्रीका अनुसार डा. केसीको मस्तिष्कमा रक्तसञ्चार राम्रोसँग हुन नसकेका कारण यस्तो समस्या आएको हो ।

‘बिहीबार रातिदेखि बेलाबेलामा अर्धचेत (चेतना कम) हुने समस्या देखिएको छ, क्षेत्रीले शुक्रबार नागरिकसँग भने, ‘मस्तिष्कमा राम्रोसँग रक्तसञ्चार हुन नसक्दा यस्तो समस्या आएको हो ।’ डा. केसीको शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा पनि न्यून हुँदै गएको छ । ‘यी सबै कारणले मस्तिष्कमा असर पु¥याइरहेको छ,’ केसीले भने, ‘बिहीबार रातिदेखि स्वास्थ्यमा थप जटिलता देखिएको छ।’

डा. केसी ‘छिनछिनमा अर्धचेत’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा. केसीमा छाती देख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको जानकारी क्षेत्रीले दिए । डा.केसीलाई संक्रमणको खतरा पनि देखिएको छ । उनलाई जुनसुकै बेला पनि सुविधासम्पन्न आइसियू उपचार सेवा चाहिने अवस्थ देखिएको पनि उनले बताए ।

वार्ताको टुंगो छैन
डा. केसीका माग सम्बन्धमा सरकार अहिलेसम्म गम्भीर बन्न सकेको छैन । केसीले सरकारसँग वार्ताका लागि आफू तयार रहेको बताए पनि सरकारले चासो नदेखाएको क्षेत्रीले बताए ।

बिहीबार रातिदेखि बेलाबेलामा अर्धचेत हुने समस्या डा. गोविन्द केसीमा देखिएको छ । मस्तिष्कमा राम्रोसँग रक्तसञ्चार हुन नसक्दा यस्तो समस्या आएको हो । डा. जीवन क्षेत्री

‘अनशन र समस्या समाधानप्रति सरकार गम्भीर देखिएको छैन,’ डा. क्षेत्रीले भने, ‘अहिलेसम्म वर्ताको कुनै सुरसार छैन ।’ डा. केसीका माग र अनशनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले तत्काल वार्ता समिति गठन गर्न सरकारलाई दबाब दिएको छ।

प्रकाशित: ३० असार २०७५ ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App