८ वैशाख २०८१ शनिबार
समाज

भाैतिक पूर्वाधार अभावमा सास्ती खेप्दै थुनुवा

धरान - डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ थुनुवा अभियुक्तहरु छन् । आवश्यक भौतिक संरचना एवं पुर्वाधार अभावमा सबै थुनुवा एकै कोठामा कोचिएर बस्न बाध्य छन्।

‘इलाका प्रहरी कार्यालयको हिरासतको क्षमता ४० जनाको मात्र हो, तर अहिले ९३ थुनुवा छन् । यसले एकदमै समस्या भइरहेको छ,’इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रामेश्वर पौडेलले भने,‘सबैलाई एकै ठाउँमा राख्दा एउटाको रोग अर्कोलाई सर्न पनि सक्छ । गम्भीर अपराध र सामान्य घटनाका थुनुवालाई पनि एकै ठाउँमा राख्नु उचित हुन्न ।’

धरानमा अधिकांश लागुऔषध कारोबारी र सेवन गर्ने युवाहरु थुनामा पर्छन् । ती मध्ये कतिपय लागुऔषध प्रयोगकर्तामा हेपाटाइटिस सि को संक्रमण भएको हुन्छ । अन्य थुनुवाहरुमा पनि सरुवा रोग हुनसक्छ र श्वासप्रश्वासबाट अन्य निरोगी व्यक्तिमा सर्ने उच्च जोखिम हुन्छ । ‘कसुरको प्रकृतिको आधारमा वर्गीकरण गरेर राख्न उचित हुन्छ, तर आवश्यक ठाउँ नभएर एकै ठाउँमा राख्न बाध्य छौं,’डिएसपी पौडेलले भने। 

प्रहरी–नागरिक मिलेर धरानमा प्रदेश १ कै नमुना हिरासत भवन बनाउने
डेढ दशकअघिको हिरासत कक्ष साँघुरो भएपछि इलाका प्रहरी कार्यालय धरानले नगरबासीहरुसँग मिलेर नयाँ आधुनिक हिरासत कक्ष बनाउन कस्सिएको छ । हिरासत कक्ष निर्माणकालागि धरानका पुर्वउपमेयर मिन सुब्बा संयोजक रहेको १७ सदस्यीय इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिसमेत गठन भइसकेको छ । भवन निर्माणकालागि लागत स्टिमेट र डिजाइनसमेत तयार भइसकेको र हिरासत भवन प्रदेश १ कै नमुना हुने निर्माण समितिले जनाएको छ। 

नयाँ हिरासत भवन २ तलाको हुनेछ । जसमा थुनुवाको क्षमता १ सय ६० जनाको हुनेछ । माथिल्लो तलामा भिआइपी २ वटा थुनुवा कोठा हुनेछ । त्यहाँको क्षमता १५ देखि २० जनाको हुनेछ । भुईतलामा पुरुषको ३ वटा र महिलाको एउटा हिरासत कोठा हुनेछ । हिरासत भवनको कुल लागत १ करोड ६० लाख हुने डिएसपी पौडेलले बताए।

 

प्रकाशित: २९ असार २०७५ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App