coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

गल्ती नदोहोर्‍याउने पोग्बाको दाबी

मस्को – फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले आइतबार विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध खेल्दा २ वर्षअघि युरोपियन च्याम्पियनसिपको फाइनलमा गरेको जस्तो गल्ती नदोहोर्‍याउने बताएका छन्। 

घरमै भएको युरोपियन च्याम्पियनसिपको फाइनलमा फ्रान्स पोर्चुगलसँग थपिएको समयमा १–० ले पराजित भएको थियो । मस्कोस्थित लुझनिकी रंगशालामा हुने फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । तर, फ्रान्सले आफूलाई दाबेदारका रूपमा लिँदा दुई वर्ष नतिजा गुमाउनुपरेको भन्दै पोग्बाले यस पटक आफूहरू त्यसरी प्रस्तुत नहुने बताए। 

२०१६ मा भएको युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई हराउँदै फाइनलमा पोर्चुगलसँगको भेट पक्का गरेको थियो । पेरिसमा सम्पन्न फाइनलमा पोर्चुगललाई ‘अन्डर डग’ का रूपमा लिइएको थियो । तर, पोर्चुगलले थपिएको समयमा गोल गर्दै फ्रान्सलाई स्तब्ध बनाएको थियो। 

‘हामी अहिलेको अवस्थासँग सचेत छौं । हामी २ वर्षअगाडिको जस्तै गल्ती दोहर्याउन चाहँदैनौं । हामी पहिलेको जस्तै मानसिकतामा छैनौं । आइतबारको खेलमा केन्द्रित छौं । यो उपाधि घर लैजान हाम्रो तर्फबाट सबै प्रयास गर्नेछौं,’ इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले भने, ‘युरोपियन च्याम्पियनसिपमा हामी जितिसकेको मनस्थितिमा थियौं । अहिले हामी त्यस्तो मानसिकतामा छैनौं । ‘म ढाँट्दिनँ, जर्मनीलाई हराएपछि फाइनल पनि जित्यौं भन्ने लागेको थियो । फाइनलमा हार्नुको पीडा कस्तो हुन्छ भन्ने हामीलाई थाहा छ । त्यही पीडा पुनः भोग्न चाहँदैनौं । पोर्चुगलविरुद्धको खेल सुरू हुनअघि नै हामी उपाधि जितिसकेको मानसिकतामा थियौं । अब त्यस्तो हुँदैन।’

प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गर्दै आएको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिना,  क्वार्टरफाइनलमा उरुग्वे र सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलसम्मको यात्रा तय गर्दा फ्रान्सले निर्धारित ९० मिनेटकै समयमा नतिजा निकालेको छ । ठीक विपरीत क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा रूससँग टाइब्रेकरबाट नतिजा निकालेको थियो । बुधबार सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध पनि क्रोएसियाले थपिएको ३० मिनेटमा नतिजा निकालेको हो।

पोग्बाले क्रोएसियाको नतिजा हेर्दा संघर्षरत जस्तो देखिएको भन्दै टोलीमा थुप्रै प्रतिभावान् खेलाडी रहेको बताए । ‘क्रोएसियाले संघर्षपूर्ण नतिजा निकाल्दै यहाँसम्म आइपुगेको छ । तर, मानसिक रूपमा उनीहरू धेरै बलिया छन् । हामी फेबरेट टोली होइन । हामी प्रतियोगिताको सुरुआतमा जस्तै छौं । एकता नै हाम्रो बलियो पक्ष हो । केही पाउनका लागि प्रयासरत छौं र त्यसका लागि जे गर्न पनि तयार छौं।’

१९९८ विश्वकपको सेमिफाइनलमा क्रोएसियालाई हराएको फ्रान्सले फाइनलमा ब्राजिललाई हराउँदै उपाधि उचालेको थियो । त्यसपछि पनि फ्रान्सको यो दोस्रो विश्वकप फाइनल हो । क्रोएसिया फाइनल पुगेको भने यो पहिलो पटक हो।

‘क्रोएसिया आफ्नो जर्सीमा तारा थप्न (उपाधि जित्न) आतुर छ । उनीहरूले राम्रो फुटबल खेलिरहेका छन् र जित्न चाहन्छन् । मेरो जर्सीमा एउटा तारा भए पनि त्यो मैले जितेको होइन,’ रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिच एक जनालाई रोक्न मात्र केन्द्रित नहुने भन्दै पोग्बाले थपे, ‘क्रोएसिया भनेको मोडरिच मात्र होइन । उनीहरूसँग मारियो मान्डजुकिच, इभान राकेटिच र इभान पेरिसिच पनि छन् । उनीहरूको रक्षापंक्ति पनि उत्कृष्ट छ । मोडरिचका लागि मात्र हाम्रो योजना केन्द्रित हुँदैन । योजना खेल जित्ने हुन्छ।’

 

प्रकाशित: २९ असार २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App