coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अफ्रिकी फुटबलमा युवा विकास आवश्यक

मस्को – नाइजेरियाका पूर्वविंगर इमानुयल अमुनिकेले अफ्रिकन फुटबल सुधारका लागि युवा विकास आवश्यक रहेको बताएका छन्।

विश्वकप फुटबलमा प्रतिनिधित्व गरेका अफ्रिकन टोलीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै सुधारका लागि युवा विकास जरुरी रहेको बताएका हुन् । सहभागी पाँच राष्ट्र कुनै पनि नकआउट चरण प्रवेश गर्न सकेनन् । प्रतियोगितामा नाइजेरिया, सेनेगल, ट्युनिसिया, इजिप्ट र मोरक्कोले सहभागिता जनाएका थिए।

‘अफ्रिकन राष्ट्रहरूको खेल निकै निराशाजनक भयो,’ फिफाका प्राविधिकसमेत रहेका अमुनिकेले मस्कोमा भएको पत्रकार सम्मेलनमा भने, ‘समर्थकले यसअघिको संस्करणमा देखाएको प्रदर्शनबाट अफ्रिकन टोलीबाट धेरै अपेक्षा गरेका थिए तर अफ्रिकन टोलीले यो संस्करणमा राम्रो प्रदर्शन गर्न सकेनन्।’

जारी विश्वकपमा सेनेगल फेयर प्लेको आधारमा जापानसँग पछि पर्दै समूहचरणबाटै बाहिरिएको थियो भने अन्य टोलीले सम्झनलायक प्रदर्शन गरेनन् । यसअघि २०१४ मा नाइजेरिया र अल्जेरियाले नकआउट चरणको यात्रा तय गर्न सफल भएका थिए भने घानाले ८ वर्षअघि दक्षिण अफ्रिकामा सम्पन्न संस्करणमा पहिलो पटक क्वार्टरफाइलनमा पुग्दै इतिहास रचेको थियो।

‘फुटबलमा धेरै परिवर्तन भएको यथार्थ हो । अफ्रिकन टोलीले परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी छ,’ अमुनिकेले भने । १९९० दशकका स्पोर्टिङ लिस्बन र बार्सिलोनाका विंगर अमुनिकेले १९९४ को विश्वकपको अन्तिम १६ मा इटालीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै नाइजेरियालाई जित दिलाएका थिए । खेलजीवनपछि अमुनिकेले नाइजेरियाको यु–१७ टोलीलाई प्रशिक्षण दिएका थिए।

‘यु–१७ को प्रशिक्षणको अनुभवले के बताउँछ भने उमेरसमूहमा धेरै लुकेका प्रतिभा रहेका छन्,’ अमुनिकेले भने, ‘उनीहरूलाई उचित अवसर प्रदान गरियो भने उनीहरूले देशका लागि राम्रो फुटबल खेल्न सक्छन्।’

 

प्रकाशित: २९ असार २०७५ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App