जनकपुरको मूलभूत पहिचान स्थानीय माटो, हावा र पानीसमेत पवित्र मानिने धार्मिक धामको भए पनि कार्यनीतिकतवरले यस सहरको महत्व प्रतिरोधको केन्द्रका रूपमा रहँदै आएको छ । पूरै मिथिला क्षेत्र वर्ण व्यवस्थाको बन्धनमा रहेका बेला जनकपुरबाट रामानन्दी सम्प्रदायको ‘जात पात पुछे नहीं कोइ, हरीको भजै सो हरीको होइ’ भन्ने हाँक चौतर्फी गुञ्जिएको थियो । रामानन्दी परम्परामा ‘राममन्त्र’ ग्रहण गर्नमात्र नभएर प्रदान गर्न सक्ने गोस्वामी पदमानका लागि पनि हिन्दु वर्ण व्यवस्थाका तथाकथित चाण्डालहरूसमेत योग्य मानिन्छन् । शायद त्यसैले होला, सन् १९५०को दशकसम्म पनि मैथिल सोइतहरू जनकपुरमा स्थायीरूपले बस्न उतिसाह्रो रूचाउँदैनथे।
सन् १९५०को राजनीतिक जागरणमा मिथिला क्षेत्रको महत्वपूर्ण भूमिका थियो । गान्धीवादी राजनीतिक धारको अगुवाइ महेन्द्रनारायण निधी एवं समाजवादी हुँकारको नेतृत्व रामनारायण मिश्रले गरिरहेका थिए । केहीपछि सरोज कोइराला क्रान्तिकारी युवा नेताका रूपमा उदाए । काठमाडौँमा नेपाली कांग्रेसकै सरकार रहेको बखत पनि जनकपुरको जुझारूपन कम भएन । पाँच पटकसम्म भारतीय लोकसभाको सदस्य भएका मधुवनीका यशस्वी सांसद भोगेन्द्र झाको सानिध्यमा रहेर नेपालको मिथिला क्षेत्रका कैयन् राजनीतिकर्मीले साम्यवादको कखरा सिके एवं कालान्तरमा बलान नदीको फाँट र कमलामाईको खोँचलाई आफ्नो कर्मस्थल बनाए । निर्वाचनको अंकगणितमा निस्प्रभावी जस्तो देखिए पनि वैचारिकतवरले जनकपुरमा साम्यवादीहरूको उपस्थिति कहिल्यै कमजोर रहेन।
जतिसुकै वर्ग संघर्षको प्रधानतालाई औल्याए पनि नेपालका कम्युनिस्टहरू मूलतः जजमानी एवं पुरेतवादी कर्मकाण्डबाट निर्देशित हुने रहेछन् भन्ने कुरा सन् १९९० पछि प्रष्टिँदै गयो।
सन् १९६०मा अधिनायकवादी व्यवस्थाले जरा गाड्न थालेपछि सबभन्दा पहिलो विद्रोहको सुरूवात राजा महेन्द्र चढेको मोटरमा बम फालेर दुर्गानन्द झाले गरेका थिए । जसलाई यतिखेर ‘शहीद शिरोमणि’ भनिन्छ । अहिले विसंगत जस्तो लागे पनि अहिंसाका पक्षधर रहेका नेकाका केही नेता÷कार्यकर्ताले आफ्नै दलको निर्णयको विरोध त्यसबेला पनि नगरेका होइनन् । त्यस घटनापछि कतिपय नेकाका स्थानीय राजनीतिकर्मीले रातारात राजावादी बन्ने बहाना भेट्टाएका थिए । सन् १९६०को दशकमा प्रतिरोधको राजनीतिको प्रतीक व्यक्ति निसन्देह सरोज कोइराला बन्न पुगेका थिए । तत्कालीन सत्ताले स्वनिर्वासनमै रहेका बेला उनको हत्या गर्न लगाएपछिमात्र जनकपुरमा राजावादीहरू पनि खुल्लमखुला राजनीति गर्न सक्ने भएका हुन्।
सन् १९७० मा सत्ता विरोधी राजनीतिको केन्द्रविन्दु स्थानीय महाविद्यालय थियो जहाँ कोसीदेखि वाग्मती नदीबीचको मैदानका सर्वश्रेष्ठ विद्यार्थीहरू उच्चाध्यणकालागि झुम्मिने गर्थे । नेकाका विमलेन्द्र निधीदेखि नेकपा दोहरोका ईश्वर पोखरेल एवं राजपा नेपालका वृशेषचन्द्र लालसम्म राजनीतिक विक्षोभको यसै कालखण्डका उपज हुन् । सन् १९७० को दशकमै प्रतिरोधमात्र नभएर वैकल्पिक राजनीतिका रूपमा रामराजाप्रसाद सिंहको आकर्षण पनि बढ्न थालेको हो । त्यसैको फलस्वरूप सन् १९८० को दशकमा राजनीतिक विद्रोहको प्रतीक चिह्नका रूपमा राज्यद्वारा बेपत्ता पारिएका चिकित्सक लक्ष्मीनारायण झा प्रतिष्ठापित भए । उनी मारिएका हुन सक्छन् भन्ने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सन् १९९० मा आकलन गरेकाबाहेक उनको स्थितिबारे आधिकारिकरूपमा अहिलेसम्म पनि कसैले केही भन्न सकेका छैनन्।
जनकपुर अस्पतालको पुनः नामाकरण राज्यसत्ताद्वारा बेपत्ता पारिएका चिकित्सक लक्ष्मीनारायणको नाउँबाट गरिनुपर्छ भन्ने राजनीतिकर्मी विमलेन्द्र निधीको प्रस्ताव त्यस कारण पनि उचित ठह-याउन सकिन्छ । गणतान्त्रिक चेतनासँगै मधेसी अस्मिताको प्रश्नलाई जोड्ने सुरुका थोरै नागरिक अगुवामध्ये चिकित्सक लक्ष्मीनारायण पनि थिए । सन् १९८० कै दशकमा गजेन्द्रनारायण सिंहको राजनीतिक जागरण अभियान पनि सुरू भएको हो । तर स्थानीय गोर्खाली समुदाय राज्यसत्तासँग संघर्ष गर्ने मोर्चामा मधेसीहरूसँगै उभिने गरेकाले गज्जुबाबुको राजनीतिले जनकपुर क्षेत्रमा अपेक्षित गति लिन सकेन।
प्रजातन्त्रको एउटा अन्तर्र्नििहत गुण के हो भने खुला प्रतिस्पर्धाले राजनीतिकर्मीहरूको अन्तस्करणमा रहेका पूर्वाग्रहहरूलाई पनि सतहमा ल्याइदिन्छ । जतिसुकै वर्ग संघर्षको प्रधानतालाई औल्याए पनि नेपालका कम्युनिस्टहरू मूलतः जजमानी एवं पुरेतवादी कर्मकाण्डबाट निर्देशित हुने रहेछन् भन्ने कुरा सन् १९९० पछि प्रष्टिँदै गयो । समाजवादको नारा फलाके पनि नेकाको अर्थराजनीतिक सिद्धान्त परजीवी पुँजीवाद रहेको देखियो । राजनीतिमा भाइ÷भतीजावाद एवं राज्य व्यवस्थामा चाकरतन्त्र (नेपोटिज्म एवं क्रोनिज्म) पुरेतवादी तथा परजीवी पुँजीवादको अन्तर्र्नििहत चरित्र हुने रहेछ । सन् १९९६ पछि मधेसको राजनीति केही कालसम्म दिशाहीन जस्तो देखिए पनि माओवादीसँग प्रत्यक्ष वा परोक्षरूपले जोडिएका जयकृष्ण गोइत, मातृका यादव, उपेन्द्र यादव एवं ज्वाला सिंह जस्ताहरूले विद्रोहको झण्डा फहराइराखे । गणतान्त्रिक चेतनालाई जीवन्त राख्न निर्वासनमा रहेका रामराजाप्रसाद सिंहको भूमिका पनि कमजोर भएको थिएन।
माओवाद परित्याग गरेर मधेसकेन्द्रित राजनीतिको नेतृत्व गर्न पुगेका उपेन्द्र यादवलाई अब मधेसवाद शब्दसँग समेत प्रत्युर्जता (ऐलर्जी) उत्पन्न भएको छ। मधेसवादको झण्डा समातेर आफ्नो राजनीतिक सान्दर्भिकता जोगाएका थारू नेता विजयकुमार गच्छदार १६बुँदे षड्यन्त्रमा सामेल भएदेखि राष्ट्रवादीमा दरिएका छन्।
सन् २००६ पछिको प्रतिरोध राजनीतिमा माओवादीको विरोध प्रमुख कार्यसूची बन्न पुगेको थियो । माओवाद परित्याग गरेर मधेसकेन्द्रित राजनीतिको नेतृत्व गर्न पुगेका उपेन्द्र यादवलाई अब मधेसवाद शब्दसँग समेत प्रत्युर्जता (ऐलर्जी) उत्पन्न भएको छ । मधेसवादको झण्डा समातेर आफ्नो राजनीतिक सान्दर्भिकता जोगाएका थारू नेता विजयकुमार गच्छदार १६बुँदे षड्यन्त्रमा सामेल भएदेखि राष्ट्रवादीमा दरिएका छन् । मधेस विद्रोहको असर एवं तत्कालीन मधेसवादी नेता उपेन्द्र यादवको जातीय ऐक्यबद्धताका कारण गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति बन्न सफल महामहिम रामवरण यादवले आफ्नो पूरा कार्यकाल मधेसी अस्मितालाई होच्याउँदै बिताए । तर भनाइ नै छ– समय आइसकेको विचार जत्तिको बलवान दुनियाँमा अरु कुनै शक्ति हुँदैन । अहिले पनि विवादित संविधानको सम्भाव्य प्रतिरोध जनकपुरबाट मात्र उठ्न सक्छ । तत्कालै भने त्यस्तो सम्भावना कम देखिन्छ । आजभोलि राज्यसत्ताका मतियारहरू मधेसको राजनीतिमा हावी भएको जस्तो देखिन थालेको छ।
सत्ताका अभिसारी
जहाँ प्रतिरोध हुन्छ, त्यहाँ राज्यसत्ताले अभिसारीहरू (अकाम्पलिसेज) पनि पहिल्याउँछ । सन् १८१६को सुगौली सन्धि एवं त्यसपछि इस्ट इन्डिया कम्पनीसँग गरिएको भूअधिकार अवस्थापन (टेरिटोरियल सेटल्मन्ट) पश्चात गोर्खालीहरूलाई मधेसमा विश्वसनीय मतियार चाहिएको थियो । मिथिला क्षेत्रको स्थानीय दशनामी सम्प्रदाय गोर्खाली सत्तासँग सबभन्दा पहिले जोडिन पुगेको थियो । शंकराचार्यद्वारा वर्ण व्यवस्थाबाट मुक्त राखिएका दशनामीहरू मुगल सम्राज्यको कालखण्डसम्म आइपुग्दा निस्पृह साधु र भाडाका सिपाही हुँदै उत्तर एवं मध्य भारतका ठूला साहूकार भइसकेका थिए । मकवानपुरे सेनहरूको शासनकालदेखि नैं कतिपय शैव एवं शाक्त पीठहरूको महन्थइ महाभारत पर्वत शृंखलाबाट तल झरेका दशनामीहरूको हातमा थियो । तिनले गोर्खालीहरूको विजय अभियानलाई तन, मन र धनले सहयोग गरेका थिए । गोर्खालीहरूको जागिर सम्हाल्ने सबभन्दा पहिला मतियार तिनै भए । स्थानीय केही ‘बेचु बाबा’ मधेसीहरू तिनका सहयोगी हुने गर्थे।
नेपाल उपत्यकामा जंगबहादुर कुँवरको उदयपश्चात गोर्खाली सत्ता औपनिवेशिक प्रारूपबाट सम्राज्यवादी नमुनाअनुसार चल्न थालेको हो । गोर्खाली सभ्रान्तले त्यतिबेलादेखि नै सहयोगी भूमिकाका लागि स्थानीय ‘बेचु बाबु’ जग्गावालहरूको पहिचान गर्न लागेको हो । चौधरी र मुखियाको भूमिकामा मख्ख परेका कतिपय बेचु बाबुहरूका शाखा सन्तान अहिले पनि गोर्खाली दरवारसँग आफ्नो परिवारको पुरानो सम्बन्ध रहेको कुरा गौरवका साथ बताउने गर्छन् । तर केही मधेसी परिवारसँग गोर्खाली सभ्रान्तहरूको सम्बन्ध बाक्लिएको भने चन्द्रशमशेरले व्यापक वन फडानी गरेर जथाभावी बिर्ता बाड्न थालेपछि हो । नहर बिस्तारले गर्दा कृषि उत्पादकत्वमा वृद्धि, काठ निकासीका लागि रेलमार्ग निर्माण तथा धान चामल निर्यातका लागि खनिएका गोरू गाडा सडकहरूको सञ्जालले गर्दा कतिपय गोर्खाली सभ्रान्त मिनपचासको जाडो छल्न मधेस ओर्लिन थालेका थिए । तिनलाई समय काट्न साथ दिने दुईथरी मधेसीको समूह देखिन थाल्यो । एकथरी हुक्का भर्ने ‘बेचु बाबा’ हुन्थे भने अर्कोथरी हुक्कापानीमा साथ दिने ‘बेचु बाबु’ हुन्थे । दुवैथरीको जमात जुद्धशमशेरको कालखण्डसम्म उल्लेख्य भइसकेको थियो।
द्वितीय विश्वयुद्धताका काठ निकासीले तीव्रता पाएकाले जंगल फडानी व्यापक भयो । जुद्धशमशेरको खलक ठूलो एवं तिनका हुक्के तथा बैठकेहरूको संख्या पनि उल्लेख्य भएकाले मधेसमा गोर्खाली सभ्रान्तले आफ्नो बिर्ता रेखदेख गर्न पहाडतिरबाटै सुब्बा, खरदार तथा तहविलदार खटाउन थाले । कासी, कलकत्ता वा दार्जिलिङ पढ्ने गोर्खाली सभ्रान्तका ‘बाबा हजुरहरू’ घोडचढी सिक्न वा स्थानीय तलाउमा बाँकटे हान्न जाडोको बिदा मधेसमा बिताउन थाले । तिनका लागि ब्रासलेटको धोती लगाउने बेचु बाबुहरूभन्दा भातभान्छामा सघाउने एवं लाए अराएको काम गर्ने ‘बेचु काकाहरू’ बढी महत्वपूर्ण हुने गर्थे । सन् १९६० पछि नेपाली कांग्रेसमा लागेका बेचु बाबुहरूलाई ठीक पार्न राजा महेन्द्रले सबभन्दा पहिले यिनै बेचु काका प्रवृत्तिका मधेशीलाई उपयोग गरेका थिए । त्यसपछि मात्रै पंञ्चायतका प्रचारकहरूले उद्गामी (इमर्जन्ट) सभ्रान्त पहिचान गरेर राज्यसत्ताप्रति बफादार तथा व्यवस्थाप्रति समर्पित ‘बेचु भाइजीहरू’ तयार गरेका हुन्।
चन्द्रशमशेरभन्दा पहिलेका बेचु बाबाका सन्तानहरू गोर्खाली सभ्रान्तसँगको परम्परागत सम्बन्धका बाबजुद मधेसको राजनीतिमा उत्तिसाह्रो प्रभावशाली छैनन् । मुसलमान एवं थारू समुदायका राज्यसत्ताका परम्परागत वफादारहरूको क्षमता अहिले पनि आफ्नो पहिचान अस्वीकार गर्ने (‘हामी मधेसी होइनौँ !’) कर्मर्म खर्च हुँदोरहेछ । मुक्ति पाउने आशमा कतिपय बेचु बाबाहरू माओवादीसँग जोडिए । एकताका मधेसकेन्द्रित दलका अग्रपंक्तिमा पनि तिनैं देखिन्थे । हिन्दुवादको आशक्तिले गर्दा केही बेचु बाबु अहिले पनि निरन्तर खिइँदै गएका पूर्वपञ्चका पार्टीसँग जोडिएका छन् । केही बेचु बाबु एवं अधिकांश बेचु भाइजीहरू अहिले पनि नेकामै झुण्डिएका छन् । पञ्चायतको पतनपछि बेचु काका प्रवृत्तिका मधेसीहरू भने रातारात एमाले भए । घरमा समेत मातृभाषाको साटो नेपालीमात्र बोल्ने एवं राष्ट्रवादको नारा ‘नयाँ मुसलमानको नौपटक नमाज’ जस्तै बिनाप्रसंग पनि उचालिराख्ने बेचु काकाहरूको महŒव सन् २००८ पछि केही घटेको थियो । सन् २०१५ देखि काठमाडौँमा अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको वर्चस्व स्थापित भएदेखि तिनका गतिविधि एवं चुरीफुरी पुनः बढेको छ।
मध्यस्थको उपयोगिता
जनकपुर सहर आजभोलि विकासरूपी मादक अवधारणाको नशामा लठ्ठ छ । कुनैबेला राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय मुद्दामा समेत छलफल गर्ने जनक चोकमा आजकल स्थानीय ठेक्कापट्टाको चर्चा चल्छ । काठमाडौँको प्रभावशाली मिडियाका मुहानमा भइरहेको द्वारेहरूको सम्भाव्य हेरफेरमा कसैलाई रुचि छैन । वीर अस्पतालमा अन्न/जल त्याग गरेर बसेकी गंगामायाको नामसमेत कमैले सुनेका छन् । चिकित्सक गोविन्द केसीको भोक हड्ताल कौतुहलको विषय भएपनि तिनले उठान गरेका मुद्दाले सहानुभूति पाएको देखिँदैन । मिडियामा जो आए पनि मधेसको कुरा उठ्ने होइन भन्ने भावना बलियो छ । गंगामायाको अडानबाट राज्यसत्ताद्वारा हत्या गरिएका निर्दोष मधेसीका परिवारले पनि न्याय पाउन सक्नेछन् भने आश देखिँदैन । सबभन्दा अचम्भलाग्दो निरपेक्षता चिकित्सक केसीको अनशनप्रति देखिन्छ । उनले उठाएका स्वास्थ्य र शिक्षामा गुणस्तरको प्रश्न मधेसी हितसँग पनि जोडिएको छ। त्यो कुरा औल्याउँदा प्रतिप्रश्न आउँछ– मालिक उही हुने भएपछि राज्य वा व्यापारीमध्ये जसले शिक्षालय सञ्चालन गरे पनि अधीनस्थ समुदायलाई के फरक पर्छ ? लाग्छ, मधेसी मध्यम वर्गले जुझारुपन परित्याग गरेर उत्तरजीविता रूप (सर्भाइबल मोड) अख्तियार गरेको छ । स्वाभाविक हो, त्यस्तो अवस्थामा राज्यसत्तासँग मोलभाउ एवं लेनदेन गर्न सक्ने मध्यस्थहरूको भूमिका महŒवपूर्ण बन्न पुग्छ।
ठ्याक्कै उस्तै नभए पनि बेचु काका प्रवृत्तिलाई हिन्दी फिल्मका मालिकहरूप्रति सदैव बफादार रहने पात्र ‘रामु काका’ भन्दा पनि नश्लीय अमेरिकाको काल्पनिक चरित्र ‘अंकल टम’ सँग तुलना गर्न मिल्छ । त्यसै प्रवृत्तिबाट मनोविज्ञानको ‘अंकल टम सिन्ड्रोम’ अवधारणा उब्जिएको हो । परिस्थितिसँग सम्झौता गरेर निर्वाह गर्नका लागि अंकल टम जस्तै बेचु काकाहरू पनि निसहायता एवं विनम्रताको आवरण अंगीकार गर्छन् । आफ्ना निजी विचार एवं मनोभावलाई लुकाउँछन तथा प्रभावशालीहरूले सुन्न चाहेको कुरा गरेर तिनको अहम्लाई तृप्त गर्छन् । स्वाभाविक हो, वर्चस्वशाली समुदायको बिगबिगी चढेका बेला बेचु काकाहरूको उपयोगिता र माग पनि बढ्छ । अधिनायकवाद होस् वा नृजातीय गणतन्त्र, बाँच्नका लागि केही अश्वेत एवं ल्याटिनोहरू रंगभेदी डोनाल्ड ट्रम्पलाई मत दिन्छन् । महŒवाकांक्षी मुसलमान एवं इसाईहरू भारतीयताका नाउँमा हिन्दुत्ववादी नरेन्द्र मोदीका पछि लाग्छन् । र, राष्ट्रवादको माला जप्दै कतिपय मधेसी तिनको पहुँच सिधै अध्यक्ष ओलीको भान्छा र भित्री बैठकसम्म भएको फूर्ती लाउँछन्।
बेचु काकाहरूको व्यापकता पञ्चायतकालमा पनि नभएको होइन । एकताका गोर्खाली कारिन्दाको साटो ‘शेरे धनुषा’ भनिने हेमबहादुर मल्लले पनि मधेसी मध्यस्थहरूलाई नै प्राथमिकता दिने गर्थे । सन् १९९० पछि त्यो चलन तोडिएको थियो एवं मधेसी मन्त्रीहरू पनि सहजताका लागि खसआर्य समुदायका निजी सहायक राख्न थालेका थिए । वर्णभन्दा वर्ग महत्वपूर्ण हो भन्ने वामपन्थीहरूको छनोटमा सवर्णमात्र नभएर सजातीय नै पर्ने गथ्र्याे । त्यो चलन अद्यापि कायम छ । फरक के हो भने सहयोगीहरूसँग मध्यस्थता गरिदिने मधेसीहरूको जमातले सन् १९८० दशकको झझल्को दिन थालेको छ । मधेसमा अधिनायकवाद सन् २०१५ को सेप्टेम्बरदेखि नै लागु भइसकेको हो । अहिले प्रतिरोधलाई मुखर गर्न सक्ने व्यक्तिहरू पनि मध्यस्थ भएका छन् । जनकपुरको हावामा आजभोलि जुझारुपनको ऊर्जाको साटो समर्पणवादी बेहोसी व्याप्त छ । काठमाडौँमा जति नाटक मञ्चन भए पनि मधेस नबिउँतिएसम्म प्रतिरोधको राजनीतिले गति लिन सक्ने छैन । अहिलेलाई अध्यक्ष ओली मस्तसँग सुते हुन्छ, पंखा हल्लाउन बेचु काकाहरूको फौज मधेसमा पनि क्रियाशील छ।
प्रकाशित: २९ असार २०७५ ०४:४४ शुक्रबार