६ वैशाख २०८१ बिहीबार
विचार

भाषिक एकताका स्रोत

आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । भाषिक हिसाबले एकताका पे्ररणा । भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन् । भानुभक्त सशक्त सिर्जनाका नायक हुन् । भानुभक्तले नेपाली भाषामा रामगीता, बधुशिक्षा जस्ता कैयौँ काव्यहरूको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाए । भानुभक्त सम्झँदा मोतीराम भट्टको नाम पनि सँगसँगै आउँछ । भानुभक्तका कीर्तिहरूलाई व्यापक प्रचार गर्नमा उनको ठूलो देन छ । भानुभक्त कवितात्मक सिर्जनाका धनी थिए।

भानुभक्त सहज कवि थिए । मोतीराम भट्टले भानुभक्तबारे लेखेका थिए, ‘धेरै नामका कवि भानुभक्त भन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् । इनको जन्मस्थल तनहुँ देशका चुँदीबेसीको रम्घा नाम गरेको गाउँ हो । कवि भानुभक्ताचार्य सहज कवि थिए । अर्काका करमा कहिल्यै पनि बसेनन् । जस्ता भानुभक्तका सरल कविता छन् उस्तै इनको नाम पनि प्यारो छ । संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार?’

नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीहरूको थलो हो । भाषाको हिसाबले नेपाल धेरै धनी छ । विद्वान् पारसमणि प्रधानले भनेका थिए, ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षत्रीलगायत गरुङ, मगर, राई, लिम्बु, नेवार, तामाङ’ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनै पर्छ भन्ने केही छैन । तर, नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले संघर्षका निम्ति संघर्ष गर्न थाले भने न उनीहरू आफैँ उभिन सक्छन् न अरूलाई उभिन दिन्छन् । पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेको छ ।’ यसरी नेपाली भाषालाई अन्तर्जातीय रूपमा स्थापित गराउन भानुभक्तको रामायणको ठूलो देन छ।

विशाल नेपालको एकीकरण भएदेखि नै नेपाली भाषा सबै भाषाभाषीहरूबीच सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुन सकेकाले राष्ट्रभाषाका रूपमा सबै जातका नेपालीहरूको प्रतिष्ठा र पहिचानको स्रोत हुन पुगेको हो । विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै वर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो । विसं १३८२ सम्ममा किरात क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डित ज्योतिरीश्वरको मैथिली कृति ‘वर्णरत्नाकर’बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन् । त्यस्तै भानुभक्त पोखरेल लेख्छन्, ‘नेपाल एकीकरण हुनुभन्दा पाँच–सात सय वर्ष अघिदेखि नै यस भूभागका राजा–रजौटाहरूकाले परम्परा पत्राचार, सन्धि सम्झौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे, लिम्बुवान, खम्बुहाङ आदिका टुक्रे राजाहरूसित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो ।’ यसरी नेपाली भाषाले अन्तर्जातीय सम्पर्क भाषाको स्थान प्राप्त गरेको हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रताप मल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रशस्त अभिलेख पाइन्छन् । जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भाष्कर मल्ल र जयप्रकाश मल्लले पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाण छन् । त्यही भाषालाई भानुभक्तले अरू जीवन्त बनाए।

भानुभक्तको सम्मानार्थ दार्जिलिङको चौरस्तामा भानुभक्तको सालिक बडो सम्मानसाथ राखिएको थियो । गोर्खाल्यान्ड आन्दोलनका बेला नेपाल विरोधी उच्छृंखल तत्वले भानुभक्तको सालिक ढालेका थिए । हामी २०५२ असोज महिनामा दार्जिलिङ घुम्न गएका बेला चौरस्तामा भानुभक्तको सालिक ढालेको देख्दा हामी धेरै चिन्तित भयौँ । केही वर्षपछि दार्जिलिङको चौरस्तामा नै भानुभक्तको पूर्णकदको सालिक निर्माण भएको कुरा पत्रपत्रिकामा छापिएपछि खुसियाली मनाइयो । असार २९ गते भानुजयन्तीको उपलक्ष्यमा दार्जिलिङ, सिक्किम लगायत विश्वमा छरिएर रहेका नेपालीहरूले उत्सवसाथ भानु जयन्ती मनाउँछन्।

प्रकाशित: २९ असार २०७५ ०४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App