७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बेलायतमा हुने प्रदर्शनलाई लिएर चिन्तित छैन : ट्रम्प

तस्विर : एजेन्सी

ब्रसेल्स– बेलायत भ्रमणका दौरान हुनसक्ने प्रदर्शनलाई लिएर आफूलाई कुनै चिन्ता नलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

बेलायती नागरिकले आफूलाई धेरै नै माया गर्ने भएकाले आफ्नो भ्रमणका दौरान हुनसक्ने प्रदर्शनले आफूलाई कुनै प्रभावित नपार्ने ट्रम्पले बताएका हुन् । बेलायत भ्रमणमा निस्कनुअघि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को शिखर बैठकमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो  समय कैयौं राजीनामा आइरहेको भए पनि बेलायत अहिले आकर्षणको केन्द्रविन्दु भएको बताएका छन् ।

बेलायतमा रहँदा ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट)अघि व्यापारिक सम्झौता गर्न खोजिरहेकी प्रधानमन्त्री मे आफ्नो मन्त्रिपरिषदका सदस्यको लगातारको राजीनामापछि तनाबमा रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणका दौरान हुनसक्ने सम्भावित प्रदर्शनलाई निस्तेज पार्नका लागि बेलायतभर थप सुरक्षा मजबुती गरिएको र व्यापाक मात्रामा प्रहरी परिचालन गरिएको बिबिसीले जनाएको छ।

दुई दिने भ्रमणका क्रममा बेलायतमा रहँदा ट्रम्पले बेलायती महारानी एलिजावेथसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ‘बेलायती नागरिकले मलाई अत्यन्तै मन पराउँछन्  जस्तो मलाई लाग्छ ।

मेरो आप्रवासनको नीतिसँग उनीहरु सहमत रहेको जस्तो लाग्छ,’ ट्रम्पले ब्रसेल्समा बताएका छन् । ‘आप्रवासनलाई लिएर विश्वभर के भइरहेको छ तपाईंले देख्नुहुन्छ । त्यसैले ब्रेक्जिट हुँदैछ,’ ट्रम्पलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘बेलायती नागरिकले युरोपेली संघबाट बाहिरिने विषयमा मतदान गरेकाले नै बेलायत सरकारले त्यसबारेमा काम गरिरहेको जस्तो मलाई लाग्छ,’ ट्रम्पले बताए ।

प्रकाशित: २९ असार २०७५ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App