१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्यान्ड गुफा : संग्रहालय र फिल्म बन्ने

बैंकक– दुई साताभन्दा बढि समय १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षक फसेको उत्तरी थाइल्यान्डको ताम लुङ गुफालाई अब संग्रहालयमा परिणत गरिने भएको छ।

थाई अधिकारीहरुका अनुसार उक्त संग्रहालयमा १२ किशोर र उनीहरुका प्रशिक्षकलाई कसरी उद्धार गरियो भनेर देखाइनेछ । संग्रहालय बनेपछि उक्त क्षेत्र थाइल्यान्डको प्रमुख आकर्षण केन्द्र बन्ने पनि थाई अधिकारीहरुले पूर्वानुमान गरेको बिबिसीले जनाएको छ । तीन दिनसम्म चलेको उद्धार र त्यसअघिका सम्पूर्ण प्रयासबारेको फिल्मपनि बन्ने भएको छ । त्यसका लागि कम्तीमा दुई वटा कम्पनीले इच्छा देखाएको थाई अधिकारीले बताएका छन्।

उद्धार गरिएका बालक तथा उनीहरुका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् र उनीहरुको स्वास्थ्य जाँच एक सातासम्म चल्ने अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
सार्वजनिक गरिएको एउटा भिडियोमा उनीहरुको स्वस्थ रहेको र उच्च मनोबलसहित बसिरहेको देखिएको छ । थाई जल सेनाले उद्धारको नाटकीय भिडिओसमेत सार्वजनिक गरेको छ ।

त्यसमा जोखिम मोलेर उद्धारकर्ताहरुले कसरी त्यो काम सफल पारे भन्ने देखाइएको छ । ताम लुङ थाइल्यान्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएका कारण पर्यटक खासै जाँदैनन् । ‘यस क्षेत्र अब जीवित संग्रहालयको रूपमा रहनेछ,’ पूर्व गभर्नर एवं उद्धारकार्य प्रमुख नारोङ्साको सोटानोकर्नले पत्रकार सम्मेलनमा बताए ।

उनले अब ताम लुङ गुफामा एउटा अन्तरक्रियात्मक तथ्यांक भण्डार खडा गरिने पनि बताए । तथ्यांक भण्डार खडा गरिएपछि गुफा थाइल्यान्डको अर्को महत्वपूर्ण आकर्षणको रूपमा रहनेसमेत उनको जिकिर रहेको छ । यद्यपि प्रधानमन्त्री प्रायुथ चान–ओचाले गुफाभित्र र बाहिर पर्यटकहरुलाई सुरक्षित राख्ने सावधानीका उपायहरु अपनाइनुपर्नेमा जोड दिएको बिबिसीले जनाएको छ।

यसरी बन्ने संग्रहालय वर्षैभरी वा केही समयमात्रै सञ्चालनमा आउँछ भन्नेबारे भने केही प्रष्ट पारिएको छैन । वर्षायामका बेला थाइल्यान्डमा अत्याधिक वर्षा हुने गर्छ जसको कारण बाढी आउने गरेको छ । थाइल्यान्डमा प्रत्येक वर्षको जुनदेखि अक्टोबरसम्म वर्षायाम हुने गरेको छ । यस वर्ष अकास्मात वर्षा भएर बाढी आएपछि गुफाभित्र छिरेका १२ किशोर र उनीहरुका प्रशिक्षक गुफाभित्रै फसेका थिए ।

हलिउड फिल्म?
गुफाभित्र फसेका १२ किशोर र उनीहरुका एक फुटबल प्रशिक्षकलाई सफलतापूर्वक गरिएको उद्धारबारे फिल्मबनाउनका लागि दुईवटा प्रोडक्सन कम्पनीले इच्छा देखाएका छन् ।

उद्धारकार्य सम्पन्न हुनुअगावै प्रेरणादायी इसाई चलचित्र बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माताहरु त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरुसँग आफ्नो सम्भावित फिल्मको लागि अन्तर्वार्ता गरिराखेको बताएका थिए ।

तर लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले भने आफूहरुलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि औपचारिक रूपमा छानिसकेको बताएका छन् । गुफाभित्र लगभग १८ दिन बस्नु पर्दाको पीडा र उनीहरुलाई बाहिर निकाल्न तीन दिन निरन्तर चलाइएको अभियानले विश्वको ध्यान तानेको थियो । जुन २३ का दिन १२ किशोर र उनीहरुका फुटबल प्रशिक्षक उक्त गुफामा गएका थिए । तर भीषण वर्षाका कारण गुफाभित्र बाढी पसेपछि उनीहरू त्यही नै फसेका थिए ।

बेलायतका गोताखोरहरुले हराएको नौ दिनपछि उनीहरूलाई फेला पारेका थिए । दर्जनौं गोताखोर र सयौं उद्धारकर्ताहरु परिचालन गरी अन्ततः उनीहरूलाई सकुशल बाहिर निकालिएको थियो । उनीहरुकै उद्धारका क्रममा एक जना गोताखोरले ज्यान गुमाएका थिए । यसैबीच १२ किशोर र उनीहरुका एक प्रशिक्षकलाई सफलतापूर्वक उद्धार गरेका थाई जलसेना बिहीबार राजधानी बैंककको दक्षिणी क्षेत्रमा रहेको सैन्य विमानस्थलमा पुगेपछि उनीहरुलाई फूलको माला लगाएर स्वागत गरिएको बिबिसीले उल्लेख गरेको छ ।
 

 

प्रकाशित: २९ असार २०७५ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App