६ वैशाख २०८१ बिहीबार
अन्य

‘पढेलेखेकाले नै सहरको रुप बिगारे’

सत्यमोहन जोशी, संस्कृतिविद्
तपाईको विचारमा सहर के हो ?
मौलिक सभ्यताले भरिपूर्ण भएको ठाउँलाई सहर भनिन्छ । फरक जीवनशैली, रहनसहन, सेवा–सुविधा, इतिहास, कला–संस्कृति, धार्मिक मठ–मन्दिरको संगम स्थल नै सहर हो । सहरमा देवी देवताका पीठ, देवालय हुन्छन् । हिजोको पुस्ताले सिर्जेको मौलिक परम्परा हुन्छ।

हाम्रा सहरमा यी सबथोक छन् त ?
हाम्रो पुरानो मौलिक कला र संस्कृतिभरी क्रमशः लोप भएर गयो । जीवनसँग जोडिएका कतिपय कला संस्कृत हराए नै । यो निकै दुःखको कुरा हो ।

५० बर्ष अघि ध्यान नदिँदा अहिले सहरको रुपै बिग्रियो । कम्तिमा शिक्षित बर्ग र जिम्मेवार निकायमा बस्नेले विकास निर्माणका काम गर्दा संस्कृति बचाउतिर लागेको भए आज यो विरासत देख्नुपर्ने स्थिति हुने थिएन । आधुनिक सेवा–सुविधा मात्रै थपिए तर पुराना मौलिक कला संस्कृति बचेनन् । यो मानवीय कमजोरी हो।

तपाई उपत्यकाकै रैथाने हुनुहुन्छ, कस्तो थियो त्यतिबेलाको काठमाडौं ?
आज भन्दा ७०÷८० वर्षपहिले पनि काठमाडौं उपत्यका अहिले भन्दा धेरै भिन्न थियो । जीवनशैली ग्रामीण थियो । अहिलका जस्ता अग्ला भवन थिएनन् । अहिले सिमेन्टका घर ठडिएका ठाउँमा उतिबेला धान, मकै, कोदो, फापर, तोरीलगायत अन्न उब्जाउ हुन्थ्यो । धेरै ठाउँमा चउर थियो । चउरमा उपत्यकावासीले गाई चराउने गर्थे।

उबेलाको उपत्यकालाई कसरी सम्झनुहुन्छ ?
त्यतिबेलाको उपत्यका निकै स्वस्थ थियो । सबैतिर हराभरा थियो । खेतीयोग्य समथर फाट थिएँ । खानेपानीका धारा थिए । अहिले उपत्यकाका बाहिरका गाउँमा पाइने परिवेश पहिला काठमाडाैमै थियो ।

पुरानो काठमाडौं सम्झँदा रुन मन लाग्छ । समय परिवर्तनसँगै पुराना बस्ती मासिए । पुराना कला र संस्कृतिको संरक्षण गर्ने कोही भएन । हाम्रा खेतीयोग्य जमिनमा सिमेन्टका भवन ठडिए । नेपाली कला र सीपले निर्माण गरिएका वस्तु नासिए।

३० बर्ष अघिसम्म तपाई बसोबास गर्दै आएको पाटन क्षेत्र कस्तो थियो ?
३० वर्ष पहिलेसम्म पाटन मंगलबजारबाट जावलाखेलको चिडियाखानामा जनावर कराएको आवाज सुुनिन्थ्यो । दिउँसो अपराह्न्नतिर चिडियाघरमा सिंह कराएको आवाज आउँथ्यो ।

घरबाट उत्तर र पूर्वका सेता हिमाल देखिन्थे । अहिले गगनचुम्ने भवनहरु बने । त्यस्ता दृश्य नियाल्न नसकिने भयो । घरमै बसेर नियाल्न सकिने सबै दृश्य अग्ला घरले छेके।

कसरी मासियो सहरको मौलिकता ?
पहिलोको उपत्यका लोभलाग्दो थियो । जताजतै खुला चउरहरु देखिन्थे । पुराना शैलीका बुट्टेदार झ्याल भएका घर थिए । २००५ सालतिर उपत्यकामा जम्मा ५ लाखको हाराहारी जनसंख्या थियो ।

हेर्दै मन लोभ्याउने प्राकृतिक सौन्दर्यता थियो । विस्तारै मानिसको चापँ बढ्दै जादा सहरका संरचनामा फेरबदल आयो । राजनीतिक परिवर्तनपछि नीति नियम पनि अदलबदल भए । सरकारमा रहनेले आफ्नो पक्षमा काननु बनाए । पुराना संस्कृतिलाई जोगाउनुपर्छ भन्ने सोच थोरैमा मात्रै आयो । पहिले–पहिले पोखरी भएको ठाउँमा संरचना र सडक बने । मठ–मन्दिरको ठाउँ पनि खोसिन थाले।

७० बर्ष अघि काठमाडौंको सुन्धारा क्षेत्र कस्तो थियो ?
काठमाडौंको रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म एउटै चउर थियो । वरीपरी रूखैरूख थिए । सित्तल हावा खाने ठाउँहरू थिए । सुन्धारा क्षेत्रमा तीनवटा ढुंगेधारा थिए ।

ढुंगेधारामा पल्टनेहरू लुगा धुने तथा नुहाउने गर्थे । अहिले दशरथ रंगशाला भएको ठाउँमा पहिले दुई वटा कमलका पोखरी र खरीका बोट थिए । पोखरीमा कमलका फूलहरू थिए । काठमाडौंको छाउनी, कालोपुल, लैनचौर, सुन्धारा क्षेत्रमा यहाँका स्थानीयले गाई चराउँथे । असनको गणेशस्थानमा सिद्दे नुनको ढिका राखिन्थ्यो गाईबस्तुले त्यै चाट्ने गर्थे । २०१३ सालमा ती पोखरी र खरिबोटको छेउमा बौद्ध सम्मेलन पनि भएको थियो । सुन्धाराको चारैतिरबाट सेता हिमाल नियाल्न पाइन्थ्यो । सहरमा अग्ला घर थिएनन्।

पहिलेको मौलिकता फर्काउन सकिएला ?
नसकिने होइन तर निकै चुनौंति छ । यदी त्यतिबेला नगरपालिका, पुरातत्व विभाग, स्थानीय बुद्धिजिवीले राम्ररी काम गरेको भए अहिले सहर यस्तो हुने थिएन ।

अरु देशमा पढेलेखेकाले सहरलाई बनाउँछन् । विगतको इतिहास बचाउँछन् हाम्रो त्यसको उल्टो भयो । पढेलेखेकाहरुले नै सहरको रुप बिगारे । विकास निर्माणका योजना बनाउँदा सहर सुहाउँदो बनाएनन् । यदी अहिले पनि अलिक कडाई गरेर सहरलाई मौलिक रुप दिनतिर लाग्ने हो भने केही हदसम्म सुध्रिन्छ जस्तो लाग्छ।

उपत्यकाका तीन सहरलाई अति राम्रो, सफासुग्घर र पुराना कला कौशलले भरिएका ठाउँ मानेर युनेस्कोेले विश्व सम्पदा सुचीमा राखेको छ, अहिले कुरुप भयो भनेर चेतावनी दिन थालेको छ, यसलाई कसरी लिनुहुन्छ ?
पूरानो सहरको अहिले सबैको नामो निशाना छैन भन्दा पनि हुन्छ ।

पुरानो सहरको सुन्दरता पूरै गुम्यो । काठमाडौं सहर अस्तव्यस्त बन्यो ।  युनेस्कोले ३० वर्षपहिले उपत्यकाका तीन सहरलाई अति राम्रो, सफासुग्घर र पुराना कला कौशलले भरिएको भन्दै विश्व सम्पदा सूचीमा राख्यो । बीचमा यी सहरका दरबार क्षेत्र कुरूप बनेको र पुराना शैलीमा मन्दिर र पाटी मासिन थालेपछि युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनीसमेत दिएको थियो । तर, हामीले अनुनय विनय गरेर खतराको सूचीमा नराख्न आग्रह पनि गरेका थियौं । अझै पनि यस्तो चेतावनी नआउला भन्न सकिन्न।

तपाईलाई मनपर्ने सहर कुन हो ?
पहिले–पहिले त उपत्यका नै सुन्दर लाग्यो । यो जस्तो ठाउँ अन्त छैनन भन्ने हुन्थ्यो । जब मानिसको चाप बढ्दै गयो । सहरमा घना बस्ती बढ्दै गए त्यसपछि सहर बस्न लायक लाग्नै छाड्यो ।

अहिले अलि मनपर्ने सहर भनेको पोखरा हो । यहाँ टाउनप्लानिङ राम्ररी गरिएको छ । सहर सफा पारिएको छ । मानिसको चाप पनि अन्त भन्दा अलि कम छ । अब अन्य सहरलाई पनि यस्तै बनाउने उद्देश्य राखेर अघि बढ्न जरुरी छ।  

अब बन्ने सहर कस्तो हुनुपर्छ ?
अबको सहर आधुनिक र मौलिक दुवै हुनुपर्छ । सहरमा हिजोको इतिहास र मौलिकता चिनेर राख्नुपर्छ । इतिहास भूलेर कुनै पनि ठाउँको सभ्यता रहँदैन ।  सहरी सभ्यता भनेकै हिजो मौलिक कला संस्कृति हो । सहरको पूरानो संस्कृति आगामी पीढीले पनि जान्न पाउनुपर्छ।

हिजोको सहरको मौलिकता खोसिनुमा कस्को कमजोरी देख्नुहुन्छ ?
पढेलेखेका र जिम्मेवार निकायमा पढ जमाएर बस्नेहरुकै देखिन्छ । किनभने सहरको विकास गर्छु भनेर उदाएको शिक्षित बर्ग स्वार्थ पूर्तिमा लागेको छ । म अहिले काठमाडौं महल भएको ठाउँको स्मरण गर्छु ।

सानो छँदा त्यो ठाउँमा ढुंगेधारा थिए । सम्मो चउर थियो । साना–साना पार्टी थिए । अहिले ती सबै गुमे । सरकारी निकायले आधुनिक सहर बनाउने नाममा जुन ठाउँलाई अलि खुल्ला र सांस्कृतिक सहर कायम गर्नुपर्ने थियो, त्यही ठाउँमै व्यापारिक भवन बने । यसले हाम्रो मौलिकता धरापमा परेको छ।

अहिले त्यो बेलाका सहरी संरचनामा के फरक देख्नुहुन्छ ?
आज भन्दा ५० बर्ष पहिले उपत्यकामा साढेँ दुई तला भन्दा माथिका घर थिएनन । कुनै सरकारी कार्यालय वा राणाहरुले बनाएका दरबार त्यो भन्दा अग्ला हुन्थे ।

नत्र नागरिकले आफ्ना घर दुई तला भन्दा माथि बनाउँदैनथे । मन्दिर भन्दा ठूला घर बनाउन नपाइने नियम थियो । अहिले त्यो नियम कहाँ गयो कसैलाई थाहा छैन । पैसा हुनेले जता पनि फर्काएर घर बनाउन थालेका छन्।

त्यतिबेला उपत्यकावासीको जीवनशैली कस्तो थियो ?
जीवनशैली सुशी थियो । स्वस्थ खानेकुरा पाइन्थ्यो । मान्छे कम थिए । बजार सस्तो र सुलभ थियो । तेल बेच्नेले शुद्ध बेच्थे । साग–सब्जी बेच्नेले विषादी नहालेको बेच्थे । अहिले सहरमा किनेको खानेकुरा ढुक्क भएर खान डर लाग्छ । सबैमा मिसावट मात्रै छ।

प्रकाशित: २९ असार २०७५ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App