८ वैशाख २०८१ शनिबार
अन्य

‘बाढीप्रभावितलाई उद्दार लगत्तै राहत उपलब्ध गराउनेछौं’

राजकुमार जोशी
वडाध्यक्ष, सूर्यविनायक नगरपालिका–५

अविरल वर्षाको कारणले तपाईँको वडामा भेलबाढीले डुबान भयो, बाढीले कति क्षति पुर्यायो ?
बुधबार रातिदेखि परेको अविरल वर्षाको कारणले वडामा डुबान भएको छ । हाइबे क्षेत्रका अधिकांश घरको तल्लो तलामा जलमग्न भएका छन् ।

तल्लो तलामा राखिएका सामानहरूमा क्षति पुर्याएको छ । भेलबाढीले सात–आठ फिटसम्म पानी जमेको थियो । डुबानका कारण वडामा मानवीय क्षति हुन पाएन । डुबानकै कारणले तजटोल पछाडिको २५ घर डुबानमा परेका थिए । केही समयअगाडि वडा कार्यालयको अगुवाईमा तजटोल पछाडिको सडक ग्राभेलिङ गरेका थियौं । अहिले उक्त ग्राभेलिङ भेलबाढीले बगायो । वडामा एक कृषकको ११ वटा बंगुर बगाएको खबर पाएका छौं । प्रहरीको सहायताले स्थानीयको उद्दार गरियो । भेलबाढीको कारणले मानवीय क्षति नभए पनि स्थानीयको घर जलमग्न भयो ।

डुबान प्रभावितलाई राहत तथा क्षतिपूर्तिको लागि के तयारी गरिरहनुभएको छ ?

सर्वप्रथम हामी बाढीबाट प्रभावितहरूको उद्दारमा जुटिरहेका छौं । वर्षाका कारण क्षतिपूर्तिको यकिन तथ्यांक आएको छैन ।

वडा कार्यालय र नगरपालिकाले डुबानबाट प्रभावितको तथ्यांक संकलन गर्ने काम गरिरहेको छ । पहिलोचरणमा उद्दार सम्पन्न गरेसँगै राहत र क्षतिपूर्तिको काम अगाडि बढाउनेछौं । वडा कार्यालय र नगरकार्यपालिकाको बोर्ड बैंठक बसेर प्रभावितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनेछौं ।

भक्तपुरमा जताततै जलमग्न भइरहेका छन्, के कारणले बाढी आएको होला ?

हनुमन्ते खोला र घट्टेखोलाको दोभान क्षेत्र अत्यन्तै साँघुरो छ । दोभान क्षेत्रमा बाढीले बगाएर ल्याएका फोहोरमैला र निर्माण सामग्रीले थुनेकाले खोलाको पानी बस्तीमा पसेको हो । खोला आसपासको क्षेत्रमा मानवीय अतिक्रमणको कारणले नै प्राकृतिक धार अनुसार बग्न नपाउँदा समस्या भएकाले नै बाढी आएको हो । अर्कातर्फ पीपलडाँडातर्फबाट आएको पानीको भेलबाढीलाई व्यवस्थित नगर्दा समस्या भएको हो ।

वडा कार्यालयले हनुमन्ते र घट्टेखोलाको दोभान क्षेत्रमा चौडा गरेर पक्की पुल बनाउने योजना अघि सारेका छौं । त्यसको लागि डिपिआर बनाउने काम भइरहेको छ । वडा कार्यालयसँग पर्याप्त बजेट नहुँदा खोलालाई व्यवस्थित गर्न सकिरहेका छैनौं । डुबान समस्याको दीर्घकालीन समाधानका लागि दोभान क्षेत्रमा अत्याधुनिक पक्की पुल निर्माण गरेर व्यवस्थित गर्नेछौं।

जनप्रतिनिधि भएर जनताले महसुस गर्ने गरी के–के काम गर्नुभर्यो ?

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनतामा जनप्रतिनिधीसँग धेरै चाहना र अपेक्षा छन् । हामी निर्वाचित भएर आएसँगै जनताको प्रत्यक्ष जोडिएका समस्याहरूलाई सल्टाउन खोजिरहेका छौं । जनप्रतिनिधि भएर आएसँगै पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका छौं ।

प्रगतीटोलमा साढे चार सय मिटर सडक ढलान गरिसक्यौं । त्यस्तै गरी सूर्यटोलमा पर्खाल लगाएर चार सय मिटर सडक कालोपत्रे सम्पन्न गरेका छौं । चक्रपाणीमार्गदेखि सल्लाघारीसम्म ११ मिटर चौडाको सडक विस्तार गरिरहेका छौं । आगामी आर्थिक वर्षसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने योजना बनाएको छु । त्यस्तै गरी वडा कार्यालयको भवन अगाडि ब्लक ओछ्याएका छौं । वडामा करिव एक किलोमिटर भित्री सडक छन् । ती सडक आगामी आर्थिक वर्षसम्म कालोपत्रे गर्ने योजना बनाएको छु ।

तपाईँको वडामा खानेपानी समस्या कस्तो छ ?
वडामा खानेपानीको कुनै समस्या छैन । वडा कार्यालयले साँझ–बिहान दुवै समयमा खानेपानी उपलब्ध गराउँदै आएको छ । त्यसैले अन्य स्थानको तुलानामा पर्याप्त मात्रामा खानेपानीको वितरण गर्दै आइराखेका छौं । चार बोरिङमार्फत् खानेपानी वितरण गरिरहेका छौं ।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा मिचेका छन् । वडामा करिव पाँचदेखि सात रोपनी सार्वजनिक जग्गा मिचिएको सुनिएको छ । नगरपरिषद्बाट सार्वजनिक जग्गा संरक्षणको लागि समिति बनाइसकेका छौं । साउन सुरु भएसँगै मिचिएका सार्वजनिक जग्गाको तथ्यांक तयार पारेर मिचिएका जग्गा फिर्ता ल्याउनेछौं ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।

विनियोजित बजेटमध्ये अधिकांश भौतिक पूर्वाधार निर्माण, खानेपानी, महिला, ज्येष्ठ नागरिक र बालबालिकाका लागि विशेष प्राथमिकतामा राखेर खर्च गर्यौं । आगामी आर्थिक वर्षको लागि पनि दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ । जनताको आवश्यकतालाई मध्यनगर गरेर बजेट विनियोजन गरेका छौं ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
पाँच वर्षभित्र व्यवस्थित र समृद्ध वडा बनाउने लक्ष्य लिएर काम गरिरहेको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य छ ।

एक वर्षभित्रै वडामा रहेका सम्पूर्ण सडक कालोपत्रे वा ढलान गर्ने योजना बनाएको छु । त्यस्तै गरी वडामा ढलको समस्या रहेको छ । केन्द्रीय सरकारसँग समन्वय गरेर ढलको व्यवस्था मिलाउनेछौं । वडा कार्यालयमा रहेका सार्वजानिक स्थलमा फ्रि वाइफाइको व्यवस्था मिलाउनेछु ।

प्रस्तुतिः हिमाल लम्साल

प्रकाशित: २९ असार २०७५ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App