७ वैशाख २०८१ शुक्रबार
अर्थ

४४ देशबाट आयात मात्र

काठमाडौं- मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन्।

वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने– नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन । अर्थात् ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य ।त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छन् ।

यसैमा अर्को रोचक तथ्य के छ भने– नेपालले आयात मात्र गर्ने मुलुकको संख्या बढिरहँदा र निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ । यो विवरण भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०७४-७५ को पछिल्लो ११ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा आधारित छ ।मुलुकले सामान आयातमात्र गर्ने कतिपय देशहरू यस्ता छन्, जुन वर्षौंदेखि द्वन्द्व, गरिबी र आर्थिक संकटको दलदलमा फसेका छन् । जस्तो कि– नाइजेरिया, भेनेजुयला, इथिओपिया, हैटी, सियरा लिओन, इराक र अरु यस्तै यस्तै।

नाइजेरिया गृहयुद्धबाट पीडित देश हो । त्यहाँबाट मुलुकले ११ महिनामा आठ करोड ६२ लाखको आयात गरेको छ । नाइजेरियाबाट ‘पिजन पिज’ शीर्षकमा परेवालाई खुवाउने केराउ, रिफाइन तामा, रङ लगायत सामान आयात भएका छन् ।  

गम्भीर आर्थिक संकटमा फसेको देश हो– भेनेजुयला । त्यहाँबाट झन्डै तीन करोडको सामान आयात भएको छ । नाइजेरियाबाट सुकेको सिमी, सिपियू मेसिन आयात भएको छ ।हैटीका कपडा हामीले प्रयोग गरिरहेका छौं । विभागको तथ्यांक अनुसार हैटीबाट महिलाले लगाउने आउटर वा यसको कपडा आउने गरेको छ । त्यस्तै, त्यहाँबाट टिसर्ट, भेस्ट, फुटवेयर आयात भएको छ । यस्ता सामग्री आयात हुने देश इराक पनि छ । इथोपियाबाट सर्जिकल सामग्री, सुकेको सिमी, कफी आयात भएको छ ।

द्वन्द्व र गरिबीको चपेटामा परेको सियरा लिओनबाट नेपालले सस, ट्युब, पाइप, पानी पम्प, भ्याकुम क्लिनरका सामग्री लगायत आयात भएको छ ।  आयात मात्र हुने मुलुकको अग्रपंक्तिमा ओमान छ । त्यहाँबाट ११ महिनामा एक अर्ब ७१ करोड ८३ लाख ३३ हजारको सामान आयात भएको छ । त्यस्तै मोजाम्बिकबाट ७४ करोड, मलावीबाट २६ करोड, मदागास्करबाट १३ करोडको सामान आयात भएको छ।

हामीले आयात मात्र गर्ने कतिपय देशहरू यस्ता छन्, जसको नामा धेरै नेपालीलाई थाहा नहुन सक्छ । यस्ता देशमा डोमिनिकन रिपब्लिक, कोमोरोस, टोकेलौ, माली, उज्वेकिस्तान, सुरिनेम, बेनिन, मोन्टेनेग्रो, स्रियन अबर रिपब्लिक, म्यासेडोनिया, आइभोरी कोस्ट (कोटे डि इभोर), कोकोस आइसल्यान्ड छन्।

त्यस्तै अन्य मुलुकमा इस्ले अफ म्यान, एल साल्भाडोर, सर्बिया, ट्युनिसिया, गुयना, मेरिकन सामोया, लाओ पिपल्स डेमोक्रेटिक रिपब्लिक, होन्डुरस, केपभेर्डी, सान मारिनो, लिइचटेन्स्टेइन, टुर्कस् एन्ड काइकास् आइसल्यान्ड, सैन्ट भिसेन्ट एन्ड द ग्रिनाडिनज्, क्युवा, क्रिस्मस, प्युट्रो रिको, भ्याटिक र ब्रिटिस इन्डियन ओसन टेरिटोरी छन् ।   
विभागको चालु आवको ११ महिनासम्मको तथ्यांक अनुसार मुलुकले कुल वैदेशिक व्यापार ११ खर्ब ८० अर्ब ९६ करोड भएको छ । यो गत आर्थिक वर्ष ०७३÷७४ को सोही अवधिको भन्दा २२.८८ प्रतिशतले बढी हो । यस अवधिमा मुलुकको व्यापार घाटा १० खर्ब ३२ अर्ब ३२ करोड पुगेको छ ।

निर्यातमात्र गर्ने मुलुक घटे
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिनामा मुलुकले ११ देशमा निर्यात मात्र गरेको छ । जुन संख्या अघिल्लो वर्षमा भएको भन्दा निकै कम हो।  

यस वर्ष नेपालले निर्यात मात्र गरेको र आयात शून्य भएको देशहरूमा बहमास, अर्मेनिया, जिम्बाबे, बुरुन्डी, न्यु क्यालेडोनिया, जाम्बिया, पानामा, अजेरबैजान, डिजिबौटी, उरुग्वे र ताजिकिस्तान छन ।नेपालले बहमासमा महिलाले लगाउने ब्लाउज, सर्ट ६ लाख १५ हजारको निर्यात गरेको छ । अर्मेनियामा कार्पेट, बुरुन्डीमा भेटनरी भ्याक्सिन, पानामामा गरगहना निर्यात गरेको तथ्यांकमा उल्लेख छ । उरुग्वेमा पेन्टिङ, ड्रइङ्स, महिलाले लगाउने ज्याकेट, कोट, जर्सी, मफलर, सल, ब्याग लगायत कपडा निर्यात भएका छन् ।

नेपालले चालु आवमा ११ देशसँगमात्र निर्यात मात्र गरेको छ । गत आवमा यो संख्या १८ थियो । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७३÷७४ मा नेपालले १६५ भन्दा धेरै देशसँग व्यापार गरेकोमा १८ वटा देशसँग नेपालले निर्यात मात्र गरेको थियो । आयात शून्य थियो ।निर्यातमात्र भएका मुलुकमध्ये सबैभन्दा धेरै सिरियामा सात करोड र सबैभन्दा कम म्यासेडोनियामा एक लाख ६० हजारको वस्तु निर्यात गरेको थियो ।

गत आर्थिक वर्षभरमा नेपालले निर्यात मात्र गरेका मुलुकहरूमा फिजी, इरिट्रिया, बर्मुडा,, नर्दन मरियाना आइल्यान्डस्, म्यासेडोनिया, इस्ट टिमोर, भेनेजुयला, काजाकिस्तान, पानामा, क्रिज्जेस्तान, आइसल्यान्ड, जिम्वाबे, सैन्ट हेलेना, कंगो, गुआडेलौप, मलावी, सिरिया लगायत थिए ।

 

 

प्रकाशित: २९ असार २०७५ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App