coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिनियाँ विधिले रोकथाम उन्मुख

चाइनिज सिट्रस फ्लाई विरुद्ध सिन्धुली, गोलान्जोर–४ का जुनारको बोटमा ग्रेट फ्रुट फ्लाई बेट(जिएफएफबी) स्प्रे गर्न तयारीमा रहेका किसान ।तस्बिर सौजन्य : जुनार सुपरजोन इकाई

बनेपा - व्यावसायिक जुनार खेतीमा संलग्न सिन्धुलीका किसानलाई नोक्सानीको भार बोकाउँदै आएको चाइनिज सिट्रस फ्लाई (फल कुहाउने औंसा पार्ने झिँगा) लाई रोकथाम गर्न चिनियाँ विधि प्रभावकारी देखिएको छ । चार वर्ष अघिदेखि किसानले यो समस्या झेल्दै आएका थिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(जुनार सुपर जोन एकाई), प्लान्ट डाक्टर देवराज अधिकारी र विषादी आयातकर्ता कर्मा समूहको सक्रियतामा बेइजिङ इकोम्यान बायोटेक कम्पनी लिमिटेडको ग्रीन पेष्ट म्यानेजमेन्ट विधिबाट चाइनिज सिट्रस फ्लाई(ब्याक्ट्रोसेरा मिन्याक्स प्रजातिको झिँगा ) नियन्त्रणमा आउन थालेको हो ।यसका लाखको अन्तिम शुक्रबारदेखि प्रत्येक हप्तामा जुनारको बोटमा ग्रेट फ्रुट फ्लाई बेट (जिएफएफबी) स्प्रे गर्न थालिएको छ । यस क्रममा तीन वटा बोटको समूह(एक स्पट)मा एउटा बोटका पातको तल्लो भागमा जिएफएफबी स्प्रे गरिन्छ । जिएफएफबीको फर्मुलेसनमा प्रोटिन हाइड्रोलाइसेट २५ प्रतिशत र अबामेक्टिन ०.१ प्रतिशत (विषादी)को मिश्रण रहेको छ ।

‘चैत–वैशाख (अप्रिल–मे) महिनामा सिट्रस फ्लाईले बोट बिरुवाबाट निस्केका चोपबाट प्रोटिन लिन्छ । किनकी पोथी झिँगालाई वयस्क बेलामा फुल पार्नका लागि प्रोटिनको आवश्यकता हुन्छ । प्रोटिनको खोजीमा रहेको झिँगालाई जिएफएफबीमा रहेको विषादीले नष्ट गर्ने रहेछ । चीनमा यही तरिकाले प्रोटिनमा विषादी (बैट) मिसाइ स्प्रे गर्दा नियन्त्रणमा आएको अध्ययनहरुले देखाएकाले यही विधि अपनाएका हौं,’ वरिष्ठ बाली संरक्षण अधिकृतसमेत रहेका प्लान्ट डाक्टर अधिकारीले भने।

चीनको हुबेलगायतका सुन्तला जात फलफूल खेती हुने प्रान्तहरुमा सिट्रस फ्लाईलाई रोक्न इकोम्यानले अपनाएको एरिया वाइड कन्ट्रोल प्रोग्राम (एडब्लुसिपी) लाई नै सिन्धुलीको गोलान्जोर गाउँपालिका–४ (साविक तीनकन्या–७) मा लागू गरिएको हो । ‘गोलान्जोरको आठ सय रोपनी क्षेत्रफलका जुनार बोटहरुलाई १० वटा क्षेत्र (क्लस्टर) मा बाँडेर मिन्याक्स नियन्त्रणका लागि साप्ताहिक रुपमा जिएफएफबी छर्दै आएका छौं । यो क्रम चलेको नौ हप्ता पुगेको छ । असार अन्त्यबाट १० स्प्रे पूरा भएलगत्तै सबै विधि समाप्त हुन्छ,’ सुपर जोन इकाइ प्रमुख ललनकुमार सिंहले भने ।

यस कार्यका लागि सुपरजोनले सञ्चालक समितिका सह–संयोजक लोकबहादुर आलेलाई फिल्डमा खटाएको छ । उनीसँगै एक जना जेटिए पनि कामको सुपरीवेक्षण गरिरहेका छन् । स्थानीय सरकारको तर्फबाट गोलन्जोर गाउँपालिका–४ का वडाध्यक्ष बेगबहादुर गौडासे मगरले निगरानी गरिरहेका छन् ।‘एक भाग जिएफएफबीलाई २ भाग पानीमा मिसाएर घोल बनाइन्छ । त्यसरी तयार घोलको ५० मिलिलिटरले आधादेखि १ वर्गमीटर क्षेत्रफलमा स्प्रे गर्न पुग्छ । प्रति रोपनीमा ७ देखि ८ वटा ‘स्पट’ तोकिएको छ । जसमा २१ वटासम्म जुनारका बोट हुने गरेको छ । यस्तो ५ हजार ७ सय २० वटा स्पटमा रहेका बोटहरुमा १० जना कामदारहरुले प्रति हप्तास्प्रे गर्दै आएका छन्,’ आलेले प्रक्रियाबारेमा जानकारी दिए ।

अघिल्लो वर्ष जुनारबाट सोचेजति आम्दानी लिन नसक्दा खिन्न भएका आले यतिखेर सुपरजोनबाट भइरहेको कामबाट खुशी देखिएका छन्, ‘स्प्रे गरेको जिएफएफबीलाई झिँगाले आएर खाने र धेरै परसम्म पुगेर मरेको पाएका छौं । सुपर जोनले ठीक समयमा कार्यक्रम ल्याएको हुँदा यस पटक जुनार जोगिने आशा पलाएको छ,’ आलेले फोनमा भने, ‘जुनारमा मात्रै नभई यस पटक काँक्रोमा लाग्ने झिँगा पनि आएको छैन । विगतमा यो सिजनमै जुनार झर्ने समस्या हुन्थ्यो । अहिले झरेको छैन,’ आलेले थपे।

नेपालमा भर्खरै सुरु भएको ग्रीन पेष्ट म्यानेजमेन्ट (एरिया वाइड कन्ट्रोल प्रोगाम) लाई बेइजिङ इकोम्यान बायोटेकले सन् २०११ र २०१२ मा चीनकै चोङकिङ, हुनान र हुबेमा अवलम्बन गरेको थियो । सन् २०१३÷१४ मा अफ्रिकाको घानामा र सन् २०१५ मा दक्षिण पूर्वी एशियाको थाइल्याण्डमा सुरु गरेको जनाएको छ ।

‘सिन्धुलीको पहिचान बनाएको जुनार नासिने अवस्थामा पुगेको पत्रपत्रिकामार्फत थाहा पाएको थिएँ । देवराज अधिकारी सरले धेरै अनुरोध गर्नु भएपछि हाम्रो पनि सामाजिक उत्तरदायित्व हो भनेर इकोम्यानसँग धेरै चरणको वार्तापछि जिएफएफबी झिकाउन सफल भयौं । यसको आधा लागत पनि हामीले व्यहोरेका छौं,’ विषादी आयातकर्ता कम्पनी कर्मा समूहका सिइओ सुरेश गुरुङले भने ।जिएफएफबी खरीदको कूल लागत २० लाख रुपैयाँमध्ये सुपर जोनले १० लाख र कर्मा समूहले १० लाख रुपैयाँ बेहोरेका छन् । साप्ताहिक रुपमा बेट छर्कने कामदारको ज्याला र खाजा सुपरजोनले उपलब्ध गराएको छ भने कर्माले बेट छर्कने स्प्रेयर र सुरक्षात्मक पहिरन (मास्क, ग्लोब्स र एप्रोन)हरु उपलब्ध गराएको छ ।

‘सिन्धुलीमा सञ्चालित बेट स्प्रेको प्रभावकारिताबारेमा हामीले नियमित रुपमा इकोम्यानलाई रिपोर्टिङ गरिरहेका छौं । यहाँको रिपोर्ट हेरेर चिनियाँहरु पनि उत्साहित भएका छन् । अब केही साताभित्रै सिन्धुलीमै आएर त्यहाँका विज्ञहरुले जुनार किसान तथा प्राविधिकहरुसँग अन्तरक्रियासमेत गर्दैछन्,’ गुरुङले थपे ।

नेपालका लागि नयाँ रहेको ब्याक्ट्रोसेरा मिन्याक्स चीनबाट भुटानमा पुगेको अध्ययनहरुले देखाएको छ । त्यसपछि भारतको सिक्किम हुँदै नेपालको पूर्वी पहाडी क्षेत्रमा आइपुगेको देखिन्छ । त्यहाँबाट सिन्धुली हुँदै क्रमशः अन्यत्र फैलँदैछ । सिट्रस फ्लाई गत वर्ष काभ्रे जिल्लामा र यो वर्ष सिन्धुपाल्चोकमा समेत आइपुगेको छ । प्राविधिकहरुका अनुसार झिँगाको उड्ने क्षमता र संक्रमित फलफूलको ओसार–पसारले यसलाई फैलाउनमा मद्दत गरिरहेको छ ।

‘यो झिँगाको पोथीले सुन्तला जात फलफूलको चिचिला अवस्थामा फुल पार्दछ, पछि लार्भा (औंसा) निस्की फलको गुदी खाइदिन्छ । जसले गर्दा फलहरु पहेंलिँदै झर्छन् । कीराले आक्रमण गरेका फलहरु हलुका हुने हुन्छ । काटेर हेर्दा फल भित्र सेता औंसाहरु हुन सक्छन् । कीराद्वारा संक्रमित फलहरु खान योग्य हुँदैनन्,’ अधिकारीले भने ।
चाइनिज सिट्रस फ्लाइले पार्ने औंसाले केस्रा–केस्रा हुने सुन्तलाको फलमा क्षति गर्न नसक्ने तर केस्रा नछुट्टिने जुनार, मोसम, निबुवाजस्ता सुन्तला जात फलफूलमा बढी क्षति गर्ने उनको भनाइ छ । ‘ब्याक्ट्रोसेरा मिन्याक्सलाई झट्ट हेर्दा अन्य झिँगा (फ्रुट फ्लाई) जस्तै देखिए पनि यो फरक हो र यसलाई नियन्त्रणका लागि विशेष व्यवस्था गर्नु पर्छ । किनकी ब्याक्ट्रोसेरा मिन्याक्स वर्षौटे हुनाले वर्षमा एउटामात्रै जीवनचक्र पूरा गर्छ,’ अधिकारीले भने ।

जुनार सुपर जोन एकाईका अनुसार सिन्धुलीमा सबैभन्दा बढी जुनारखेती हुने गोलन्जोर गाउँपालिका–४, तीनकन्या हो ।त्यस्तै, सोही गाउँपालिकाका रतनचुरा, वाशेश्वर, भुवनेश्वरीका साथै कमलामाई नपा–३, जलकन्या र साविकका ४३ गाविसहरुमा जुनार खेती हुँदै आएको छ । त्यस्तै, जुनार केन्द्रीय सहकारी संघ लिमिटेडका अनुसार सिन्धुलीको एक हजार पाँच सय ३५ हेक्टर र रामेछापको एक हजार ३९ हेक्टरमा जुनार खेती हुँदै आएको छ । दुवै जिल्लामा गरी वार्षिक २७ हजार टन जुनार उत्पादन हुने गरेको छ । उत्पादन तहमा प्रतिकिलो जुनारले न्यूनतम मूल्य मात्र पाएको अवस्थामा पनि दुवै जिल्लामा वार्षिक पौने दुई अर्ब रुपैयाँ भित्रने देखिन्छ ।

 

प्रकाशित: २९ असार २०७५ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App