८ वैशाख २०८१ शनिबार
राजनीति

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ। पार्टीका अध्यक्ष मण्डल सदस्य शरत्सिंह भण्डारीले आगामी शनिबार पार्टी संसदीय दलको नेता चयन हुने कार्यक्रम तय गरिएको बताए। संसदीय दलको नेता चयन गर्ने विषयमा तयारी गर्न बिहीबार पार्टी अध्यक्ष मण्डलको बैठक बसेको थियो । ‘शनिबार संसदीय दलको नेता चयन हुने कार्यक्रम छ। सहमतिबाटै नेता चयन गर्ने प्रयास गर्दैछौं,’ भण्डारीले भने।

संसदीय दलको नेतामा निर्वाचित हुन अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले उम्मेदवारी दिने तयारी गरेको स्रोतको भनाइ छ। तर, यसबारेमा दुवै नेताले औपचारिक रूपमा बोलेका छैनन्। स्रोतका अनुसार दुवै नेता सहमतिबाटै चुनाव गराउने प्रयासमा छन्। पार्टी संसदीय दलको नेतामा निर्वाचित हुने व्यक्ति राजपाको आगामी महाधिवेशनमा पार्टी अध्यक्ष हुने सम्भावना बढी भएकाले पनि संसदीय दलको नेतामा निर्वाचित हुन दुवै नेताले लबिङ सुरू गरेका हुन्।

आगामी वैशाखमा राजापाको पहिलो महाधिवेशन हुँदैछ। प्रतिनिधिसभामा राजपाका १७ सांसद छन्। स्रोतका अनुसार संसदीय दलको नेतामा ठाकुरलाई निर्वाचित गर्ने कि महतोलाई भन्ने विषयमा अध्यक्ष मण्डलका सदस्य नै विभाजित छन्। चुनाव भएमा महतोको पक्षमा बढी मत आउने महतोनिकट नेताहरू दाबी गर्छन् भने वरिष्ठताका कारण ठाकुरको स्थिति मजबुत रहने ठाकुरनिकट नेताहरूको भनाइ छ। राजपा अध्यक्ष मण्डलका अन्य सदस्य भने सकेसम्म सहमतिबाट संसदीय दलको नेता चयन गर्ने तयारी गरेका छन्। संसदीय दलको नेतामा ठाकुर र महतो दुवैले चाहना राखेपछि सात महिनादेखि राजपा संसदीय दलको नेताविहीन भएको छ।

स्रोतका अनुसार राजपाका प्रतिनिधिसभा सदस्यमध्ये महतो, भण्डारी, निर्जला राउत, लक्ष्मणलाल कर्ण, प्रमोद साह, रेशम चौधरी, चन्द्रकान्त चौधरी, अमृता अग्रहरी र नरमाया ढकाल महतोका पक्षमा देखिएका छन्। यसैगरी ठाकुरका पक्षमा ठाकुर, चन्दा चौधरी, मोहम्मद इकबाल मियाँ, दुलारी देवी खाँण र रानी मण्डल छन्।

राष्ट्रियसभा सदस्यलाई मतदानको अधिकार दिने विषयमा विवाद

संसदीय दलको नेताको निर्वाचनमा राजपाबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका दुई सदस्य वृषेशचन्द्र लाल र रमेश यादवलाई मतदानको अधिकार दिने वा नदिने विषयमा बिहीबार बसेको पार्टी अध्यक्ष मण्डल बैठकमा विवाद उत्पन्न भएको थियो। ठाकुर पक्षले राष्ट्रियसभा सदस्यलाई पनि मतदानको अधिकार दिनुपर्ने अडानमा छ भने महतो पक्ष राष्ट्रियसभा सदस्यलाई मतदानको अधिकार दिन नहुने बताउँदै आएको छ। राष्ट्रियसभा सदस्यलाई मतदानको अधिकार दिएमा ठाकुर मजबुत हुनेछन् भने मतदानको अधिकार नदिएमा महतोका पक्षमा बहुमत पुग्ने अनुमान राजपाका नेताहरूको छ।

प्रकाशित: २९ असार २०७५ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App