८ वैशाख २०८१ शनिबार
विचार

लो–मान्थाङको पुनर्जागरण

मुक्तिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूजापाठ गरेपछिको विश्वव्यापी चर्चा सेलाउन नपाउँदै मेरो पारिवारिक यात्राले गणतन्त्र नेपालको नयाँ क्षितिज नै खोलिदिएको छ । असारको पहिलो साताबाट सुरु भएको पचास वर्ष कटेपछिको ‘हनिमुन’ यात्रा खास हनिमुनलाई बिर्साउने हुनुको जस कसैलाई जान्छ भने त्यो मुक्तिनाथ बाबालाई नै जान्छ।

हिमालपारिको भनिने मुस्ताङ्ग जिल्ला सामान्य ज्ञानका जानकारका लागि पनि वर्षाअघि र पछिका निम्ति प्रख्यात छ । मध्य वर्षा पारेर हामीले यात्राको समय छान्नुका खासमा तीन कारण थिए– पहिलो गर्मी छल्नु, दोस्रो हिउँ छल्नु र तेस्रो विदेशी पर्यटक छल्नु । पत्नीजीले त मुखै फोरेर भनिन्– भर्खर बिहेगरेका मलमास छल्न माइतमा छन् हामी भने बुढेसकालकोमलमास छल्नेजस्तै पो भयो त !

ख्यालख्यालमै मुक्तिनाथ जाने जोइपोइको योजना बन्यो । दबाब, धपेडी, हतार केही नगरी फुर्सदले बिन्दास यात्रा गर्ने । पर्यटन विज्ञ, पर्यटन पत्रकार र ओहोर–दोहोर गरिरहने ट्रेकिङबाज साथीहरूबाट थाहा पाइयो– हिमालपारि भए पनि मुस्ताङ सजिलै र सस्तै पुग्न सकिने ठाउ भइसकेको छ । टुरिस्ट बसको टिकट पोखरासम्मको काटेपछि थाहा भयो, जोमसोम जाने सिधै टिकट काटेको भए १६ सय रुपियाँ तिरेपछि दिउँसो १२ बजे काठमाडौँबाट चलेको नाइटबस भोलिपल्ट १२ बजे जोमसोम पुग्ने रहेछ।

पोखराबाट बिहान चलेकाजिप र बसले साँझसम्मपर्वतको कुस्मा, म्याग्दीको बेनी हुँदै तातोपानी, रुप्से छहरा, दाना, घासा, लेते, कोबाङ, टुकुचे, मार्फा हुँदै जोमसोम पुर्याउने रहेछन् । जोमसोमबाट एक घण्टामै गाडीले मुक्तिनाथ मन्दिर पुर्याइदिने । होस गर्नुपर्ने कुरा केमात्र भनेमुक्तिनाथ मन्दिर पुग -नपुग चार हजार मिटर उचाइमा रहेकाले हतार गरेर जाँदा लेक लाग्नसक्छ । हिमाली हिँडाइमा जोसमा होस गुमाउँदा जीवन जान बेर नलाग्ने ! हरेक वर्ष एक -दुई दर्जन व्यक्तिले जीवनलीला बिसाएको तथ्यांक स्थानीय प्रहरीले दिए।

चीनले प्रवेश द्वारैको छेउमा विशाल संरचना बनाइरहेको छ। जसले भोलि हुने यहाँको विशाल व्यापारिक कारोवारलाई संकेत गर्छ । नेपालतर्फ भने सिमानामा ठडिएको २४ नम्बरको पिलरमात्रै ठिङ्ग ।

जोमसोम र मुक्तिनाथ पुगेपछि थाहा भयो, माथिल्लो मुस्ताङसम्म जोमसोमबाट नियमित गाडी चल्छन् । माथिल्लो र तल्लो मुस्ताङ छुट्टिने विन्दु(छुसाङ)छेउ कालिगण्डकी नदीमा पुल नभएकाले हिउँदमा नदी सानो भएका बेला तारिएका जीपले पारिबाट लोमान्थाङमात्र होइन, नेपाल–चीन सिमानाको कोरला नाकासम्मै एक दिन कमै समयमा पु¥याउने सडक लगभग तयार भइसकेको रहेछ ।उसो त असोजपछि कालीगण्डकी नदी ७० ठाउँमा तरेर ट्रकहरूखोलैखोला लोमान्थाङ पुग्दारहेछन्।

इतिहासको लो–मान्थाङ
इतिहासमा आजको मुस्ताङ जिल्ला मध्यकालमा लो–मान्थाङ राज्य थियो । भोट तथा पश्चिम नेपालका पहाडी क्षेत्र हुँदै तराई र भारतीय राज्यहरूमा व्यापार गरेर समृद्ध खस राज्य जुम्लालाई नेपालमा एकीकरण गर्न लो राज्यले नेपाललाई सघाएर आफैं नेपालअन्तर्गत बस्न तयार भएपछि यो राज्य गाभ्न नेपालले युद्ध नै गर्नुपरेन ।

तिब्बतका दलाई लामाले नेपाल–खस युद्धमा नेपाललाई सहयोग नगर्नू भन्ने आदेशलाई उल्लंघन गरेर लो राज्यले नेपाललाई सहयोगमात्र गरेन, नेपालअन्तर्गत बस्न राजी भयो । खससँगको युद्धअघि नै अमरसिंह थापाले मुस्ताङीहरूलाई जुम्लीसँग युद्ध जितेपछि बाँदर फड्कादेखि पूर्व मनाङ छेकम्पारसम्म बक्सने छौँ भनेका रहेछन्।

युद्ध नै नगरी व्यापारमा पोख्त लो राज्य नेपालमा एकीकरण भयो । व्यापार नै गरिरह्यो । अहिले पनि मुस्ताङका बासिन्दा व्यापारमा अब्बल छन् । नेपालले लोका राजालाई नेपालअन्तर्गत पारे पनि प्रशासन सञ्चालन गर्ने अधिकार भने त्यहीँका राजालाई दियो । यसबापत लो राज्यले नेपाल सरकारलाई हरेक वर्ष ९ सय २९ रुपियाँ र ५ वटा घोडा हरेक मकर संक्रान्तिमा बुझाउँथ्यो।

हिमालपारिको भूमि
वर्षामा समेत विरलैमात्र सिमसिमे पानी पर्ने रहेछ यो ठाउँमा । ठूलो पानी परे पनि यहाँ नभिजिनेकिनभने हिमालपारिको जिल्ला हो मुस्ताङ । संसारकै गहिरो खोच भनेर गिनिज बुकमा सूचीकृत कालिगण्डकी खोंच पार गरेर मानिसलाई जान गाह्रो हुन्थ्यो, त्योभन्दा कम गाह्रो गल्छी छिचोलेर जाने हावालाई पनि रहेनछ।

प्रकृतिले हिन्दमहासागरबाट आएको बादललाई हिमालय नाघ्न नदिने भएकाले हिमालपारिका जिल्लामा वर्षामा पानी पर्दैन । बादल नै नपुगेपछि कसरी पानी परोस् ? तर कालिगण्डकी नदीको खोंचबाट बल्लतल्ल हावाले उडाएर पु¥याएको छिटफुट पानीका कणमात्र वर्षामा झर्नुलाई नै मुस्ताङमा पानी पर्यो भनिने रहेछ । यहाँ पर्नेभनेको हिउँदमा हिउँमात्रै हो । हिउँ नै यहाँको पानीको स्रोत ।  

त्यसैले उपल्लो मुस्ताङको काम गर्ने सिजन वर्षा नै रहेको पाइयो किनभने यतिबेला हिउ पर्दैन । यतिखेर नै यहाँ कामको चापाचाप ।गाईवस्तु ब्याउने र तिनले पेटभरि खान पाउने पनि अहिले नै । हिउँदमा हिउ पर्ने भएकाले सबै कुरा ठप्प । बासिन्दा पनि ज्यादा चिसोले गर्दा बेसीतिर झर्ने परम्परा रहेछ ।
 
उपल्लो मुस्ताङस्थित लो–मान्थाङ राज्यबारे अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पिएचडी गरेका डा. रमेश ढुंगेलले एक भेटमा चावहिलस्थित उनको निवासमा उल्टो प्रश्न सोधे– लो–मान्थाङको अर्थ थाहा छ ?आफैँंले उत्तर दिँदै उनले भने– लो भनेको अधिराज्य हो र मान्थाङ भनेको त्यसको राजधानी । राजा बस्ने सहर । मान्थाङ अपभ्रंश हुँदै मुस्ताङ भएको हो।

नेपाल एकीकरणका बेला बाइसे÷चौबीसे राज्यमा पर्ने लो–मान्थाङएकीकरण भएपछि राजतन्त्रभित्रको राजतन्त्र बनेर धेरैवर्ष रह्यो । नेपालमा गणतन्त्र आउनुअघिसम्म राजाको रूपमा रहेका थिए– जिग्मेदोर्जे पलबर बिष्ट । देशमा गणतन्त्र आउदा पनि मुस्ताङमा राजा बिष्ट लोकप्रिय थिए । तर डेढ वर्षअघि उनको मृत्यु हुनु र उनका सन्तान नहुनुले राजाको वैधानिक शासन सकिएको छ । यद्यपि राजदरवारभित्रको खिचातानीले मुद्दाका रूपमा निकास पाए पनित्यो अझै साम्य भइनसकेको स्थानीय बासिन्दाले पनि पुष्टि गरे।

डा. ढुंगेलले भने–लो–मान्थाङदक्षिण एशियाको पुरानो राज्य हो । भारतको लद्धाख र भुटानभन्दा धेरै पुरानो र मौलिकता भएको क्षेत्र हो । मुस्ताङका राजा चौबीसौँपुस्ताका हुन् भने भुटानको राजतन्त्रको जम्मा ४ पुस्तामात्र भयो । यस अर्थमा आधुनिक नेपालभन्दा पनि लोमान्थाङ जेठो हो । मुस्ताङको दरबार सन् १३८० मा बनिसकेको थियो । जसको अहिले जीर्णोद्धार भइरहेको देखियो।

डेढवर्षअघि राजाको निधन भए पनि लो–मान्थाङकी रानी जीवित छिन् र उत्तिकै लोकप्रिय पनि छिन् । यद्यपि लोमान्थाङमा रहेको दरवार क्षेत्र र गुम्बाको जीर्णोद्धार भइरहेकाले यही असार लागेपछि काठमाडौँबाट लोमान्थाङ पुगेकी रानी आफ्नै स्वामित्वको दरवार उत्तरको पाँचतारे होटल भनिने अमापाल, र्वायल मुस्ताङ रिसोर्टमा बसिरहेको थाहा पाइयो, भेट्न पाइएन।

कोरला नाका
लोमान्थाङ सहरबाट पाँचसय रुपियाँ भाडा तिरेर बसमा पुगिने कोरला नाका प्रवेश गर्दा अर्कै ग्रहमा पुगेको अनुभव जो कसैलाई हुने रहेछ । पोखराबाट डाँडाकाँडा र हिमाल गल्छीहरू छिचोल्दै पुगिने कोरलातिर जति गयो उति तराईजस्तै सम्म भूमि साक्षात देख्दा को अचम्मित नहोला ? दक्षिण नेपालको चुरेमुन्तिरको भावर प्रदेश जस्तै लाग्छ लोमान्थाङबाट नेपाल–चीन सीमानाका कोरला पुग्दा ! त्यहाँ रहेको ४० नम्बरको सीमा स्तम्भ नेपाल–चीन सिमाना छुट्याउन चनाखो बनेर उभिएझैँ लाग्छ।

कोरला राजमार्गको उत्तरी खण्ड दसैँसम्ममा तयार भई नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ । इतिहासदेखि कालीगण्डकी किनारैकिनार तिब्बत र भारतसँग व्यापार गर्ने यो ऐतिहासिक नाका खुलेपछि त्यहाँको पर्यटन व्यवसायसँगै व्यापारले पनि गुणात्मक फड्को मार्नेछ।

असारको तेस्रो सातादेखि दश दिनका लागि प्रत्येक वर्ष लाग्ने टिजी मेला भनिने अस्थायी बजार र त्यसका लागि खोलिएको सीमानाकाबाट नेपाली नागरिकता देखाएर प्रवेश गरियो । बजारमा तिब्बत र नेपालका बासिन्दा व्यापार, किनमेल र रमाइलो गर्न पुग्दा रहेछन् । मुस्ताङका बासिन्दालाई नागरिकता बुझाएर पास लिएर जान दिने चिनियाँ नियम रहेछ । यसका लागि प्रत्येक व्यक्तिले अन्तर्वार्ता दिनुपर्ने, हरेकको फोटो खिचेर चिनियाँहरूले राख्ने पनि रहेछन् । चिनियाँ भन्सारमा विशेष अनुवादक पनि चिनियाँले राखेका रहेछन् । किनमेल वा व्यापार गरेर नेपाल फर्किंदा पास फिर्ता गरेपछि मात्र चिनियाँ भन्सारका सुरक्षाकर्मीले नागरिकता र क्यामेरा फिर्ता गरे । काँडेतारको अग्लो बारभित्र पसेपछि मात्र चिनियाँ भूभागमा प्रवेश गरेको अनुभव भयो।

चीनलेप्रवेश द्वारैको छेउमा विशाल संरचना बनाइरहेको देखियो । ठूलठूला मेसिनरीको प्रयोगमा निर्माण भइरहेको चिनियाँ भन्सार संरचना(तस्बिर खिच्न कडाइकासाथ रोक लगाइएको थियो)ले भोलि हुने यहाँको विशाल व्यापारिक कारोवार र आवतजावतलाई संकेत गर्छ । यो कति ठूलो आकारमा हुन्छ भन्ने अहिले अनुमानमात्र गरे पनि त्यो विशाल हुनेमा कुनै शंका छैन तर नेपालतर्फ भने सिमानामा ठडिएको २४ नम्बरको पिलरबाहेक कहीँकतै केही देखिँदैन।

सडक भने नेपाली सिमानाको अन्त्यसम्मै करिब करिब अन्तिम चरणमा बनिरहेको देखियो । डोजर, ट्रिपर, मजदूरको गतिविधि भने नेपालतर्फ पनि कम छैन । तर नेपालको भन्सार कार्यालय सीमानाकाभन्दा बाह्र किलोमिटर तल छ । त्यसबीचमा नेपाली भूमिमा न कुनै बस्ती छ नत कुनै मानव निर्मित संरचना ! तर चिनिया पक्षले कोरलामा बनाइरहेको संरचनाले चीन विशाल तयारीमा रहेको स्पष्ट देखिन्छ । नेपालतर्फ भने कहीँकतै केही देखिँदैन । धेरै टाढामात्र भन्सार नामको कार्यालय खोलिएको छ । जसले भन्सारबाट उठाउने रकमको लक्ष्यनै ९ लाख रुपियाँ राखेको छ । अझ गतवर्ष त यो रकम मात्र ५ लाख रुपियाँ थियो।

यो सडक योजनामा युद्धस्तरमाकाम भइरहेको छ, जोमसोम कोरला सडक योजनाका इन्जिनियर जगत प्रजापतिले भने–बेनी–जोमसोम (७६ किलोमिटर) आउँदो वर्ष र जोमसोम–कोरला (११० किमि)अब तुरुन्तै सञ्चालनमा आउँदैछ । जोमसोम–कोरला खण्ड त यही भदौ–असोज महिनासम्म सम्पन्न गरेर ठेकेदारहरूले हस्तान्तरणगर्ने गरी काम भइरहेको छ । यी दुवै खण्ड राष्ट्रिय गौरवको कालिगण्डकी कोरला राजमार्ग (४३५ किमी) अन्तर्गत पर्छन्।

प्रकाशित: २८ असार २०७५ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App