७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘बुटिक’सँगै भविष्य बुन्दै महिला

सदरमुकाम धादिङबेसीमा आयोजना गरेको बुटिक तालिममा बुट्टा भर्दै महिला ।तस्बिर : सरिता/नागरिक

धादिङ- नीलकण्ठ नगरपालिका–३ धादिङकी विन्दु श्रेष्ठ सादा कपडामा सितारा, पोते लगाउन सिकिरहेकी छन् । २१ महिलासँगै एकै ठाउँमा बसेर श्रेष्ठले फुर्सदको समयलाई बुटिक (कपडामा बुट्टा भर्ने) काममा लगाएकी छन् ।

घरायसी काममा नै दिन बिताउँदै आएका श्रेष्ठ अहिले बुटिकसँग भविष्य बुन्दै छिन् । घरको कामपछि बचेको समयमा नयाँ–नयाँ डिजाइन निकालेर साडी, पछ्यौरा लगायत कपडामा बुट्टा भर्ने गर्छिन् । महिलाहरुले विभिन्न आकृतिका बुट्टा भर्न सिकेका छन् ।

आफूले लगाउने कपडामा विभिन्न प्रकारका बुट्टा राखेर आकर्षक कपडा तयार गर्ने यो व्यवसायमा गाउँका महिलाहरु संलग्न छन् । घरमै बसेर गर्न सकिने यो व्यवसाय सहज र आम्दानी पनि राम्रो हुने भएकाले महिलाको आकर्षण पनि बढेको छ । सीपको प्रयोग गरी गुणस्तरीय सामग्री उत्पादन गर्ने र व्यावसायिक रुपमा लाग्ने श्रेष्ठ बताउँछिन् । ‘न खर्चको जोहो, न रोजगारीको चिन्ता,’ श्रेष्ठले भनिन्, ‘सीपले मानिसलाई आयआर्जनको बाटो देखाउँदो रहेछ ।’ घरमै बसेर अरु काम गर्दै यो व्यवसाय गर्न सकिने भएकाले पनि महिलाका लागि यो आम्दानीको माध्यमसमेत बनेको श्रेष्ठ बताउँछिन् ।

केही समय अघिसम्म सहरबजारका युवतीमाझ लोकप्रिय रहेको कपडामा बुट्टा भर्ने बुुटिक व्यवसाय अचेल दुर्गम गाउँसम्म पुगेको छ । घरमै बसेर फुर्सदको समयमा पनि हातमुख जोर्ने पैसा कमाइने महिलाको भनाइ छ । ‘कमाइको कुनै स्थायी स्रोत थिएन, काम गर्नका लागि पनि हातमा सीप थिएन,’ श्रेष्ठले भनिन्, ‘हातमा सीप भए कसैको अगाडि हात पसार्नु पर्दैन रहेछ ।’ तालिमपछि आफूमा भएको सीपको उपयोग गरी आफ्नै लगानीमा बुटिक सञ्चालन समेत गरेका छन् । विन्दु मात्र होइन उनका साथीहरु पनि दैनिक कुर्ता, साडी तथा सल लगायत विभिन्न कपडामा सितारा, पोते लगाउन सिकिरहेका छन् । पछिल्लो समय आकर्षक बन्दै गएको बुटिक डिजाइन व्यवसायमा लाग्नका लागि सिकिरहेका छन्।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरीको आर्थिक सहयोगमा सहारा महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बुटिक डिजाइन तालिमले महिलाहरु उत्साहित भएका छन् । तालिममा सहभागी ज्वालामुखी–३, मैदीका राममाया गिदेल पनि बुटिक तालिमपछि व्यावसायिक बन्ने सोंचमा छन् । बजारमा अहिले बुटिकमा तयार गरिएको कपडाको माग बढिरहेकाले यसको भविष्य राम्रो भएको बताउँछन् । ‘यस्ता सीपमूलक तालिमले आत्मनिर्भर बन्न हौसला मिलेको छ,’ गिदेलले भनिन्, ‘फुर्सदमा बुटिक भरेर घरखर्च पनि टार्न मिल्ने भएकाले रोजगारीको चिन्ता छैन ।’

फेसनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ महिलाले बनाएका बुटिक डिजाइन लोकप्रिय बन्दै गएको छ । महिलाहरु बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहेकी छिन् । फुर्सदको समयको सदुपयोग गर्न सीप सिकेको गिदेल बताउँछिन् । ‘गाउँमा आयआर्जनको बाटो कम हुने भएकाले सीप सिकेर स्वाबलम्वी बन्दै आयआर्जन गर्न नयाँखाले तालिम लिन लागेकी छु,’ गिदेलले भनिन्, ‘यसबाट भविष्यमा राम्रो गर्ने सोच रहेको छ ।’ सीपभन्दा ठूलो कुरा केही नभएकाले सीपमूलक तालिमपछि भविष्य कोर्ने बताए ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र गजुरीका प्रमुख पुरुषोत्तम पाण्डेले स्थानीय स्रोत, बजारको माग र स्थानीयको चाहना अनुरुप तालिम प्रदान गरेको बताए । ‘कपडामा बुट्टा भरेर महँगोमा बिक्री गर्दा महिलाको सीप पनि बढ्ने आम्दानी पनि बढ्ने हुन्छ,’ पाण्डेले भने, ‘सुन्दर भविष्य र नियमित आम्दानी हात पार्नका लागि महिलाका लागि यस्ता तालिम बरदान बन्दै गएको छ ।’ सीमित स्रोत साधनले पनि बुटिक डिजाइन तालिमले बजारको माग पूरा गर्दै रोजगारीको अवसर सिर्जना गर्नेे पाण्डेको भनाइ छ । यस्ता सीपबाट स्थानीय गाउँमै रोजगारीका अवसर सिर्जना गर्न सकिने भएकाले आगामी दिनमा आवश्यकता अनुसार कार्यालयले थप पुनर्ताजगी तालिम उपलब्ध गराउने उनको भनाइ छ ।

बुटिक व्यवसाय महिलामा लोकप्रिय बन्दै गएको छ । आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महŒवाकांक्षी भावनाले महिलाहरु परम्परागत चुलोचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेको सहारा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योति श्रेष्ठले बताइन् । ‘महिलालाई सक्षम बनाउन र आयआर्जनमा टिकाउन बुटिक व्यवसायमा महिलाको आकर्षण बढेको छ,’ श्रेष्ठले भनिन्, ‘सामान्य कपडामा बुट्टा भरेर महिलाले कपडालाई मात्र होइन आफ्नो भविष्य पनि सुन्दर बनाएका छन् ।’ गाउँघरमा काम नभएर दिनभर गफिएर दिन बिताउने महिलाका लागि आम्दानीको माध्यम बनेको श्रेष्ठको भनाइ छ ।

                 

प्रकाशित: २८ असार २०७५ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App