८ वैशाख २०८१ शनिबार
अर्थ

भौतिक पूर्वाधारले फेरिँदै गाउँ–सहरको मुहार

कालोपत्रे गरीदा राम्रो देखिएको कलैया–खपरताता सडक खण्ड । तस्बिर : नागरिक

बारा - विभिन्न स्थानीय तहमा थपिएको भौतिक पूर्वाधारले अधिकांश गाउँ र सहरको मुहार फेरिन थालेको छ।

स्थानीय तहलाई प्राप्त बजेटबाट निर्माण भएको सडक ढलान, कालोपत्रे, सामुदायिक भवन र नाला निर्माण लगायत भौतिक पूर्वाधार निर्माणले गाउँ र सहरको मुहार फेरिनमा मद्दत पुगेको बताइएको छ।

दशकौंदेखि जिल्लास्थित विभिन्न गाउँ र बजार क्षेत्रका कच्ची सडकमा वर्षायाममा हिलो र सुक्खा याममा धुलोबाट पीडित स्थानीय स्थानीय तहको चुनावपछि राहतको अनुभूति गर्न थालेका छन् । जिल्लाको सदरमुकाम तथा ग्रामीण क्षेत्रका कच्ची सडकको स्तरोन्नति ढलानसँगै स्थानीयले राहत पाउनुका साथै अधिकांश गाउँको मुहार नै फेरिएको छ ।

‘देशको राजनीतिमा धेरै परिर्वतन आए पनि गाउँको अवस्थामा परिवर्तन आउन सकेको थिएन,’ कलैया उपमहानगपालिका २० बसतपुरका इब्रहिम मियाँले भने, ‘स्थानीय तहको निर्वाचन भएको एक वर्ष नबित्दै ग्रमीण इलाकाका अधिकांश कच्ची सडक पक्की बनेका छन् ।’ गाउँका धेरै कच्ची सडक ढलान गरिएको र सामुदायिक भवनको निर्माण कार्यसँगै गाउँको मुहार नै फेरिएको मियाँले बताए।

चालु आर्थिक वर्षमा नगर तथा वडास्तरीय र सीमा क्षेत्र विकास शीर्षकको बजेट गरी करिब एक करोड ४० लाख जतिको विभिन्न योजना वडा नम्बर २० वसतपुरमा मात्रै सञ्चालन गरिएको कलैया उपमहानगरपालिका कार्यालयले जनाएको छ । वडाध्यक्ष इमामुदीन मियाँ ठकुराईले निर्वाचन भएपछि मात्रै प्राप्त बजेटबाट एक किलोमिटरभन्दा बढी विभिन्न कच्ची सडक ढलान गरिएको र सामुदायिक भवन निर्माण गरिएको बताए । त्यस्तै वर्षायाममा पसाह खोलामा आउने बाढी गाउँमा पस्न नदिन पनि बाँध निर्माण गरिएको उनले जानकारी दिए ।

‘चालु आर्थिक वर्षमा गरिएको विकास निर्माणको काम विगत ५० वर्षको भन्दा बढी भएको छ,’ वडाध्यक्ष ठकुराईले भने, ‘अहिले भएको विकास निर्माणको कार्यले वर्षौदेखिको स्थानीयको चाहना पूरा भएको छ ।’ चालु आवमा प्राप्त बजेटमध्ये कलैया उपमहानगरपालिकाको २७ वटा वडामै लगभग ३५ करोड भौतिक पुर्वधार निर्माणको कार्य गरीएको कलैया उपमहानगपालिका प्रमुख राजेश राय यादवले बताए । उनले खर्च हुने रकमबाट सडक ढलान, सडक स्तरोन्नति, नाला निर्माण, पर्यटकीय क्षेत्रको विकास, नगरसभा गृहको पर्खाल निर्माण लगायत काम अगाडि बढाएको बताए ।जनतासँग सबैभन्दा नजिकको स्थानीय सरकार भएकाले पनि धेरै जनताको चाहना पूरा हुने विकास निर्माणको कार्यलाई बढी प्राथमिकतामा राखेर लगानी गरिएकोे यादवको भनाइ छ ।

नगर क्षेत्रका धेरै जनताको अपेक्षालाई सम्बोधन गर्न विकास निर्माणको कार्यमा बजेट लगानी गर्ने नीति कलैया उपमहानगरपालिकाले लिएकाले स्थानीयवासीले राहत पाएको यादवले बताए । आगामी आव ०७५÷७६ मा कलैया उपमहानगरपालिकाका लागि चाहिने भौतिक पूर्वाधार जस्तै, व्यपारीक भवन, नगरसभा गृह, ल्यण्डफिल्ड साइड, फराकिलो सडक, पर्यटकिय क्षेत्र र खेल मैदान निर्माण गर्न तिर लागेको यादवले बताए।

कलैया उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोकराज पाण्डेले भौतिक पूर्वाधारको विकासका साथै कलैया सहरलाई सफा राख्न सके मात्रै नगरवासीले विकासको अनुभूति गर्ने भएकाले यस कार्यमा लागि परेको बताए । नगरलाई सफा राख्नका लागि ‘क्लिन कलैया’ अभियान चलाउनु अति नै आवश्यक भएको उनले बताए । उप–महानगरपालिकाले आगामी आवमा उक्त अभियान सञ्चालनका लागि बजेट छुट्याएको पाण्डेले बताए ।

आगामी आवका लागि उप–महानगरपालिकाले एक अर्ब एक करोड २२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । बजेटमा ‘क्लिन कलैया’ अभियान सुरु गर्नुका साथै भरतचोकलाई सुदृढीकरण गरी सुन्दर बनाउने र बौराहा पोखरीलाई नमुना पोखरा बनाउने कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

उपमहानगरपालिकामा २७ वटा वडा रहेकामा सबैलाई ८० लाखका दरले बजेट छुट्याइएको कार्यकारी अधिकृत डा टोकराज पाण्डेले बताए । ‘पूर्वाधारको विकासको साथ साथै सफा र व्यवस्थित पार्किङलाई प्राथमिकतामा राखेका छौं,’ डा पाण्डेले भने, ‘पुरानो नगरपालिका भएर पनि विकासमा पछि परेकाले हामीले योजनाबद्ध रुपमा विकासको योजना अघि सारेका छौं ।’


 

प्रकाशित: २८ असार २०७५ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App