८ वैशाख २०८१ शनिबार
अर्थ

बेहाल मध्यपहाडी लोकमार्ग

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम खण्डको हिलाम्मे सडक ।तस्बिर : गिरिराज/नागरिक

पाँचथर - सोमबार विहान पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत उत्तरी याङवरक गाँउपालिका–३ ओयामको एफएम चोकछेत्रे भिरबाट जिप खस्दा एकको घटनास्थलमै मृत्यु भयो । नौजना गम्भीर घाइते भए । सडकको बीचमा आधा गाडी डुब्ने हिलोबाट निकाल्न खोज्दा चिप्लिएर दुर्घटना भएको अनुमान छ ।

यहाँमात्र होइन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको विभिन्न विभिन्न ठाँउ जोखिमपूर्ण छ । सडक हिलाम्मे छ । जिल्लाका उत्तरी र ताप्लेजुङका विभिन्न गाँउका बासिन्दा निक्कै जोखिम मोलेर यात्रा गर्छन् । दैनिक दर्जनौं गाडी चल्ने लोकमार्गको हालत निक्कै भयावह छ ।पहाडै–पहाड पूर्व–पश्चिम जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु मानिएको नेपाल–भारतको सिमाना चिवाभञ्याङदेखि दोरम्बा भन्ने ठाँउसम्म यात्रा गरेर आइपुग्दा निक्कै सास्ती र अवरोध खेप्नु पर्छ । कतै बाटो अवरुद्ध भेटिन्छ । कतै निक्कै जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।

पहिरो, ढुंगा खस्ने, हिलाम्मे सडक तथा ग्रेड नमिलेको सडकले हैरान बनाउँछ । ठाँउठाँउमा पहिरो खसेको छ । बाटैमा वर्षाको पानी कुलो बनाएर बगेको देखिन्छ । निर्माण व्यवसायीले जथाभावी राखेका समाग्रीले यात्रा निक्कै असहज हुन्छ । चिवाभञ्याङदेखि च्याङ्थापुको सडकको अवस्था निक्कै दयनीय छ । जोखिम मोलेरमात्र यात्रा गर्न मिल्छ । राष्ट्रिय महŒवको आयोजना भए पनि बाटो निकै बिग्रिएको स्थानीय मंगल वेघा बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना मनिएको यो खण्डमा थङ्थिलो अवस्थामा छ । ७० किलोमिटर लोकमार्गको सडक जिल्लामा पर्छ । यीमध्ये १९ किलोमिटर खण्डमा कालोपत्र भएको छ । उत्तरी गणेश चोकदेखि दोरम्बासम्मको नौ किलोमिटर कालोपत्रे छ । त्यहाँभन्दा माथि चिवाभञ्याङसम्मको सडक अवस्था बेहाल छ । निक्कै डरमर्दो बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासीको गुनासो छ ।

प्रशस्त बजेट र प्राथमिकतामा परेको आयोजना ठेकेदारको काम गराई पनि सन्तोषजनक देखिँदैन । ट्र्याक ओपनिङपछि लागेका ठेक्काको काम अझै सकिएको छैन । ग्रावेल गर्ने र पुल बनाउने काममा समेत ढिलाइ भएको छ । पाँचथर र ताप्लेजुङका विभिन्न गाउँ जाने यात्रुले यो सडक प्रयोग गर्छन् । सामान ओसारप्रसार र यात्राका लागि यो सडक प्रयोग हुन्छ ।बर्खा लागेसँगै यो सडक डरमर्दो भएको छ । रिजाल भिरको पहिरो डरलाग्दो छ । २०७५ सालभित्र लोकमार्गको कालोपत्रे सक्ने आयोजनाको सुरुवाती लक्ष थियो । तर आयोजनाको काम सुस्त हुँदा यो लक्ष हासिल नहुने भएको छ ।

यहाँभन्दा पछि ट्र्याक खुलेको तेह्रथुममा कालोपत्रे ठेक्का लगाइएको छ भने यता ग्रावेल स्तरको मात्र काम भइरहेको छ । मध्यपहाडी लोकमार्गका इन्जिनियर शिव खत्रीका अनुसार नौवटा ठेक्का लागेका छन् । चारवटा सडक र पाँचवटा पुलका ठेक्का लागेका हुन् ।

ठेक्का लागेको निक्कै समयपछि मात्र ठेकेदारले काम थाल्ने गर्दा समयमा काम सकिएको छैन । यीमध्ये दुईवटा ठेक्का सडक ग्रावेलका छन् । २९ किलोमिटर खण्ड ग्रावेल छ । साँघाडाँडासम्म कालोपत्रेको ठेक्का लागेको छ । त्योभन्दा माथि स्ट्रक्चरको ठेक्का लगाइएको छ । चिवाभञ्याङै छेउमा रहेको साढे दुई किलोमिटर सडकको ठेक्का लागेको निक्कै समय बित्तिसक्दा पनि काम भएको छैन ।सबै ठेक्कामा ढिलाइ देखिन्छ । लोकमार्ग कार्यालयका अनुसार दोरम्बादेखि ओयामसम्मको १३ किलोमिटर ग्रावेल गर्ने काम ५५ प्रतिशत पुगेको छ । चारवर्षे ठेक्काको म्याद अब १० महिना बाँकी छ ।

यस्तै, ओयामदेखि साँघाडाँडासम्मको ग्रावेलको काम ४५ प्रतिशत पुगेको छ । तीन वर्षको उक्त ठेक्काको म्याद अब नौ महिना बाँकी छ । साँघाडाँडामाथिको १६ किलोमिटर स्तरोन्नतिको काम ८५ प्रतिशत पुगेको छ । तर यो कामको म्याद सकिन दुई महिनामात्र बाँकी छ । अन्तिमको साढे दुई किलोमिटरको प्रगति शून्य देखिन्छ ।लोकमार्गमा ठेक्का लिएका निर्माण कम्पनीले समयमा काम गर्दैनन् । निकै कम मूल्यमा ठेक्का लिने, पेटी ठेकेदारलाई काम दिने, ढिला गरी काम सुरु गर्ने लगायत कारण समस्या उत्पन्न हुने गरेको छ ।

 

 

 

प्रकाशित: २८ असार २०७५ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App