८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता’

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय प्रमुख मार्क लोकक र उत्तर कोरियाली स्वास्थ्य मन्त्री जाङ जुन–साङबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भएको भेटवार्ता । तस्बिर :एजेन्सी

न्युयोर्क– उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता रहेको प्रष्ट प्रमाण भेटिएको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी निकायले बताएको छ।

सन् २०११ पछि पहिलो पटक उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रसंघीय सहायतासम्बन्धी निकायका प्रमुख मार्क लोककले उत्तर कोरियामा तत्काल मानवीय सहायताको खाँचो रहेको बताएका हुन् ।राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका प्रमुख लोकक सोमबार उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । उनले बुधबार उत्तर कोरियाका आलंकारिक राष्ट्रपति एवं नाम मात्रका राज्य प्रमुख तथा त्यहाँका सर्वोच्च जनसभाका अध्यक्ष किम योङ–नामसँग भेट गरेको राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उत्तर कोरियाको दक्षिणपश्चिम क्षेत्रको कैयौं ठाउँमा भ्रमण गरेपछि लोककले आफूले देखेको दृश्यबारे भिडियो पोस्ट गरेका छन् । ‘उत्तर कोरियाका विभिन्न क्षेत्रमा भ्रमण गरिसकेपछि हामीले पत्ता लगाएको एउटा महत्वपूर्ण तथ्य यहाँ मानवीय सहायताको खाँचो रहेको भन्ने विषय हो,’ उनको आधिकारिक ट्विटर अकाउन्ट र संयुक्त राष्ट्रसंघको वेबसाइटमा राखिएको भिडियोमा उनले बताएका छन्।

‘हामीले भ्रमण गरेको क्षेत्रसहित देशको ग्रामीण क्षेत्रका आधाभन्दा बढि बालबालिकाका लागि स्वच्छ पिउने पानी छैन, उनीहरुले प्रदुषित पानी पिइरहेका छन्,’ राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका प्रमुख लोककको भिडियोलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्पअन्तर्गत उत्तर कोरियामा मानवीय सहायता सामग्री उपलब्ध गराउन छुट भए पनि उत्तर कोरियाको आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई लिएर राष्ट्रसंघीय अधिकारीहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको चेतावनी दिँदै आएका छन् । राष्ट्रसंघीय अधिकारीहरुको चेतावनीका कारण उत्तर कोरियाको मानवीय संकट समाधानमा समस्या भइरहेको बताइएको छ । ‘उत्तर कोरियाका करिब २० प्रतिशत बालबालिका भोकमरीको शिकार भइरहेका छन्, त्यसैले उत्तर कोरियामा मानवीय सहायताका लागि थप स्रोत जुटाउनु पर्ने आवश्यकता देखिएको छ,’ लोककलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

‘मानवीय सहायतासम्बन्धी कामदारलाई उत्तर कोरिया प्रवेश दिने अवस्थाबोर सुधार भइरहेको छ,’ विस्तृत जानकारीबिनै उनले बताए । यद्यपी उत्तर कोरियामा मानवीय सहायताका लागि आर्थिक सहयोग बढाउनु पर्ने विषयमा भने जोड दिएका छन् । पर्याप्त बजेट नभएको भन्दै राष्ट्रसंघले गत नोभेम्बरमा त्यहाँका बालबालिकालागि सञ्चालित पौष्टिक खाद्यान्न कार्यक्रम बन्द गर्नु परेको बताएको थियो । उसले उत्तर कोरियाका लागि तय गरेको सन् २०१८ को ‘आवश्यकता तथा महŒव योजना’मा पनि आर्थिक सहयोग नभएको बताएको छ।

संयुक्त राष्ट्रसंघले सहयोग नगरेको उत्तर कोरियास्थित एउटा अस्पतालमा भ्रमण गरेपछि उनले त्यहाँ एक सय ४० क्षयरोगका बिरामी रहेको तर ४० जनालाई मात्रै उपचार गर्न पुग्ने औषधी रहेको बताएका छन् ।
एक करोड वा करिब ४० प्रतिशत उत्तर कोरियाली नागरिकलाई तत्काल मानवीय सहायता आवश्यक रहेको छ, राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।उत्तर कोरियाका लागि आवश्यक पर्ने मानवीय सहायताका लागि लोककले मानवीय सहायतासम्बन्धी विभिन्न एजेन्सीका प्रतिनिधि र मानवीय अवस्था राम्रो बनाउनका लागि आर्थिक सहयोग प्राप्त गर्ने व्यक्तिसँग छलफल गर्न लागेको विज्ञप्तिमा जनाइएको छ ।
 

 

प्रकाशित: २८ असार २०७५ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App