८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प र मर्केलबीच नयाँ वाकयुद्ध

अप्रिल २७ मा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेस्ट विङ पुगेपछि तस्बिर खिचाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र जर्मन चान्सलर एन्जेला मर्केल । फाइल तस्बिर : एजेन्सी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच नयाँ वाक्युद्ध सुरु भएको छ।

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को शिखर बैठकको पूर्वसन्ध्यामा रुसी प्रभाव र सुरक्षा खर्चबारे अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मन चान्सलरसँग वाक्युद्ध सुरु गरेको बिबिसीले जनाएको छ।

जर्मनीले रुसबाट ठूलो परिमाणमा प्राकृतिक ग्यास आयात गर्ने भएकाले जर्मनी रुसबाट पूर्ण रूपमा नियन्त्रणमा रहेको र यस्तो विषय नाटोका लागि खराब भएको ट्रम्पले बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो धारणा बाहिरिएसँगै जर्मन चान्सलर मर्केलले जर्मनी स्वतन्त्र राष्ट्र भएको र नाटो गठबन्धनमा ठूलो योगदान पु¥याइरहेको भन्दै प्रतिवाद गरेको बिबिसीले जनाएको छ । दुई नेता सहभागी पछिल्लो शिखर बैठक पनि व्यापार युद्धको विषयलाई लिएर कटुतामा अन्त्य भएको थियो । बुधबार बेल्जियमको राजधानी ब्रसेल्समा दुई नेता पुनः भेट्दैछन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच हेल्सिन्कीमा हुन लागेको पहिलो शिखर बैठकको एक साताभन्दा कम समयमा ब्रसेल्स शिखर बैठक हुँदैछ ।

पुटिन र ट्रम्पबीच निकटताको सम्बन्ध बनिरहेको नाटो गठबन्धनले आशंका गरेपछि ब्रसेल्स बैठक हुन लागेको बताइएको छ । आगामी सोमबार पुटिनसँग हुने बैठकभन्दा नाटो बैठक झन कठोर हुनसक्ने अमेरिकी राष्ट्रपतिले केही दिनअघि बताएपछि यसले सबैलाई आश्चर्यमा पारेको थियो । नाटो गठबन्धनमा रहेका कतिपय राष्ट्रले अमेरिकाको धेरै नै फाइदा उठाएको बताउँदै ट्रम्पले यस्तो धारणा राखेका थिए । सन् १९४९ मा सोभियत संघलाई काउन्टर दिन गठन भएको नाटो गठबन्धन अझै पनि सक्रिय रहेको छ । सोभियत संघको उत्तराधिकारीका रूपमा रुस रहेको छ ।

यसैबीच युरोपप्रति दैनिक जसो आलोचना गर्ने गरेको आरोप लगाउँदै युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धमा ट्विट गरेका छन् । ‘प्रिय अमेरिका, आफ्नो गठबन्धनको प्रशंसा गर, किनकि तिमीसँग त्यत्ति धेरै गठबन्धन पनि छैन,’ टस्कले गरेको ट्विटमा लेखिएको छ ।जर्मनीबारे ट्रम्पले के भने ?

युरोपेली संघमा सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो, जर्मनी । अमेरिकी प्रशासनले लामो समयदेखि नाटो गठबन्धनमा निष्पक्ष रूपमा जर्मनीले योगदान नदिएको आरोप लगाउने गरेको भएपनि अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो कटाक्ष भने अत्यन्तै फरक खालको रहेको छ।

‘जर्मनी पूर्ण रूपमा रुसबाट नियन्त्रित छ किनभने उसले ६० देखि ७० प्रतिशत ऊर्जा र नयाँ पाइपलाइन रुसबाट पाइरहेको छ । अब भन्नुस् के त्यो सही छ, मलाई त छ जस्तो लाग्दैन र नाटोको लागि यो अत्यन्तै खराब हो जस्तो लाग्छ,’ ब्रसेल्समा नाटो प्रमुख जेन्स स्टोलटनबर्गसँगको बे्रकफास्ट बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले बताए । युरोपेली संघको पछिल्लो तथ्याङ्कअनुसार रुसबाट जर्मनीमा हुने ग्यास आयात ५० देखि ७५ प्रतिशत रहेको छ । जर्मनीले नयाँ बाल्टिक सी पाइपलाइनका लागि पनि राजनीतिक समर्थन दिइसकेको छ, जसले गर्दा युरोपली संघआबद्ध राष्ट्रमा ग्यासको आपूर्तिलाई बढाउने छ । जर्मनी र रुसबीचको यस्तो आयोजनाको पोल्यान्ड र अन्य युरोेपेली राष्ट्रहरुले आलोचना गर्दै आइरहेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनीले उसको अर्थतन्त्रको केबल एक प्रतिशत मात्रै नाटोमा खर्च गरेको आरोपसमेत लगाएको बिबिसीले जनाएको छ ।मर्केलले कसरी प्रतिक्रिया दिइन् ?‘सोभियत संघले जर्मनीको केही भूभागमाथि नियन्त्रण गर्दाबखतको अनुभव मसँग रहेको भन्न चाहन्छु,’ जर्मन चान्सलर मर्केले पत्रकारहरुलाई बताइन् । ‘म अहिले खुसी छु किनभने हामी स्वतन्त्रतासँगै एकीकृत भएका छौं । हाम्रो स्वतन्त्र नीति र स्वतन्त्र निर्णय हामी आफै लिन सक्छौं,’ मर्केलले बताइन् । नाटो गठबन्धनमा जर्मनीले ठूलो संख्यामा सेना खटाएको समेत उनले बताइन्।
 

प्रकाशित: २८ असार २०७५ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App