coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

वेदविद्याश्रमका विद्यार्थी ११ कक्षा पढ्नबाट वञ्चित

काठमाडौं - एसइईको नतिजा भएसँगै विद्यार्थीहरु आफनो क्षमता र रुचिअनुसार कक्षा ११ मा विषय र विद्यालय छनोट गर्न व्यस्त छन् । विद्यार्थीलाई विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा भर्ना गर्न विद्यालयहरुको तछाडमछाड पनि देखिन्छ।

तर यो तामझाबाट बेचैन छन् भोजपुरका रुपेश नेपाल । उनले यसै वर्ष ए प्ल्स ग्रेड प्राप्त गरी नेपाल वेद विद्याश्रमबाट एसइई पूरा गरे । संस्कृत विषय पढेर एसइई दिएका रुपेश भने कहाँ पढ्ने, कुन विषय पढ्ने भन्नेमा अन्यौल छन् । संस्कृत पढ्नु अपराध गरे सरह भएको उनको बुझाइ छ । सरकारले संस्कृत विद्यार्थीका लागि ११ कक्षाको पाठ्यक्रम तयारी नगर्दा संस्कृतका विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

सरकारले कुनै विकल्प नै नदिई नेपाल संस्कृत विश्वविद्यालयबाट यसै वर्षदेखि उत्तरमध्यमा तह पनि खारेजी गरेको छ । जसको कारण नेपालभरि सञ्चालित ५० भन्दा बढी वेद विद्याश्रमका करिब ६ सय विद्यार्थीको भविष्य अन्योल बनेको छ । ‘मैले एसइई दिनासाथ शिक्षक केशव अधिकारीलाई कक्षा ११ मा कहाँ पढ्ने भनेर सोधें,’ रुपेशले चिन्तित हुदै नागरिकसँग भने, ‘उहाँले नतिजा प्रकाशनपछि केही उपाय लाग्ला कि छ भन्नुभयो । तर आजसम्म केही निकास दिएको छैन।’

रुपेश पढ्न पाइएला कि भनेर साथीसँग भारतको बनारस पनि पुगे । उनीहरु बनारसका महाविद्यालय गए । १५ वर्षीय रुपेशले भने, ‘मैले संस्कृतमै पूरै ७ वर्ष बिताइसके । यो विषयबाहेक मलाई अरु विषयमा रुचि छैन । संस्कृत विषय पढेर मैले के अपराध गरें र ? मलाई माध्यामिक तहमा शिक्षा हासिल गर्नबाट वञ्चित पारियो ।’

रुपेश मात्र होइन सोही वेद विद्यश्रमबाट एसइई दिएका अर्का विद्यार्थी सन्दीप काफ्ले पनि कक्षा ११ कहाँ पढ्ने र कसरी पढ्नेबारे चिन्तित छन् । उनी वेदविद्यामै आप्mनो रुचि भएकाले अन्य धारतर्फ जान चाहँदैनन् । ‘कक्षा ११ र १२ पढाइने कुनै पनि माविहरुमा संस्कृत विषय नै छैन । संस्कृत विश्वविद्यालयले पनि यसै वर्षदेखि विकल्पबिनै हटायो,’ १७ वर्षीय सन्दीपले दुःखेसो पोखे, ‘सरकारले हाम्रो संस्कृत शिक्षालाई मास्न खोजेको छ । हामी संस्कृतका विद्यार्थीलाई उच्च शिक्षाको अवसर नै नदिई किन अपहेलना गरियो ?’

उनीजस्तै विद्यार्थीहरुले सरकारसँग वर्ष खेर नजने गरी पाठ्यक्रम यथाशीघ्र निर्माण गर्न अनुरोध गरेका छन् । ‘कस्तुरीले आफ्नो नाभीको सुगन्ध थाहा नपाएजस्तै विश्वप्रख्यात संस्कृत शिक्षाबारे नेपालको सरकारी निकायलाई केही जानकारी छैन,’ सन्दीपले भने, ‘हामी संस्कृतका विद्यार्थी पनि नेपाली जनता नै हौं । हाम्रो उच्च शिक्षाको अधिकार सरकारले सुरक्षित पार्नुपर्छ ।’

नेपाल वेद विद्याश्रमका प्राचार्य केशव अधिकारीले आपूmहरुले दुई वर्ष अघिदेखि नै शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रसँग वेद विद्याश्रम तर्फका कक्षा ११ र १२ को पाठ्यक्रम निर्माणका लागि पटक–पटक निवेदन दिए पनि सुनुवाइ नभएको बताए । उनले राज्यले संस्कृत शिक्षालाई पछाडि पार्न खोजेको आरोप लगाए ।

‘गत वर्षसम्म संस्कृत विश्वविद्यालयमा उत्तरमध्यमा तह सञ्चालित थियो कुनै समस्या थिएन । यो वर्ष कुनै विकल्प नै नदिएर विश्वविद्यालयले पनि उत्तरमध्यमा खारेजी ग¥यो,’ अधिकारीले नागरिकसँग भने, ‘अर्कोतर्फ सरकारले समेत गैर जिम्मेवारीपन देखायो र अझै पाठ्यक्रम निर्माण गरेको छैन ।’ उनले थपे, ‘पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तयार पार्यो भने यसै वर्षदेखि कक्षा ११ सुरु गर्न सक्छौं । यसका लागि सरकारले कुनै दरबन्दी र कक्षाकोठा पनि दिनु पर्दैन।’

‘एकातिर विश्वविद्यालयले उत्तरमध्यमा खारेजी गर्नु र अर्कोतर्फ सरकारको यसको विकल्पको तयारी नगर्नुले सरकार संस्कृत शिक्षाप्रति गैरजिम्मेवार बनेको प्रष्ट हुन्छ,’ व्याकरणका शिक्षक घिमिरेले प्रश्न गरे, ‘विदेशीको आकर्षण नेपाली संस्कृत शिक्षामा छ तर सरकारको किन विकर्षण ?’

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले १२ कक्षासम्म विद्यालय शिक्षा भएकाले यो विषय विश्वविद्यालयको क्षेत्राधिकार भित्र नपर्ने बताए । उनले कक्षा ११ र १२ को व्यवस्थापनबारे पाठ्यक्रम विकास केन्द्रले पहिले नै तयारी गर्नुपर्ने पनि औंल्याए । ‘नेपालका सबै विश्वविद्यालहरुले प्रमाणपत्र तह हटाइसके,’ उपकुलपति कोइरालाले भने, ‘१२ कक्षा पछिको शिक्षा मात्र विश्वविद्यालय शिक्षा हुने भएकाले सरकारले नै कामय गरे अनुसार विश्वविद्यालयले यो वर्षदेखि उत्तरमध्यमा खारेजी गरेको हो।’

पाठ्यक्रम विकास केन्द्रका संस्कृत पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरेले पूर्वतयारी बिना विश्वविद्यालयबाट उत्तरमध्यमा फेजआउट हुनु दुःखद भएको बताउँदै पाठ्यक्रम विकास केन्द्रले विज्ञहरुको समूहबाट पाठ्यक्रम निर्माणको आन्तरिक तयारी गरिरहेका जनाए । उनले तत्कालीन उच्च शिक्षा माध्यामिक परिषद्ले पनि वेद विद्याश्रमका विद्यार्थीका लागि छुटै पाठ्यक्रम नबनाएकाले थप चुनौती थपिएको प्रतिक्रिया दिए ।

‘राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले जेठ १८ गते बल्ल राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित गरेको छ,’ अधिकृत घिमिरेले नागरिकसँग भने, ‘पाठ्यक्रमले संस्कृत रचना, व्याकरण, न्याय र साहित्यको मस्यौदा तयार पार्दैछ ।’ उनले थपे, ‘अरु विषयहरुको पनि विषयबस्तु यकिन गरी ढाँचा तयार पर्ने काम भइरहेको छ ।’ उनले साउन पहिलो सातासम्म पाठ्यक्रम लेखन कार्य सम्पन्न हुने दाबी गर्दै परिषद्ले पास गरे कार्यान्वयन छिटै हुने बताए ।

प्रकाशित: २८ असार २०७५ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App