५ वैशाख २०८१ बुधबार
समाज

निर्माण नसकिँदै दुई ठाउँमा भासियो

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा भासिएको सडक ।तस्विरः सविता/नागरिक

चितवन - निर्माण पूरा नहुँदै नारायणगढ–मुग्लिन सडकखण्ड दुई ठाउँमा भासिएको छ । सडकखण्डको गाईघाट क्षेत्रमा मंगलबार बेलुकीदेखि सडक भासिएको हो ।

नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ एक फिट बाटो भासिएको नारायणगढ –मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।उनका अनुसार दुई लेनको सडकको बीच भागबाट एक लेन भासिएको छ । ‘करिब पाँच मिटर चौडाइमा २० मिटर लम्बाइ सडक भासिएको छ,’ उनले भने, ‘सडक दबिएको क्षेत्रमा सवारीसाधन एकतर्फी सञ्चालन भइरहेको छ ।’ सडक बीचबाट भासिएर नदीतर्फ ढल्किनुको कारणबारे अध्ययन भइरहेको उनले बताए । सडक भासिएपछि विज्ञ टोलीले बुधबार सडकको स्थलगत अवलोकन गरेका छन् ।

‘बाटो के भएको हो, त्यो अध्ययन हुँदैछ,’ उनले भने, ‘परार्मशदाता कम्पनीमा रहेका त्यही विषय हेर्ने विज्ञ अध्ययनमा सहभागी छन् ।’ विज्ञबाट तथ्य जानकारी पाएपछि मात्र बाटो भासिनुको कारण बताउन सकिने सूचना अधिकारी इन्जिनियर खनालको भनाइ छ । विज्ञको अध्ययनबाट सडकलाई साविक ठाउँमा कसरी उठाउने भन्ने विषयमा जानकारी पाइने उनले बताए।

यसअघि पनि जुगेडीनजिक भतेरीमा सडक भासिएको थियो । जुगेडीनजिक भतेरीको जंगलमा करिब ५० मिटर सडक भासिएको थियो । जुगेडी क्षेत्रमा सडकका किनारमा लगाइएका पर्खाल सरेको खनालले बताए । उनका अनुसार सडक दबिएको ठाउँमा सडक आयोजनाको परामर्शदाता कम्पनीले पुनः सडक बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ ।

नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ एक फिट बाटो भासिएको छ । सडक दबिएको क्षेत्रमा सवारीसाधन एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

सात मिटर फराकिलो सडकलाई माटोले पुरेर ११ मिटर चौडा बनाइएको थियो । तलबाट ग्याबिन राखेर उठाइएको सडक भत्किएको थियो । तीन वर्षअघि सुरु गरिएको सडकखण्ड विस्तार अहिले पनि जारी छ । सडक विस्तार ९५.४ प्रतिशत सकिएको सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए।

आँपटारीदेखि मुग्लिनसम्मको ३३.२ किलोमिटर सडक तीन खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । सडकखण्डमा बिएलएएससीसी कम्पनीले आँपटारीदेखि दासढुंगासम्म १०.५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुंगादेखि सिमलतालसम्म १०.७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सिमलतालदेखि मुग्लिनसम्म १२.१ किलोमिटर सडक विस्तार गर्दै छन् । सिमलतालदेखि मुग्लिनसम्म ६ किलोमिटर सडकमा तेस्रो तहको कालोपत्रे गर्न बाँकी छ ।

चौथोपटक थपिएको म्यादअनुसार निर्माण कम्पनीले गत जेठ १६ मै काम सक्नुपर्ने भए पनि नसकेपछि फेरि म्याद थपका लागि निवेदन दिएर काम जारी राखेका छन् । ३३ किलोमिटर सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेन बनाउन काम थालिएको हो । सडकखण्डमा १४ किलोमिटर ११ मिटर र १९ किलोमिटर ९ मिटर चौडाइको सडक बनाउन सडक विस्तार सुरु गरिएको हाे ।

सडक भासिएको स्थान गाईघाट, दासढुंंगादेखि सिमलताल तथा भतेरी आँपटारीदेखि दासढुुंगा क्षेत्रमा पर्छ । सडकखण्ड निर्माण सम्पन्न नहुँदै सडक भासिन थाल्नुको कारण पत्ता लगाएर सुधार गरिने सूचना अधिकारी इन्जिनियर खनालको भनाइ छ । बारम्बार पहिरो खस्ने नारायणढ–मुग्लिन सडकमा पहिरो रोकथामका काम ९८ प्रतिशत सकिएको सडक आयोजनाले जनाएको छ ।

 

प्रकाशित: २८ असार २०७५ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App