७ वैशाख २०८१ शुक्रबार
राजनीति

१ लाख ५० हजार नागरिकलाई ई–विद्युतीय परिचयपत्र

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले यसै वर्ष १ लाख ५० हजार नेपालीलाई ई–विद्युतीय राष्ट्रिय परिचयपत्र वितरण गरिने बताएका छन्। बिहीबार व्यवस्थापिका संसदमार्फत देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ठूला संख्यामा सेवाग्राही जम्मा हुने कार्यालयमा टोकन प्रणाली लागू गर्ने र सेवाग्राही लक्षित वेवसाइट पनि बनाउनु पर्ने नीति सरकारले लिएको बताएका हुन्।

हरेक गाविसमा र नगरपालिकामा स्वयं सेवाबाट एउटा नयाँ काम गर्नुे कार्यको थालनी गर्ने, उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई राष्ट्रिय स्वयं सेवा अभियानमा लगाउने र १० लाख युवालाई राष्ट्रिय स्वयं सेवामा लगाउने सरकारको योजना रहेको र पुलपुलेसा, बाटोघाटो, विद्यालयलगायत विकास निर्माणका लागि त्यस्तो स्वयं सेवा परिचालन गरिने प्रधानमन्त्रीले बताए।

गत आर्थिक वर्षमा ५६ प्रतिशत मात्र भएको पूँजीगत खर्चलाई यस वर्ष बढाइने, आयोजना प्रमुखका कारण आयोजना ढिलाई भए प्रमुललाई कारवाही गरिने, दोषी देखिएका आयोजनाका कर्मचारी तथा ठेकेदारलाई कारवाही तथा दण्डित गर्ने, न्यून गुणस्तरको काम गर्ने कर्मचारी तथा ठेकेदार दुबैलाई कारवाही गर्ने योजना पनि उनले सुनाए ।

नेपाल वायु सेवा निगमका लागि आवश्यक जहाज खरिद गरिने त्रिभुवन विमानस्थल २४ घण्टा नै सञ्चालनमा ल्याइने, निजगढ विमानस्थल निर्माण अघि बढाइने, रोल्पामा युद्ध संग्राहलय, गुरिल्ला पदमार्ग विकास गरिने उनले बताए । विकास निर्माणका लागि नयाँ जग्गा खरिद गर्दा मालपोतकै भाउमा अनिवार्य हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिने, सातै प्रदेशमा एक एक उद्योग क्षेत्र स्थापना गरिने, सिमरामा तयारी पोशाक प्रशोधन केन्द्रको काम तत्काल सुरु गर्ने बताए।

राष्ट्रिय नीति अनुसन्धान प्रतिष्ठानको स्थापना गरी सरकारी नीति निर्माण गर्ने, काठमाडौंका सडकलाई खाल्डाखुल्डी पुरी पिच गर्ने, बाहिरी चक्रपथ निर्माण कार्य अघि बढाइने, उपत्यकाभित्र एउटा स्याटेलाट सिटी निर्माण गर्ने, काठमाडौं–निजगढ दू्रतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, पूर्व–पश्चिम रेलमार्गलगायत गौरवका आयोजनालाई अघि बढाउने, देशभित्र १० ओटा स्मार्ट सिटी निर्माणको काम अघि बढाउनेसमेत उनले बताए । अघिल्ला सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमकै झल्को दिने गरी प्रधानमन्त्रीले देशबासीका नाममा संसदबाट सम्बोधन गरेका थिए ।

 

प्रकाशित: २३ भाद्र २०७३ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App