७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीको स्वास्थ्य गम्भीर

जुम्ला - भान्जा ईश्वर शाहीको उपचारका लागि कालिकोटबाट जुम्ला आएका वीरबहादुर शाही जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सघन कक्षमा पुगे, जहाँ डा. गोविन्द केसी अनशनरत छन् ।

नजिकै पुगेर उनले केसीलाई नमस्कार गरे । केसीले पुलुक्क हेरेमात्रै । उनी बोल्न सकेनन् । शाहीले स्वास्थ्यलाभको कामना गरे । केसीले टाउको हल्लाएर स्वास्थ्यलाभको कामना स्वीकारे।

केसी अनशन बस्न थालेको बुधबार १२ औं दिन पुगेको छ । यस अवधिमा उनी निकै कमजोर भएका छन् । राम्ररी बोल्न सक्दैनन् । भेट्न आउने सर्वसाधारणलाई पुलुक्क हेर्छन् मात्रै । कसैले केही सोधे टाउको हल्लाएर इसारा गर्छन् । इसाराकै भरमा कुराकानी गर्छन्, त्यो पनि कमैमात्र । ‘बिहानको समयमा सुस्त बोल्नु हुन्छ,’ उनको निगरानीमा खटिएकी एक नर्सले भनिन्, ‘दिउँसो भयो भने बोली ठप्पै हुन्छ ।’ ती नर्सका अनुसार उपचारमा संलग्न चिकित्सकले असजिलो भएको छ भनेर सोध्छन् तर डा. केसी बोल्दैनन्, इसाराले नै एस र नो को उत्तर दिन्छन् ।

स्वासप्रस्वासमा देखिएको समस्याले केसीलाई बोल्न असजिलो भइरहेको उपचारमा संलग्न डा. प्रवीण गिरीले जानकारी दिए । ‘स्वासप्रस्वासमा देखिएको समस्याले उहाँलाई बोल्न समस्या भइरहेको छ,’ गिरीले भने, ‘यही समस्याले उहाँले इसारामै बढी कुरा गर्नुहुन्छ ।’ उनलाई बुधबार छातीमा पीडा बढेको छ ।

मुटुको चालसमेत अस्थिर रहेको जानकारी डा. गिरीले दिए । ‘मुटुको चाल तलमाथि भैरहेको छ,’ गिरीले भने, ‘छातीको दुखाइसमेत बढेको छ ।’ सेतो रक्तकोष घटेका कारण केसीलाई संक्रमणको समेत खतरा बढेको गिरीले बताए । रगतमा पोटासियमको मात्रासमेत घट्दै गएको छ ।डा. केसीका मागप्रति सरकार उदासीन बनेका विरोधमा प्रतिष्ठान शिक्षण अस्पतालका चिकित्सकले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर धर्ना दिए ।

‘माग पूरा नभए जुम्लामै मर्छु’

यसैबीच जुम्लामा अनशनरत डा. केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास फेरि विफल भएको छ । सरकारले बुधबार हेलिकप्टरबाट डा. केसीलाई जुम्लाबाट काठमाडौं लैजाने तयारी गरेको थियो ।

दिउँसो तीन बजे डा. केसीलाई काठमाडौं लैजान हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो । तर डा. केसीले जुम्लामै बसेर अनशन गर्ने अडान दोहो¥याएपछि सरकारको तयरी विफल भएको हो । डा. केसीले आफ्ना माग पूरा नभए जुम्लामै मर्न तयार रहेको बताउँदै आएका छन्।

सरकारले नेपाल चिकित्सक संघका पदाधिकारीहरुसँगको समन्वयमा डा. केसीलाई काठमाडौ लैजाने तयारी गरेको थियो । चिकित्सक संघले डा. केसीसँग समन्वय गर्न खोजे पनि उनले नमानेपछि संघका पदाधिकारी जुम्ला आएनन् । ‘प्रधानमन्त्रीका निजी चिकित्सकले डा. केसीलाई काठमाडौंमा ल्याउनुपर्ने र त्यसका लागि चिकित्सक संघका तर्फबाट मलाई जुम्ला जानु भन्नुभएको थियो,’ संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले भने, ‘यो प्रस्ताव आएपछि मैले डा. केसीसँग समन्वय गर्दा उहाँका सहयोगीले काठमाडौं जान नमान्ने बताएपछि हामी काठमाडौंबाट जुम्ला जान रोकियौं ।’

यसअघि पनि केसीको स्वास्थ्य अवस्था बुझ्न आएका चिकित्सक संघका कोषाध्यक्ष बुढाथोकीले काठमाडौं जान आग्रह गर्दा केसीले मानेका थिएनन् । ‘म पहिले पनि डा. केसीको अवस्था बारे बुझेर काठमाडौं फर्किएको छु, उहाँले मान्नु हुन्न ,त्यसैले घुम्नका लागि मात्रै जुम्ला जाने कुरा हुन्न भन्ने जवाफ सरकारलाई दिएको छु,’ उनले नागरिकसँग टेलिफोनमा भने । डा. केसीसँगै रहेका उनका सहयोगी जीवन क्षेत्रीले पनि उनलाई काठमाडौं लैजाने प्रयास सफल बन्न नसक्ने जवाफ दिएका थिए । ‘सर (डा. केसी) लाई काठमाडौं लैजान मसँग प्रस्ताव आएको थियो,’ क्षेत्रीले भने, ‘सर कुनै पनि हालतमा काठमाडौं जान मान्नु हुन्न भनेर जवाफ दिएको छु ।’

यसबाट सरकार डा. केसीसँंग वार्ताभन्दा पनि उनलाई जसरी पनि काठमाडौ लैजान उद्धत रहेको पुष्टि हुन्छ । अनशनको १२ औं दिन बितिसक्दासमेत सरकारले वार्ता समिति बनाएको छैन । बुढाथोकीले डा. केसीका पक्ष भने वार्ताका लागि तयार रहेको जानकारी आफूले पाएको बताए ।

 

प्रकाशित: २८ असार २०७५ ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App