६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप सेमिफाइनल : पहिलो हाफमा क्रोएसियाविरुद्ध इङ्ल्याण्डको अग्रता

रूस – रूसमा जारी विश्वकप फुटबलको दोस्रो तथा अन्तिम सेमिफाइनलमा इङ्ल्याण्ड र क्रोएसियाबीच प्रतिस्पर्धा भएरहेको छ। लुज्निकी रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा इङ्ल्याण्डले १–० को अग्रता लिएको छ।

इङ्ल्याण्डका लागि खेलको पाँचौं मिनेटमा काइरेन ट्रिपियरले गोल गरेका छन्। क्रोएसियाका खेलाडीले इङ्ल्याण्डका जेसी लिंगाडलाई डि बक्स बाहिर लडाएपछि पाएको प्रिकिकमा ट्रिपियरले सुन्दर गोल गरे। पहिलो हाफमा इङ्ल्याण्डलाई दबाबमा राखेपनि क्रोएसियाले गोल गर्न सकेन्। दुवै टोलीले केहि राम्रो मुभ बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

इङ्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २–१ र पानामालाई ६–१ ले पराजित गर्दा बेल्जियमसँग १–० ले पराजित हुँदै समूह ‘जी’ को उपविजेताको रुपमा प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। प्रि क्वाटरफाइनलमा कोलम्बियासँग १–१ को बराबरीपछि टाइबे्रकरमा ४–३ ले विजयी भएको इङ्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेनलाई २–० ले हराएको थियो।

यता क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराउँदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीपछि टाइब्रेकरमा ३–२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको थियो। क्वाटरफाइनलमा रसियासँग २–२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी भएको हो। 

इङ्ल्याण्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन्। यी दुई टोलीबीच यसअघि ७ पटक भेट भएको छ। जसमा इङ्ल्याण्डले ४ खेल जितेको छ। क्रोएसियाले २ खेल जितेको छ भने १ खेल बराबरी भएको छ। प्रमुख प्रतियोगितामा सन् २००४ को युरोकपमा भएको भेटमा इङ्ल्याण्डले क्रोएसियालाई ४–२ ले हराएको थियो।

सन् १९९८ को विश्वकपमा सेमिफाइनलमा पुगेको क्रोएसिया त्यसपछि २००२, २००६ र २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। क्रोएसियाको यो पाँचौ विश्वकप सहभागिता हो।

इङ्ल्याण्ड तेस्रो पटक विश्वकप सेमिफाइनलमा पुगेको हो। तीनै पटक युरोपियन भूमिमा भएको विश्वकपमा इङ्ल्याण्ड सेमिफाइनलमा पुगेको हो।

 

प्रकाशित: २७ असार २०७५ १८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App