coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यापार घाटा १० खर्ब ३३ अर्ब

काठमाडौं – निर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४–७५ को एघार महिनामा व्यापार घाटा १० खर्ब ३३ अर्ब ४ करोड पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत हो। 

आव २०७५–७६ का लागि मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले यस अवधिमा नेपाली कामदारले पठाएको विप्रेषण आप्रवाह ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको बताए। विप्रेषण आप्रवाहको वृद्धि सामान्य रहेको तर व्यापार घाटा फराकिलो हुँदै गएकाले चालू खाता घाटा उच्च हुन गएको उनले उल्लेख गरे। आव २०७३–७४ मा ८२ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति आव २०७४–७५ को एघार महिनामा ४ अर्ब ३४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ। 

बैंकिङ्ग क्षेत्रसँग ९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको जनाइएको छ। विस २०७४ असार मसान्तको तुलनामा २०७५ असार २६ गतेसम्ममा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ६.२ प्रतिशतले अवमूल्यन भई विनिमय दर १०९.६४ कायम भएको छ। आव २०७३–७४ मा भने नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ। 

आव २०७३–७४ यता मुलुकको आर्थिक वृद्धिले लय समातेको उल्लेख गर्दै गभर्नर डा नेपालले आव २०७३–७४ मा आर्थिक वृद्धिदर ७.४ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७४–७५ मा त्यस्तो वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिए। आव २०७४–७५ को शुरुमा तराईमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत रहेतापनि उद्योग क्षेत्रको वृद्धिदर ८.८ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत भएबाट आव २०७४–७५ मा उत्साहजनक आर्थिक वृद्धि हासिल भएको हो। 

आर्थिक वृद्धिमा आएको सुधारसँगै नेपाली अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब पुगेको छ। विगत दुई वर्षयता कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा वृद्धि हुँदै आएको राष्ट्र बैंकले जनाएको छ। विप्रेषण आप्रवाहका कारण आव २०७४–७५ मा कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.९ प्रतिशत रहेको छ। कुल पूँजी निर्माण अनुपातमा विस्तार आई ५१.८ प्रतिशत पुगेको र स्रोत अपर्याप्तता कुल गार्हस्थ्य उत्पादनको ७.८ प्रतिशत रहने देखिएको छ।  (रासस)

प्रकाशित: २७ असार २०७५ १६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App