coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन : विज्ञ

फाइल तस्बिर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ। सो सडकको बुधबार भूगर्वविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो। समूह विस्तृत प्रतिवेदन काठमाडौँ फर्किएर दिने बताइएको छ। 

कोइरालाले भने, “सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुकोे विकल्प छैन।” उनका अनुसार ११ मिटर फराकिलो सडकमध्ये आठ मिटर भासिएको छ। भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उनले बताए। कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत सम्भार गर्न सकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिए। 

काठमाडौँ फर्किएपछि यसअघि सो ठाउँमा रक स्वायल एङ्करिन गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने उनले बताए। मंगलबार बिहानदेखि भासिन शुरु गरेको सो सडकमा भासिने क्रम निरन्तर बढिरहेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताए। भासिने क्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उनले बताए। 

सडक भासिने क्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ। सडकको ३० मिटर लम्बाइ र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो। सो ठाउँमा नौ मिटर कालोपत्र गरिएको छ। कालोपत्रको नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ। 

सोही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो। तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताए। भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ। सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुन सक्ने अनुमान गरिएको छ। हाल सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सोही सडक हुँदै दैनिक १० हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्दछन्। रासस

प्रकाशित: २७ असार २०७५ १६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App