महोत्तरी- जातीय विभेद र छुवाछुत गरेको भन्दै जिल्ला अदालत महोत्तरीले पीडकलाई ६ महिना कैद र १० हजार जरिवाना सहित ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला गरेको छ।
बर्दिवास वडा नम्बर–४ स्थित सार्वजनिक धारामा पानी छोएको निहुमा दलित महिलालाई कुटपिट र दुर्व्यबहार गर्दै जातीय विभेद र छुवाछुत गरेको ठहर गर्दै जिल्ला अदालत महोत्तरीले स्थानीय कमला गिरीलाई ६ महिना कैद, १० हजार जरिवाना र पीडित बृद्धिमाया विश्वकर्मा र मनिषा विश्वकर्मालाई २५/२५ हजारको दरले क्षतिपुर्ति समेत भराउने फैसला गरेको छ।
जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरिको हकमा सो फैसाल सुनाएको हो।
यसका साथै कमला गिरिका १६ वर्ष नपुगेका नावालक नातेदारको हकमा विचार गरेर उनको उमेर अवस्था र वारदातमा रहेको भुमिकालाई देखेर प्रतिवादी कमला गिरिलाई सजय भएकोमा नावालाकलाई आधा सजाय ठहर हुने फैसाल गरिएको छ।
दोस्रो प्रतिवादी नावालक रहेकोले ठहर भएको कैद सजाय नीजले यस्तै प्रकृतिको अर्को कसुर एक वर्ष भित्र गरेमा प्रस्तुत कैद सजाय समेत गाभेर सजाय कार्यान्वय गर्ने गरि बालबालिका सम्बन्धि ऐन २०४८ को दफा ५०(२) वमोजिम सजाय स्थगन गर्ने फैसला भएको र नीजलाई ५ हजार जरिवाना हुने भएकोले सो जरिवाना उनको अभिभावकसंग असुल उपर गरिने फैसला भएको जिल्ला अदालत महोत्तरीका स्रेस्तेदार रामानन्द प्रसाद अधिकारीले बताए।
यस्तो थियो घटना
२०७५ वैशाख १५ गतेका दिन धारामा पानी छोएको आरोपमा स्थानीय बुद्धमाया विश्वकर्मा र उनकी छोरी मनिषा विश्वकर्मालाई कुटपिट एवं गालीगलौजको घटना भएको थियो।
२०७५ बैशाख १५ गतेका दिन साझ साढे ५ बजेको समयमा धारामा पानी छोएको निहुमा कमला गिरि र उनको नातेदारले बर्दिबास नगरपालिका—४ माइस्थान स्थित भब्सीको हवलदार टोलामा बुद्धिमाया तामाङ्गकी छोरी मनिषा विश्वकर्मालाई गालि गलौज गर्नुका साथै कुटपिट गरेका थिए। कमला गिरिकी नातेदारले पानी भरिरहेकै समयमा वुद्धिमायाकी छोरी मनिषा पनि धारामा पानी लिन गाग्रो बोकेर पुगेकी थिइन्। त्यस क्रममा स्थानीय मनिषाले धाराको पक्का छोइदिएको भन्दै गिरिको नातेदारले जातीय रूपमा होच्याउने गाली गरिन्।
देवतालाई चढाउन र खान भरेको चोखो पानी छोएको भन्दै कमलाकी नातेदारले मनिषा विश्कर्मालाई गाली गलौज गर्न थालिन पछि विवाद चर्किएपछी कपाल समाएर लछारपछार गर्दै उनीमाथि कुटपिट गरेका थिए।
तल्लो जातिको भएर किन पानी छोएको भन्दै गाली गरि रहेके वखत कमला पनि धारामा आएर मनिषाई गाली गर्दै कुटपिट गरिन्।
आफ्नो छोरीलाई पानी छोएको निहुमा कुटिनु परेको भन्दै पञ्चायत गरिदिन मनिषाका आमा गाउँका भद्रभलादिमीको गुहार माग्न गएकी थिइन् । बैशाख १६ गतेका दिन बुद्धिमाया न्याय माग्न गाउँमा भौतारी रहेकै बेला भनाभन हुँदा कमलाले सानो जाति भएर बढी कुरा गर्छेस् भनेर आफन्तलाई बोलाएर मनिषाका आमा–छोरीलाई नै लछारपछार र कुटपिट गरेका थिए।
पानी छोएको भन्दै दलित परिवारमाथि गिरी परिवारले बैशाख १५ गते शनिबार र १६ गते आइतबारका दिन नै गालिगलौज र कुटपिट गरेपनि घटना चार दिन पछि बैशाख २० गतेका दिन बाहिर आएको थियो।
त्यस पछि गत वैशाख २१ गते पीडक विरुद्ध इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दिइएको उनले बताए। सोही दिन पीडक दुवै कमला र उनको नातेदारलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि २५ दिन हिरासतमा राख्यो। जातीय भेदभाव र छुवाछूत कसुर र सजाय ऐन २०६८ अनुसार जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गरेपछि थुनछेक बहस भएको थियो।
थुनछेक बहसका क्रममा ७० हजार रुपैयाँ धरौटीमा कमलालाई तथा नाबालक (१६ वर्ष मात्र) भएकाले उनका नातेदार लाई अभिभावकको जिम्मा लगाइएको थियो।
प्रकाशित: २७ असार २०७५ १३:०६ बुधबार