coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

थाई किशोरले फाइनल नहेर्ने

चियाङ राई – दुई हप्ताभन्दा लामो समयपछि गुफाबाट उद्धार गरिएका बाह्र किशोर थाई फुटबलरहरूले रूसमा जारी विश्वकपको फाइनल हेर्ने प्रस्ताव स्वीकार गर्न नसक्ने चिकित्सकहरूले मंगलबार बताएका छन्। 

११ देखि १६ वर्षका ती किशोर र उनीहरूका प्रशिक्षक गुफामा फसेदेखि ब्राजिली महान् खेलाडी रोनाल्डो, इङ्ल्यान्डका जोन स्टोन्स, अर्जेन्टिनाका लियोनेल मेसीलगायतका फुटबलरहरूले उनीहरूको कुशलताको कामना गर्दै सहयोगको तत्परता देखाएका थिए । उत्तरी थाइल्यान्डको थाम लुआङको धापमा हराएका उनीहरू ९ दिनसम्म सम्पर्कविहीन थिए।

जुन २३ मा फुटबल अभ्यासबाट फर्किएर गुफा पुगेका उनीहरूले फुटबलकै जर्सी लगाएका थिए । भेटिँदा एक जनाले इङ्ल्यान्ड तथा अर्का एक जनाले रियाल मड्रिडको जर्सी लगाएका थिए । आइतबार र सोमबार ८ खेलाडीको उद्धार गरिएको थियो भने बाँकी ५ जनालाई मंगलबार उद्धार गरिएको हो।

थाई नाभी सिल्स फेसबुक पेजले उद्धार कार्य सम्पन्न भएको पुष्टि गरेको हो । फेजबुक पेजमा भनिएको छ, ‘सबै १२ किशोर र प्रशिक्षकलाई गुफाबाट बाहिर ल्याइएको छ । सबै सुरक्षित छन् ।’ थाइल्यान्डका ४० र विदेशका ५० गरी ९० जनाको समूह उद्धार कार्यमा सम्मिलित थिए। 

किशोर फुटबलरहरू हराएपछि उनीहरूको सहयोगका लागि सामाजिक सञ्जालमा गरिएको आह्वान भाइरल बनेको थियो । जसबाट प्रभावित भएर फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उद्धार गरिएका किशोरहरूलाई अतिथिका रूपमा विश्वकपको फाइनल हेर्न निमन्त्रणा गरेका थिए।

तर चिकित्सकहरूले लामो समय चिसो पानीमा ढाडिएका बालकहरूको अवस्था तत्काललाई राम्रो भए पनि उनीहरू रूस यात्रा गर्न नसक्ने बताए । उनीहरूको स्वास्थ्य अवस्थामा बिस्तारै सुधार आइरहेको बताउँदै चिकित्सकहरूले कम्तीमा थप एक हप्ता अस्पतालमा राख्नुपर्ने जानकारी गराए। 

‘उनीहरू अझै केही समय अस्पतालमै रहनुपर्छ । त्यसैले उनीहरू अहिले रूस जान सक्दैनन्,’ जुन १५ मा हुने विश्व फुटबलको सबभन्दा ठूलो खेलका लागि आएको निमन्त्रणाबारे सोधिएको प्रश्नमा जनस्वास्थ्य मन्त्रालयका थोनग्चाई लेर्टवाइलाइराटानापोङले भने, ‘उनीहरूले त्यो खेल अस्पतालमै बसेर टेलिभिजनमा हेर्नेछन्।’

फुटबलको सर्वोच्च निकाय फिफाले पनि उद्धार गरिएको १२ थाई किशोरलाई स्वागत गरेको छ भने कमजोरीका कारण विश्वकप फाइनलमा उपस्थित हुन नसक्ने जनाएको छ । ‘स्वास्थ्यस्थितिका कारण किशोरहरू मस्को यात्रा गर्न सकेनन्,’ फिफाले जनाएको छ, ‘फिफाको प्राथमिकता उनीहरूको स्वास्थ्य हो।’

फिफाले अक्सिजनको अभावमा शुक्रबार मृत्यु भएको थाई नाभी सिल्सको परिवारप्रति समवेदना प्रकट गरेको छ। फिफाले भनेको छ, ‘उनको परिवारलाई हाम्रो साथ छ।’ 

प्रकाशित: २७ असार २०७५ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App