coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सम्झनामा ‘शब्द शिल्पी’

‘मन केही लेख्न मानिरहेको छैन । ...अक्षर गुमाएजस्तो, शब्द बिलाएजस्तो, कताकता सिर्जना हराएजस्तो ! विलखबन्द क्षण ! अभिशप्त समय । शोकमग्न वर्तमान ।’ पत्रकार यादव थपलियाको समीक्षाकृति ‘सम्मतिका छालभित्र’को ‘धेरै रोएँ...’ का हरफ हुन् यी । तिनै ‘निष्ठुरी’ यादव, जसले दुई साताअघि साथीसंगी र परिवारजनलाई यी हरफ पुनरावृत्ति गर्न बाध्य पारे।

दुई दिनअघि (असार १३ गते) ज्वरोले च्योपेपछि कुमारी हल नजिकैको डेरामा उनी आराम गरिरहेका थिए । अझै असजिलो भएपछि सिद्धि पोलिक्लिनिकका चिकित्सकको सुझाव अनुसार काठमाडौं मेडिकल कलेज, सिनामंगल पुगेका थिए उनी । त्यसको ४८ घन्टा बित्न नपाउँदै उनले यस धर्ती छाडे । कहिल्यै नफर्कने गरी ‘अनन्त यात्रा’मा महाप्रस्थान गरे । उनको स्वास्थ्य निकै कमजोर बन्न पुगेपछि अस्पताल परिसरमै श्रीमती, आमा, फुपूदिदी, छोरीहरूले आँखाबाट अश्रुधारा बर्साइरहेका थिए । अन्य सदस्य हतास मुद्रामा तलमाथि गर्दै थिए । रनभूल्ल परेका साथीभाइ अस्पतालको प्रांगणमै थिए।

दुई दिनअघि मात्र रेल चढेर नयाँदिल्ली जानेदेखि जीवनका भोगाइबारे लम्बेतान गफ गरेका थिए उनले । कान्तिपुर, नागरिक, नयाँ पत्रिका, स्पेसटाइमलगायत दर्जनभन्दा बढी पत्रपत्रिकामा काम गरिसकेका उनले तिनै भोगाइलाई ‘मैले भोगेका सम्पादक’ पुस्तकमा उतार्न सुरु गरिसकेका थिए।

स्कुले जीवनदेखि नै साहित्य साधनामा सक्रिय उनले टुटेको साहित्य लेखनलाई जोड्ने अनि विवाहको पन्ध्रौं वर्षगाँठमा नयाँ कृति सार्वजनिक गर्ने योजना बुनिसकेका थिए । यी योजनाले मूर्त रूप पाउन सकेनन्, यिनलाई असरल्ल छाड्दै यादव असार पन्ध्रको मध्यदिन सदाका लागि लीन भए।

२०६० साल फागुन २ गते फेब्रअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ (प्रेम दिवस) को दिन थियो । त्यही दिन कवितामय प्रेमपत्र लेख्दै गंगा खतिवडालाई मायाजालमा पारेका थिए उनले।
तिमी हिँड्ने बाटोभरि छरेको छु माया
मुटुभरि मुटु सारी भरेको छु माया
आँखाभरि राखेको छु डाकेको छु माया
मनपर्ने देउतासँग भाकेको छु माया
सपानीमा पनि देख्छु विपनीको छाँया
छाँयासँग पनि उस्तै गरेको छु माया
उकालीमा, आरोलीमा सधैं तिमी छाँया’
करिब दुई वर्षको प्रणय–प्रेमलाई २०६२ साल वैशाख २१ मा विवाहमा परिणत गरेका थिए यादव र गंगाले । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई साक्षी राखेर यादवको उपन्यास ‘मृत्यु चुम्बन’को विमोचनमार्फत् दुई आत्मा एक भएका थिए । त्यहीँबाट अंकुराएको प्रेम पूर्ण रूपमा झ्याँगिन नपाउँदै थपलियाले साथीभाइ मात्र होइन, आफ्नै प्रियसीलाई पनि धोका दिए । आफ्नै वाचा तोड्दै दुई छोरी अनि आमा मात्र होइन, फुपूदिदीलगायत परिवारको जिम्मा गंगालाई सुम्पिएर उनी चीरनिद्रामा परे।

नेपाली भाषा–साहित्यका शिल्पी उनले विभिन्न लेखकमा दर्जनभन्दा बढी किताबलाई भाषिक हिसाबले चम्किलो बनाए । केही पुस्तक चम्काउने क्रममै थिए उनी । विवाहअघि नै ‘हाँडीगाउँले जात्रा’ (कविता संग्रह), ‘सम्मतिका छालभित्र’ समीक्षालगायत किताब बजारमा ल्याएका थिए उनले । ‘मृत्यु–चुम्बन’ (उपन्यास), ‘फर्सीबाको न्याय’ (बालकथा) लगायत उनका अन्य कृति हुन् । उनका कविता, खण्डकाव्य, उपन्यासलगायत कृति प्रकाशोन्मुख छन्।

काभ्रे, खरेलथोकमा २०३५ साल विजयादशमीका दिन जन्मिएका उनी एसएलसी पास गरेपछि उच्चशिक्षाका लागि काठमाडौं आए । फोटोग्राफीमार्फत् पत्रकारितामा प्रवेश गरेका थिए उनले। त्यसबेला यो पेशा दामभन्दा नामका लागि अपनाउने गरिन्थ्यो । त्यसपछि नयाँपत्रिका, नागरिक, कान्तिपुरलगायत मूलधारका पत्रिकामा पनि उनले आफूलाई सधैं पर्दा पछाडि राखेर सम्पादन कर्म गरे, कुशल ‘कपी एडिटर’ को चिनिए । त्यसमै रमाए उनी । समाचारलाई चुस्त सम्पादन गर्ने उनी ‘न्युज सेन्स’ भएका ‘कपीएडिटर’ थिए । आकर्षक शीर्षक राख्ने उनको क्षमता गज्जबको थियो । सहकर्मीले उनलाई ‘शीर्षक शिरोमणि’ भन्दै तारिफ गर्थे । समग्रमा भन्नुपर्दा उनी ‘न्युज रूम’मा पर्दा पछाडिका आधारस्तम्भ थिए । पत्रिकालाई चोटिलो अनि खँदिलो कसरी बनाउन सकिन्छ भन्ने भरपूर कला थियो उनीमा।

समाचार सम्पादकका रूपमा लामो समय काम गरेका उनले कैयौं सहकर्मीका समाचार चुस्त, चोटिलो र खँदिलो बनाए । छोटो र सरल वाक्य लेख्न उनी सहकर्मीलाई झक्झक्याउने गर्थे । सधैं भन्थे, ‘छोटो, सरल, शुद्ध र अर्थपूर्ण वाक्य लेखौं न हो, साथी हो।’

शब्द–चयन, विषयको गाम्भीर्यतामा सचेत रहन्थे उनी । उनी सबैका प्रिय थिए तर, कसैको आफ्ना थिएनन् । कामका मात्र प्यारा थिए उनी।

हाँसेरै आफ्ना असन्तुष्टि र गुनासा व्यक्त गर्नसक्ने अचम्मको क्षमता थियो उनमा । झन्डै दश वर्ष लामो सहकार्यमा एकदिन मात्र उनले रातो अनुहार लगाए । त्यो पनि व्यक्तिगत स्वार्थ र हितका लागि होइन, आफूमातहतका सहकर्मीमाथि भएको अपमानविरुद्ध चित्त दुखाएका थिए । उनीसँग व्यक्तिगत तथा पारिवारिक समस्या, अभाव र असन्तुष्टिका चाङ हुन्थे तर, उनले त्यसलाई कहिल्यै अभिव्यक्त गरेनन् । रात्रि डेस्क प्रमुखका रूपमा लामो समय काम गर्दा बेलाबेला सहकर्मीबाटै उनको आलोचना हुन्थ्यो । त्यसलाई उनी सहज रूपमा स्वीकार गर्दथे तर, जिम्मेवारीबाट कहिल्यै भागेनन् उनी । आफूमातहतका डेस्कका सहकर्मीबाट भएका गल्ती र कमजोरीको जिम्मा आफंै लिन तत्पर हुन्थे उनी।

आदर्शवादी होइन, व्यवहारवादी थिए उनी । भन्नका लागि होइन, गर्नका लागि मात्र उनी भन्ने गर्दथे । सबैलाई समान व्यवहार गर्थे।

कफी पिउन र डाँडाकाडा घुम्न सौखिन उनी ‘रामरस’ छुँदैन थिए । तर, त्यसको तालमा झुम्ने साथीभाइसँग उत्तिकै रमाइदिन्थे । दोस्रो संविधानसभा निर्वाचनका बेला २०७० साल मंसिरमा राति काम सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनाबाट जोगिएपछिको भेटमा उनले निर्धक्क भनेका थिए, ‘अब त सय वर्ष बाँच्छु।’

त्यसको पाँच वर्ष नबित्दै, ४० नकाट्दै उनी यादहरू छाडेर लुसुक्कै यस धर्तीबाट बिदा भए । अचम्भित र हतारको उनको अपत्यारिलो बिदाइको कारण के थियो ? अस्पताल र उपचारमा संलग्न चिकित्सकले अझै स्पष्ट पारेका छैनन् । मृत्युको कारण बताइएको ‘भाइरल इन्फ्लुएन्जा’ परीक्षणका क्रममा असत्य साबित भएको छ, सत्य चाहिँ उनको निधन । तर, यही ‘तितो सत्य’ पत्याउन धेरैलाई अझै गाह्रो भइरहेको छ । उनका साथीसंगी र सहकर्मी मनमनै शम्भु राईको गीत गुनगुनाइरहेका छन् :
चिट्ठी तिमीलाई लेखूँ भन्छु
मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो
यो आँखाले हेरिरह्यो, मनको कुरा मनमै रह्यो।

प्रकाशित: २७ असार २०७५ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App