१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देवगणको फुटबल रहर

भक्तपुरका बालकृष्ण बनमालाले ७ वर्ष अगाडी बनाएको नवदुर्गा देवगणका श्वेतभैरवले फुटबल खेल्दै गरेको चित्र।

भक्तपुर - इनाचोका ३३ वर्षीय कृष्णप्रसाद बनमालाले नवदुर्गा देवगणमा देवताको भूमिका निभाउन थालेको दुई दशकभन्दा बढी भइसक्यो। १३ वर्षको उमेरमा सिंह–दुम्भको भूमिका लिएका उनले ८ पटक गणेश, ४ पटक महेश्वरी, २ पटक महाकाली र महालक्ष्मी तथा एक पटक भद्रकालीको स्वरुपमा आफ्नो भूमिका निभाइसकेका छन्।

एक महिना अगाडिसम्म महेश्वरीको भूमिकामा रहेका उनी साउनको अन्तिम साताबाट पुन गणेशको भूमिका निभाउँदै छन्। हिजोआज भने उनी दर्शक बनेर विश्वकपको फुटबलको रमाइलो लिँदै छन्। ‘फुटबल मेरो सानैदेखिको रहर हो,’ बनमाला युवा टिमका सदस्य समेत रहेका उनले भने, ‘विश्वकपका हरेक खेल ध्यान दिएर हेर्दैछु।’

धर्म र संस्कृती जोगाउन देवताको भूमिकामा देखापरेका उनी फुटबल हेर्नु–खेल्नु आफ्नो रहर रहेको सुनाउँछन् । ‘धर्म संस्कृतीको रक्षाको लागी देवताको भूमिका निर्वाह गर्दैछौैं,’ ८ पटकसम्म गणेश भगवानको भेषमा नाँच्दै आएका कृष्णप्रसाद बनमालाले भने, ‘फुटबल भने मेरो मनभित्रको रहर हो।’

देवी देवताको भूमिकामा रहँदा पनि आफ्ना रहर कायमै रहेने उनले सुनाए । ‘जुनसुकै देवी देवताको स्वरुपमा हुँदा पनि फुटबलको रहर हटेको छैन,’ उनले भने, ‘झन यो बढेर गएको छ।’

उनी मात्र हैन, भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणमा रहेका १९ सदस्यमध्ये धेरैले फुटबल मन पराउँछन्। मुख्यतया नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ । जसमा १३ जना विभिन्न देवीदेवता हुन्छन्। जात्राको समयमा सर्वसाधरणले उनीहरुलाई देवता मानेर पूज्ने, दक्षिणा चढाउने तथा भोज खुवाउने गर्छन्।

‘खासमा हामी ‘जिवित देवता’ नै हो,’ कृष्णप्रसाद भन्छन्, ‘तर हाम्रा समस्याहरू अनगिन्ती छन्।’ यही समस्या भए पनि आफ्नो रहर पूरा गर्न लागिपरेको उनले सुनाए । सालभरि विभिन्न देवी देवताको भूमिका निभाउने उनीहरु अहिले फुर्सदको समयमा खेतीपातीसँगै फुटबलको रमाइलो लिन्छन् । ‘युवाहरुमा यो खेलप्रतिको रुची धेरै छ,’ उनले थपे, ‘बुढापाकालाई भने खासै वास्ता छैन।’

उनीहरुको यही रहर बुझेरै होला ७ वर्ष अगाडि वालकृष्ण बनमालाले श्वेतभैरवले बुट लगाएर फुटबलतर्फ बढ्दै गरेको चित्र कोरेका थिए। आर्ट ग्यालरीमा प्रदर्शनीमा समेत राखिएको सो चित्रले धेरैको ध्यान खिच्यो। कतिपयले उनलाई धर्मप्रति व्यंग्य गरेको आरोप पनि लगाए।

‘म आफैं पनि बाल्यकाकालमा नवदुर्गा देव गणमा सहभागी थिएँ,’ फाइन आर्टमा एमए गरेका उनले भने, ‘यो चित्रमार्फत मैल आफ्नै रहर व्यक्त गरेको हुँ।’ धर्मसंस्कृतीको रक्षाका लागि आफ्नो खेल, पढाइ र अन्य इच्छा त्यागेका गणहरुको रहर भने मनमै रहने गरेको उनले सुनाए । उनका बुवा देवगणका नाइके हुन भने दाजु पनि देवगणमै सहभागी छन्।

उनको कुरामा समर्थन गर्छन् ४५ वर्षीय रामगोपाल बनमाला पनि । ८ वर्षकै उमेरबाट देवगणमा छिरेका उनले पनि जीवनमा विभिन्न भूमिका निभाउँदै आएका छन् । उनले पनि बाराही, गणेश, ब्रम्हायणीको भूमिका निभाइसकेका छ्न्। ‘हाम्रो परिवारमा त विश्वकप फुटबल हेर्नेका लागी ठूलो टिभी किनेर ल्याएका छौं,’ उनले भने, ‘अन्य समयमा देवताको भूमिका निभएका पनि अहिले हामी फुटबलको दर्शक भएका छौं।’

देवगणका उनीहरु मन परेका टिम पनि छन्। तर ती टिमको जीत हारको लागी उनीहरुले प्रार्थना भने गर्ने गरेका छैनन् । आफ्नो मन परेको टिम हारे पनि खेल हेर्न छाडेका छैनन्। ‘प्रार्थनाले हैन खेलेरै जित्ने हो,’ जर्मनको पक्षमा उभिएका कृष्णप्रसादले थपे, ‘अब जसले राम्रो खेल्न उसैको पक्षमा उभिने छु।’

नवदुर्गा देवगणमा भैरव, महाकाली , वाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव र नन्दी भृंगी गरी १३ मुकुण्डोसहित नाच प्रदर्शन गरिन्छ। त्यस्तै खिं बाजा, ताः बाजा, कायँःबाजा, महापात्र र नकीं गरी १९ जनाको समूह हुन्छ। करीब ६ महिना नियमित रुपमा सञ्चालन गरिने यो नाच तान्त्रिक विधि मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कार रहेको भावप्रधान नाच मानिन्छ। जसमा निश्चित भाव संकेतद्वारा संवाद प्रस्तुत गरिन्छ।

भक्तपुरमा प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीमा उत्पत्ति नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाउने मान्यता छ। त्यस्तै भलभल अष्टमीको दिन नवदुर्गा जलमा प्रवेश गरी जात्रा समापन गरिन्छ।

प्रकाशित: २७ असार २०७५ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App