coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलानले निल्यो सयौं बिघा जमिन

धार परिवर्तन गरेर पश्चिमतर्फ लागेको बलान नदीका कारण कटान भएको खेतीयोग्य जमिन। तस्बिर : मिथिलेश/नागरिक

भगवानपुर - सिरहा सखुवानन्कारकट्टी गाउँपालिका इटहर्वा टोलका बिहारी यादव एक दशकअघिसम्म जमिनदार थिए। गाउँभन्दा पूर्वमा उनको सात बिघाको एउटै कित्ता थियो । अहिले भने बिहारीको पहिचान फेरिएको छ। उनीसँग करिब १० बिघा जमिनको लालपुर्जा छ तर जमिन छैन । सात बिघाको कित्ता बलान नदीले निलेपछि उनको पहिचान फेरिन पुगेको हो।

यही गाउँका हरि यादवको परिवार पनि जमिनदार थियो । सगोलमा उनको परिवारसँग करिब २२ बिघा जमिन थियो। अहिले भने उनको अवस्था पनि बिहारीकैजस्तो भएको छ । यसको कारण हो– बलान नदीको फेरिएको धार।

एकताका गिरहत (जमिनदार) का गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय फेरिएको छ। बलान नदी पश्चिमतर्फ मोडिएर खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान चिन्तित छन्। भगवानपुर, सखुवानन्कारकट्टी र तिलेबोना अन्न उत्पादनका हिसाबले उम्दा थिए । घना बस्ती रहेको यी गाउँका गिरहतका लागि वरदान मानिने बलान पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको छ। विगतमा धान र गहँुको बाला झुल्ने खेत अहिले बलान नदीमा मिसिएको छ । भगवानपुर गाउँपालिका वडा नम्बर १ का सदस्य श्रीप्रसाद पण्डितले भने, ‘यो नदीले हामीलाई रित्तो बनाइदियो।’

पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। तर २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो । नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो । ‘डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन’, पण्डितले भने, ‘प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ।’

‘झन्डै सात फिट गहिराइबाटै नदीले खेतलाई काटेर निल्दै छ,’ पण्डितले थपे, ‘गाउँको नामबाहेक सबैथोक मेटिँदैछ। कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाउनुभयो । हेर्दाहेर्दै खेतसँग परिवारको हरियाली पनि ओइलियो।’ गाउँको छेउमै बग्ने बलान नदीको पानीले भगवानपुर, इटहर्वा, तिलेबोना र गढियाका करिब पाँच सय बिघा खेतमा सिँचाइ हुन्थ्यो। नदीले धार परिवर्तन गरेसँगै त्यो खेत सबै बगर बन्यो । ‘जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो,’ पण्डितले भने।

दुई दशकअघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो। ‘त्यति बेला बढीमा २० फिट चौडा थियो,’ पण्डित भन्छन्, ‘अहिले त गाउँ नै निल्न आँट्यो, कति चौडा भयो, अन्दाज गर्नुस्।’ बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ। पछिल्लोपटक आएको बाढीले नदीको पश्चिमी किनार कटान सुरु गरेको छ। चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन। चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका जमिनदार बताउँछन्।

बलान नदीले पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतर्फ हानिँदा भगवानपुर गाउँपालिकाका १ र ४, सखुवानन्कारकट्टीका ५ र ४, लहान नगरपालिकाका २१, २३, २४ र २५ नम्बर वडा जोखिममा परेका छन्। एक साताअघि बलान नदीको बाढीले यी वडाहरुको करिब तीन सय बिघा खेतीयोग्य जमिन कटान गरेको स्थानीयको अनुमान छ।

बलान नदी धार परिवर्तन गर्दै गाउँतर्फ हानिएपछि रोकथामका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानले उपभोक्ता समितिमार्फत तटबन्ध लगाउने काम सुरु गरेको छ। कार्यालयका प्रमुख इन्जिनियर महेशकुमार साहका अनुसार इटहर्वामा तटबन्ध निर्माणको काम जारी छ। यस क्षेत्रमा ४ सय ६५ मिटरजतिमा नदी रोकथामको काम भएको उनले बताए । तारजालीभित्र ढुंगा हालेर किनारमा ठड्याउने र बाँस गाढेर कटान नियन्त्रणको उपाय गरिएको उनले बताए । यसका लागि कार्यालयले करिब १ करोड ३ लाख खर्च गर्दैछ।

प्रमुख इन्जिनियर साहका अनुसार चुरे मूल भएका नदीको बाढी नियन्त्रण गर्न चुरे दोहन नै रोक्नुपर्छ। जबसम्म चुरेमा दोहन रोकिँदैन तबसम्म तल्लो भूभागमा नियन्त्रणका लागि जतिसुकै काम गरे पनि टिकाउ हुन्न।

धरापमा बाहुना गाउँ
सिरहा, सप्तरी र उदयपुरको संगमस्थल हो सप्तरीको बाहुना गाउँ। यो गाउँ सुरुंगा नगरपालिका–२ अन्तर्गत पर्छ। ३ सय ० घरधुरी रहेको यो गाउँ पछिल्लो समय बाढीका कारण अस्तित्व जोगाउन संघर्ष गर्दैछ । चुरेको फेदमै अवस्थित बाहुना गाउँको पश्चिमबाट चुरे मूल भएर खहरे (बलान खोला) बग्थ्यो। यो खहरे खोला बाँधेर कमलपुर, बाहुना, कोल्टेलगायतका किसान खेतमा सिँचाइ गरी प्रशस्त धान फलाउँथे। २०६४ सालमा सप्तरीको तत्कालीन मधुपट्टी गाविस कदमहामा बिएस एन्ड सिएनसी जेभी नामक क्रसर कम्पनी स्थापना भयो। कम्पनीले भारतको राष्ट्रिय राजमार्ग निर्माणका लागि निर्माण सामग्री आपूर्तिको जिम्मेवारी पाएको थियो। त्यसपछि चुरे उत्खनन सुरु भयो । ०६६ सालसम्म त्यो क्रसर कम्पनीले यस क्षेत्रको ढुंगा खोसे्रपछि बलान नदी बस्तीतर्फ सोझियो। सोही कारण अहिले यो गाउँ बाढीको चपेटमा परेको छ।

बढ्दो उत्खननले चुरेबाट निस्केका खहरेको संख्या बढ्दै गएको जानकार बताउँछन् । जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ । चुरे विनाश रोकेर संरक्षण तीव्र नबनाएसम्म खतराबाट पार पाउन कठिन हुने प्रमुख इन्जिनियर साहले बताए।

प्रकाशित: २७ असार २०७५ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App