coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करोडाैं ठगी आरोपमा गजमेर पक्राउ

ठगी आरोपमा पक्राउ परेका अनिल गजमेर। तस्बिर : नागरिक

काठमाडौं - माई इन्भेस्टमेन्ट कम्पनीका नाममा वित्तीय कारोबार गरी ७ करोडभन्दा बढी ठगी अभियोगमा एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले १ सय ११ जनाले दिएको उजुरीको आधारमा माई इन्भेस्टमेन्ट कम्पनीका नाममा करोडौं रुपैयाँ उठाएर ठगी गरेको अभियोगमा अनिल गजमेरलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले गजमेरलाई ठगी मुद्दामा पक्राउ गरिएको पुष्टि गरे।

यसअघि पनि गजमेरविरुद्ध प्रहरी कार्यालयमा ठगी गरेको भन्दै उजुरी परेको थियो। उनी त्यति बेला राजनीतिक शक्तिकेन्द्रको आडमा छुट्न सफल भएका थिए। प्रहरीमा उजुरीको संख्या बढ्दै गएपछि परिसरले गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराएर पक्राउका लागि अनुमति लिनुपरेको थियो। प्रहरीका अनुसार सुनीता बज्राचार्य, अञ्जना बज्राचार्य, वीरबहादुर गुरुङ, रामबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङलगायतका १ सय १५ जनाले गजमेरले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्। गजमेरले विभिन्न व्यक्तिसँग ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए।

यसअघि पनि अनिल गजमेरविरुद्ध प्रहरी कार्यालयमा ठगी गरेको भन्दै उजुरी परेको थियो। उनी त्यति बेला राजनीतिक शक्तिकेन्द्रको आडमा छुट्न सफल भएका थिए।

सुरुमा गजमेरविरुद्ध एक महिलाले ठगी गरेको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरी कार्यालयमा उपस्थित भएका गजमेर प्रहरी र ती महिलालाई धम्क्याएर छुट्न सफल भएका थिए। उनले खेलकुद मन्त्री जगत विश्वकर्मालाई लगाएर गृहमन्त्री थापाको आग्रहमा कारबाहीबाट बच्ने उपाय गरेका थिए।

गजमेरले केही समयदेखि काठमाडौंको कालिका टावरमा माई इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्दै आएका छन्। उनको कम्पनीले वित्तीय कारोबारको अनुमति नलिएको प्रहरीले जनाएको छ। गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दा दर्ता भएको छ। २०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका थिए । गत वैशाख २३ गते कास्की जिल्ला बस्ने भुसालजंग कुँवरले ७० लाख २३ हजार ५ सय रुपैयाँ बराबरको बिगो रकमसहित गजमेरविरुद्ध ठगी मुद्दा दर्ता गराएका छन्। कम्पनीविरुद्ध ४५ लाख ५१ हजार रुपैयाँ बिगो सहित २०७४ पुस २८ गते सिन्धुलीका लोकहरि पौडेलले दिएको ठगी मुद्दा अदालतमा विचाराधीन छ। वीरबहादुर गुरुङले पनि ३९ लाख रुपैयाँबराबरको बिगोसहित मुद्दा दर्ता गराएका छन्। समीर रिमाल एक्लैले आफ्नो ५४ लाख ठगी भएको उजुरी दिएका छन्।

काठमाडौं परिसरमा मेनपावर व्यवसायी राधिका कटुवालले एक महिनाअघि गजमेरबाट ठगिएको भन्दै उजुरी दिएकी थिइन्। उनले दिएको उजुरीमा मुनाफा छुट्टै दिने भन्दै गजमेरले ३५ लाख रुपैयाँ लगानी गर्न लगाएका थिए। तर उनले आफूले मुनाफा त के सेयर पनि नपाएको भन्दै ठगिएको उजुरी दिएकी थिइन्। त्यस विषयमा प्रहरीले बोलाएर बुझे पनि गजमेरले प्रहरीकैविरुद्ध उजुरी दिएर बच्न खोजेका थिए । प्रहरीका अनुसार उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर माई इन्भेस्टमेन्ट कम्पनी खोले पनि अहिलेसम्म लेखापरीक्षणलगायतका कुनै पनि कार्य गरेका छैनन् । उनले पैसा संकलन गर्ने र वित्तीय कारोबार गर्ने अनुमति पनि लिएका छैनन्।

प्रकाशित: २७ असार २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App