६ वैशाख २०८१ बिहीबार
राजनीति

आचारसंहिता पालन गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘विकास साझेदारी’का विषयमा छलफल गर्दा नेपालको कूटनीतिक आचार संहिताअनुसार आधारिक बाटो प्रयोग गर्न कूटनीतिक समुदायलाई आग्रह गरेका छन्। काठमाडौंमा रहेका कूटनीतिक समुदायलाई मात्र आमन्त्रण गरिएको एक रात्री भोजलाई सम्बोधन गर्दै उनले नेपालले कूटनीतिक आचारसंहिता निर्माण गरिसकेको जनाउँदै त्यसलाई पछ्याउन भनेका हुन्।

‘संविधानमै संघीय सरकारको विदेश मामिलासम्बन्धी सबै विषयवस्तु किटान गरिएको छ। यसैका आधारमा हामीले आचारसंहिता बनाएका छौं र विकास साझेदारीका विषयमा छलफल गर्दा सञ्चारको आधिकारिक माध्यम अपनाउन हामी कूटनीतिक समुदायलाई सुझाव दिन्छौं,’ सरकारका पछिल्ला गतिविध कूटनीतिक समुदायलाई जानकारी दिने उद्देश्यले सोमबार राति आयोजित रात्री भोजमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यो प्रक्रियामा सघाउन परराष्ट्र मन्त्रालय तपाईंहरूसमक्ष उपलब्ध हुनेछ।’

राजनीतिक संक्रमणको अन्त्यसँगै नेपालमा राजनीतिक स्थीरताको युगको उदय भएको उनले बताए। वर्तमान सरकारले नजिकका छिमेकी राष्ट्र, प्रमुख शक्ति राष्ट्र, विकास साझेदार, वैदेशिक रोजगारका गन्तव्य राष्ट्र, संयुक्त राष्ट्रसंघ र बहुपक्षीय वित्त संस्थासँग निकट रहेर कार्य गर्न चाहेको उनले स्पष्ट पारे।

‘नयाँ सरकार गठन भएको केही महिनामै हाम्रो राष्ट्रिय प्राथमिकताको क्षेत्रमा छिमेकी राष्ट्रसँग आपसी विश्वास र सहयोग प्रबद्र्धन गर्न सफल भएका छौं,’ मन्त्री ज्ञवालीले भने । सबै महादेशका मित्र राष्ट्रहरूसँग पनि साझेदारी र भेटवार्ता नविकरण गरिएको उनले बताए । पछिल्लो समय नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्काको देशमा गरेको भ्रमणले आपसी विश्वास र सद्भाव बृद्धि गरी द्विपक्षिय सम्बन्धलाई थप मजबुत बनाउन सफल भएको दाबी उनले गरे।

‘समानता, आपसी हित, सम्मान र फाईदाको सिद्धान्तको आधारमा जारी सहयोग र साझेदारीलाई थप मजबुत बनाउने सहमती हामीबीच (नेपाल र भारत) भएको छ । कृषि, रेल मार्ग , जलमार्ग लगायतका क्षेत्रमा थप साझेदारी बढाउने सहमति समेत भएको छ,’ उनले भने।

मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको सफल भ्रमण गरेको जनाए। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआई) समझदारीपत्रमा हस्ताक्षर भएअनुसार कनेक्टीभिटीलाई बढावा दिने कुरामा सहमति भएको समेत बताए। हिमाल वारपार बहुआयमिक कनेक्टीभिटी नेटवर्कको फ्रेमवर्कमा रहेर ड्राइपोर्ट, सडक, रेलमार्ग, हवाई मार्ग र सञ्चारको क्षेत्रमा चीनसँग महŒवपूर्ण समझदारी बनेको उनले जनाए। ‘यसले अन्तरदेशीय साझेदारीमा नयाँ युगको प्रारम्भ गर्ने विश्वास हामीले लिएका छौं,’ उनले भने।

प्रकाशित: २७ असार २०७५ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App