coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

काठमाडौं- सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ।

वित्तीय संस्थाले चालु आर्थिक वर्षको असार मसान्तभित्र साँवा र ब्याज तिर्न दबाब दिएपछि लगानीकर्ताले सेयर बिक्री गरेरै भए पनि भुक्तानी गर्दा सेयर बजार ओरालो लाग्न पुगेको हो।

बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा ऋण लिनेले चालु आर्थिक वर्षभित्रमा बुझाउनुपर्ने साँवा ब्याज बुधबार (आज) सम्म बुझाउन सक्ने सेयर लगानीकर्ता संघका महासचिव जगन्नाथ पुडासैनीले नागरिकलाई बताए ।
बैंक तथा वित्तीय संस्थाहरु आर्थिक वर्षको अन्त्यमा भएको नाफा–घाटाको हिसाब–किताब गर्ने अन्तिम तयारीमा जुटेका छन् । अर्थिक वर्ष समाप्त हुनुअघि नै ब्याज भुक्तानी गर्नुपर्ने बाध्यता सेयर लगानीकर्तालाई छ।

असारको अन्त्यमा सेयर बिक्रीको चाप बढेको स्टक ब्रोकर बताउँछन् । लगानीकर्ताहरु सेयर बिक्री गरेर ब्याज बुझाउने तयारीमा जुटेको एक विश्लेषकले बताए । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नेभन्दा पनि ऋण उठाउने समय भएकाले लगानीकर्ता सेयर खरिद गर्नेतिरभन्दा पनि बिक्री गर्नेतिर लागेको देखिन्छन् ।’ बैंकले ब्याज भुक्तानी गर्न दबाब दिएका कारण सेयर बजारमा गिरावट आएको उनको भनाइ छ।

नेप्से ओरालो लाग्नुको एउटा कारण असार मसान्तको प्रभावलाई लिने गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लाग्नुले पनि ब्याजको दबाब सेयर लगानीकर्ता परेको स्पष्ट संकेत गर्छ ।
वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले १५–१६ प्रतिशत ब्याजदरमा सेयर धितोमा ऋण दिएका छन् । बैंकले मुद्दती खातामै ११ प्रतिशत ब्याज दिन थालेपछि कर्जाको ब्याज बढेको हो।

एकातिर ऋणको ब्याज बढ्नु अर्कोतिर मार्जिन कललाई घटाएका कारण सेयर बजार निरन्तर ओरालो लागेको ब्रोकरको भनाइ छ।लगानीयोग्य पुँजी भएको बेला बोलाएर ऋण लिन ताकेता गर्ने बैंक तथा वित्तीय संस्था अहिले लगानीकर्ता ऋण माग्न गए नयाँ आर्थिक वर्षमा मात्रै आउनु होला भन्दै फर्काउाछन् । यस्तो अवस्थाले पनि सेयर बजारमा भारी गिरावट आएको हो।

वित्तीय संस्थाहरुले सेयर लगानीकर्तालाई ऋणको ब्याज असार समान्तसम्ममा बुझाउन ताकेता गरिरहेको लगानीकर्ता बताउँछन् । उनीहरु कम मूल्यमा सेयर बिक्री गरेरै भए पनि ब्याज तिर्न बाध्य छन् ।सेयर बजारमा गिरावट आउनुमा ब्याज भुक्तानीको कारण मात्र नभएको पुडासैनीको भनाइ छ ।‘लगानीको वातावरण लगायत लगानीका लागि चाहिने सबै परिसूचकहरु सकारात्मक भएकाले बजार घट्न पर्ने कारण छैन,’ उनले भने, ‘शान्ति, स्थायित्व र विकासका सम्भावना देखिएकाले पनि सेयर उकालो लाग्ने सम्भावना छ।’

नेप्सेसँगै सेयर कारोबार रकम पनि घट्दै गएको छ । कारोबार रकम घट्नुपर्ने कारण नभएको एक लगानीकर्ताले बताए । सामान्यतया असोजदेखि कम्पनीको वार्षिक साधारणसभा हुने र लाभांश पनि वितरण गर्न थाल्ने भएकाले पनि बजार घट्नुको कारण नभएको लगानीकर्ताको भनाइ छ।

साँवा, ब्याज बुझाउन समस्या परेका तथा छोटो समयका लागि खरिद गर्ने लगानीकर्ताले सेयर बिक्री गरिरहेको र दीर्घकालीन लगानीकर्ताले बजार घट्नुलाई अवसरको रुपमा लिएर सेयर खरिद गरिरहेको ब्रोकरहरुको भनाइ छ ।
आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय वितरणमा अधिकांश कम्पनीले नाफा बढाएको र चौथौ त्रैमासमा पनि कम्पनीहरुको वित्तीय विवरण राम्रो आउने सम्भावना भएकाले बजार धेरै नघट्ने ती विश्लेषकले बताए ।

प्रकाशित: २७ असार २०७५ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App