coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राज्यका प्रतिपक्ष, जनताका नायक

जुम्ला - जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सरकारको बलियो प्रतिपक्षका रूपमा देखापरेको छ। सरकारी स्वामित्वको यो प्रतिष्ठान कसरी सरकारविरोधी भयो त? जबाफ स्पष्ट छ, प्रतिष्ठानले जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीलाई साथ दिइरहेको छ। केसी प्रतिष्ठानमा विगत ११ दिनदेखि अनशन बसिरहेका छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘सरकारी स्वास्थ्य संस्था सरकारकै विपक्षमा उभिएको छ।’ उनका अनुसार डा. केसीको अनशनका पक्षमा रहेकै कारण प्रतिष्ठान प्रतिपक्षी देखिएको हो। ‘डा. केसीको आन्दोलनलाई सघाउ पु¥याएर सरकारकै विरोधमा उत्रनु प्रतिष्ठानको भूमिका प्रतिपक्षी नै हो’, पौडेलले भने, ‘सरकारी संस्थाले सरकारविरोधी आन्दोलनलाई सघाउ पु-याउन सुहाउँछ?’

प्रतिष्ठानले भने डा. केसीको स्वास्थ्य हेरचाह गर्नु आफ्नो दायित्व रहेको जनाएको छ। डा. केसीको स्वास्थ्यमा आफूले निरन्तर निगरानी गरिरहेको बताउँदै प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले भने, ‘हाम्रो यो भूमिकालाई प्रतिपक्ष भनेर कसैले देखेको छ भने हाम्रो भन्नु केही छैन ।’ जुम्ला प्रशासनको नजरमा डा. विद्रोही हुन्। अनशन सुरु गर्न जिल्ला प्रशासनको बाटो भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

‘सरकारले डा. केसीलाई किन पेल्न खोज्दै छ? उनलाई पेल्नु भनेको यहाँका सर्वसाधारण नागरिकलाई पेल्नु हो। सरकारले डा. केसीको जीवनरक्षाका लागि बेलैमा सोचोस्।’

चिकित्सा शिक्षा सुधार माग गर्दै जुम्लामा १५ औं पटक अनशन बसिरहेका डा. केसीलाई यहाँका सर्वसाधारणले समर्थन गरेका छन्। प्रतिष्ठानमा उपचारका लागि आएका सर्वसाधारणले डा. केसी आफूहरुका लागि अनशनमा बसिदिएको भन्दै उनको आन्दोलनमा ज्यानकै बाजी लगाउन तयार रहेको बताएका छन्।

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले डा. केसीलाई प्रतिपक्षकै नजरले हेरेका छन्। उनको आन्दोलनका मुद्दा प्रतिपक्षी नेपाली कांग्रेसले उठाएकै कारण डा. केसीमाथि प्रतिपक्षको शंका हुनु स्वाभाविकै भएको महतले बताए। ‘उहाँको आन्दोलनलाई प्रतिपक्षले अनावश्यक मुद्दा बनाइदियो’, महतले भने, ‘प्रतिपक्षको यो भूमिकाले उहाँमाथि पनि आशंका गर्ने ठाउँ स्वाभाविकै रूपमा निम्तिएको हो।’ उनले डा. केसीका मागलाई जायज र स्वाभाविक देखेका छैनन्। डा. केसीका माग यसअघि नै पूरा भइसकेको दाबी उनको छ। सांसद महतले केसी अनशन बस्दैमा उनका माग पूरा नहुने बताए। उनले भने, ‘डा. केसीको हठले निकास निस्कन्न, उहाँको जिद्दीपन सान्दर्भिक भएन।’ डा. केसी वार्तामा आउनै नचाहेको आरोपसमेत उनले लगाए । उनले भने, ‘आन्दोलन गरिसकेपछि त सहमतिको प्रक्रियामा पनि आउनुप-यो नि।’ डा. केसी भने माग पूरा नभएसम्म जुम्ला नछोड्ने अडानमा छन् । उनले भने, ‘माग पूरा भए म अनशन तोडेर तत्काल काठमाडौं फर्किन्छु।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा डा. केसीले राखेको माग सान्दर्भिक नभएको सांसद महतको दाबी छ। प्रतिष्ठानमा एमबिबिएस पढाइ हुनुपर्ने केसीको मागप्रति उनले भने, ‘प्रतिष्ठानका नाममा जग्गा पास हुन सकेको छैन। पढाइका लागि भौतिक संरचना निर्माण बाँकी नै छ। उपकरणको समस्या उस्तै छ। यी विषयको तयारी नगरी कसरी एमबिबिएस पढाइ सुरु हुन्छ?’

प्रतिनिधिसभाकी अर्की सांसद गंगा थारूले संसद्मै डा. केसीको राजीनामा माग गरिन्। कांग्रेसको कवच बनेर सरकारविरुद्ध आन्दोलनमा उत्रने सरकारी चिकित्सकले पनि राजीनामा दिनुपर्ने उनको भनाइ थियो। डा. केसीको राजीनामा माग किन गरेको भन्ने जिज्ञासामा सांसद थारूले नागरिकसँग भनिन्, ‘कुनै पार्टीको कवच बनेर सरकारविरुद्ध आन्दोलन गर्ने चिकित्सक कसरी सरकारी हुन सक्छ ? यसर्थ राजीनामा दिनुपर्छ भनेको हुँ।’ संसद्भन्दा डा. केसी माथि नरहेको उनको भनाइ छ। उनले भनिन्, ‘जे निर्णय गर्छ संसदले गर्छ र त्यो जनतामुखी निर्णय हुन्छ, तर डा. केसीको मेरो गोरुको बाह्रै टक्का अब चल्दैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीसमेत डा. केसीप्रति क्रुद्ध छन्। डा. केसीलाई सिंगो व्यक्तिका रुपमा अथ्र्याउँदै प्रधानमन्त्री ओलीले आइतबार चिकित्सक संघका पदाधिकारीसँग भनेका थिए, ‘एक्लो व्यक्तिले यसो गर् भनेर भन्दैमा सरकारले गर्ने कुरा हुँदैन।’

सरकार र सरकार समर्थितले डा. केसीलाई प्रतिपक्षको भूमिकामा रहेको आरोप लगाए पनि यहाँका सर्वसाधारणका लागि भने उनी नायकका रुपमा प्रस्तुत भएका छन्। जुम्ला तिलाका पदम शाहीले भने, ‘उहाँ प्रतिपक्ष बनेर जुम्ला आउनुभएको हो। उहाँसँग कुनै पार्टीको झन्डा मैले देखिनँ। तर सरकारले कसरी प्रतिपक्षीको आरोप लगायो ?’ सर्वसाधारण नागरिकको स्वास्थ्य हितका लागि जुम्ला आइपुगेका डा. केसीलाई प्रतिपक्षको देखेर आफ्नो खराब चरित्र देखाएको भन्दै उनले सरकारको आलोचना गरे । ‘सरकारले डा. केसीलाई किन पेल्न खोज्दै छ ?’ उनले भने, ‘ डा. केसीलाई पेल्नु भनेको यहाँका सर्वसाधारण नागरिकलाई पेल्नु हो । सरकारले डा. केसीको जीवनरक्षाका लागि बेलैमा सोचोस्।’

जुम्ला खलंगाका मयालाल देवकोटाले डा. केसीलाई प्रतिपक्ष देख्ने प्रधानमन्त्री ओलीको भूमिकाप्रति आपत्ति जनाए। उनले भने, ‘प्रधानमन्त्रीले अहिले डा. केसी प्रतिपक्ष बनेर पार्टीको झन्डा बोकेको देखेका छन्। ओली प्रतिपक्षमा हुँदा किन डा. केसीको साथमा छु भनेर प्रचार गरेका हुन्?’ जुम्लाको नाजुक स्वास्थ्य अवस्था सुधार माग गर्दै यहाँका स्थानीय आन्दोलित हुनुपर्नेमा डा. केसीले आन्दोलन थाल्नु यहाँका जनताका लागि भगवान् साबित भएको उनले बताए।

स्थानीय राधिका डाँगी डा. केसीको स्वास्थ्य अवस्थाबारे चिन्तित छिन्। डा. केसी बोल्न नसक्ने अवस्थामा केसी रहेको जानकारी पाउनासाथ उनले भनिन् ‘गोविन्द केसीलाई केही भयो भने सरकार जेलमा जानुपर्छ।’ जनताको स्वास्थ्यको चिन्ता राखेर अनशनमा बसेका केसीलाई बेवास्ता गरेर सरकारले मार्न खोजेको आरोप उनले लगाइन्। उनले भनिन्, ‘गाई मारे त पाप लाग्छ, केसी त मान्छे हुन्, उनलाई केही भयो भने सरकारलाई कति पाप लाग्ला?’

भाइबुहारीको उपचारका लागि प्रतिष्ठानमा आइपुगेका गुठीचौर गाउँपालिका ५ का हिमबहादुर कार्कीका अनुसार गाउँका स्वास्थ्य सेवा उपलब्ध छैन। उनको नजरमा गाउँका नागरिकमा स्वाास्थ्य सेवाको सहज पहुँच हुनुपर्ने माग राखेर अनशन बसिरहेका डा. केसी भगवान् सरह छन्। ‘डा. केसी व्यक्तिगत स्वार्थका लागि अनशन बस्नुभएको हैन’, उनले भने, ‘हामीजस्ता स्वास्थ्य सेवाको पहुँचदेखि टाढा रहेका नागरिकको स्वास्थ्यप्रति चिन्ता गरेर अनशन बस्नुभएको हो। सरकारले उहाँमाथि अनावश्यक आरोप नलगाओस्।’ उनले डा. केसीलाई जस्तोसुकै साथ दिन तयार रहेको समेत बताए। उनले भने, ‘जुम्ला आएर सरकारले बुझोस्, डा. केसी व्यक्ति एक्लै भए पनि सिंगो जुम्ला उहाँको साथमा छ।’

प्रकाशित: २७ असार २०७५ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App