४ वैशाख २०८१ मंगलबार
अर्थ

प्रगति टेक्स्टायले कपडा उत्पादन क्षमता बढायो

इटहरी उपमहानगरपालिका–१३मा रहेको प्रगति टेक्स्टायल उद्योग ।तस्बिरः नागरिक

इटहरी - मुुलुकमा करिब ९० प्रतिशत कपडा विदेशबाट आयत भैरहेको अवस्थामा यहाँको एक टेक्स्टायल(कपडा) उद्योगले करिब २७ करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता बढाएको छ।

इटहरी उपमहानगरपालिका–१३मा रहेको प्रगति टेक्स्टायल प्रालिले यो वर्ष १५ करोड र अघिल्लो वर्ष १२ करोड रुपैयाँ लगानी थपेर नयाँ प्रविधि प्रयोगसँगै उत्पादन क्षमता बिस्तार गरेको हो।

वार्षिक साढे तीन करोढ मिटर कपडा तयार गर्ने क्षमता पुर्याएको उद्योगले जनाएको छ । करिब एक अर्ब रुपैयाँ लगानी रहेको उद्योगमा समय सापेक्ष रुपमा नयाँ–नयाँ डिजाइनका कपडा उत्पादन गर्दै आएको छ ।लगानी थपेर नयाँ प्रविधि प्रयोग गरी बजारको माग अनुसार कपडा उत्पादन गरिरहेको प्रगति टेक्सटाइल प्रालिका प्रबन्ध निर्देशक जितेन्द्र कुमार लोहियाले बताए ।  ‘नयाँ मेसिन ल्याएर उत्पादन क्षमता बढाएका छौं,’ उनले भने, ‘बजारको माग अनुसार गुणस्तरीय कपडा उत्पादन गर्छौं।’

प्रगतिले सर्ट पेन्ट, झुल, दौरासुरवाल लगायतका कपडा उत्पादन गर्दै आएको छ । ठूलो परिमाणमा झोलाको कपडा विदेशबाट आइरहेको अवस्थामा झोलाको लागि पनि कपडा उत्पादन गर्न लागिएको लोहियाले बताए । स्कुले विद्यार्थीदेखि हरेकले अनिवार्य रुपमा व्याग प्रयोग गर्ने भएकाले व्यागको कपडा उत्पादन गर्न लागेकोे उद्योगले जनाए । ‘व्याग खरिद गर्न मोटो रकम विदेश गैरहेको छ,’ उनले भने, ‘झोलाको लागि उच्च गुणस्तरको कपडा तयार गर्न मेसिन ल्याइसकेका छौं ।’उद्योगमा परम्परागतदेखि अत्याधुनिक मेसिन रहेका छन् । अहिले मासिक २९ लाख १६ हजार मिटर कपडा उत्पादन गर्दै आएको छ । ‘क्षमताको करिब ६० प्रतिशतमात्र उत्पादन भैरहेको छ,’ लोहियाले भने, ‘उपयुक्त वातावरण भए उत्पादन क्षमता बढाउन सक्छौं।’

उद्योगमा प्रयोग हुने ९० प्रतिशत कच्चा पदार्थ स्वदेशीनै रहेको उद्योगले जनाएको छ । सो उद्योगले रिलायन्स धागो उद्योग इहटरीमै उत्पादन भएको धागो प्रयोग हुन्छ । ‘पूर्ण रुपमा स्वदेशी उद्योगकै कच्चा पदार्थ प्रयोग गरेका छौं,’ उनले भने, ‘श्रम र कच्चा पदार्थ स्वदेशीनै उपयोग गर्ने नीति लिएका छौं ।’सो उद्योगले छ सय जनाले रोजगारी पाएका छन् । पाँच सय सीपयुक्त र एक सय जना श्रमिक रहेका छन् । ती मध्ये ९५ प्रतिशत नेपाली कामदार रहेका छन् । पाँच प्रतिशतमात्र भारतीय कामदार रहेको कम्पनीले जनाएको छ । ‘केही प्राविधिमात्र भारतीय कामदार छन्,’ लोहियाले भने, ‘भारतीयले छोड्नासाथ नेपालीलाइनै रोजगारी दिने गरेका छौं।’

स्वदेशी कच्चा पदार्थ र कामदार प्रयोग गरे पनि सरकारले टेक्स्टायल उद्योगलाई हेर्ने दृष्टिकोण सकरात्मक नभएको उद्योगीको गुनासो रहेको छ ।आगामि आर्थिक वर्ष ०७५-७६को बजेटमा कपडा उद्योगलाई दिँदै आएको कर छुट हटाए पछि उद्योगी निरास भएका छन् । विदेशबाट आयात गर्ने मोवाइल र स्वदेशी उद्योगलाई एउटै डालोमा राखेर नीति बनाएकाले सच्चाउन पनि माग गरे ।विगतमा भारतमा कपडा बेच्दै आएको भए पनि अहिले स्वदेशी बजारमानै कपडा बिक्री हुँदै आएको छ । बजारमा नेपाली कपडाको ब्राण्ड स्थापित हुन नसक्दा अपेक्षित रुपमा बजार लिन नसकेको बताउँछन् ।

नेपाली कपडा सस्तो र टिकाउ रहेको प्रगति टेक्स्टायलका प्रदिप निरौलाले बताए । ‘यहाँको कपडा गुणस्तरीय भए पनि ब्राण्डिङ भएको छैन,’ उनले भने, ‘हाम्रै कपडा विदेशी भनेर पनि बेचिरहेका छन्।’सरकारले पूरै कच्चा पदार्थ विदेशबाट आयात हुने डण्डीमा आत्मनिर्भर हुने घोषणा गरे पनि स्वदेशी कच्चा पदार्थ प्रयोग हुने टेक्स्टायल उद्योगलाई उपेक्षा गरेको गुनासो गरेका छन् । ‘सरकारले उपयुक्त नीति बनाए कपडा उद्योगको सम्भावना निकै राम्रो छ,’ लोहियाले भने, ‘लगानी गर्न सरकारले प्रोत्साहित गर्नुपर्छ।’

अवैध र न्यून बीजीकरण भई सीमा क्षेत्रबाट कपडा आयात भएकाले स्वदेशी कपडा उद्योग सञ्चालनमा कठिनाई भएको नेपाल कपडा उद्योग संघले जनाएको छ । ‘न्यून मूल्यांकन र गैर कानुनी रुपमा विदेशबाट कपडा आयात हुँदा स्वदेशी उद्योग धरासायी भएका छन्,’ संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, ‘अवैध तस्करी रोक्नको लागि सरकारसँग आग्रह गर्दा पनि सुुनुवाई भएको छैन ।’सीमा क्षेत्रबाट अवैध रुपमा आउने कपडासँग प्रतिस्पर्धा गर्न कठिनाई भएको उनले बताए । सरकारले कपडा उद्योगलाई दिंदै आएको सुबिधा कटौती गरेकामा आपत्ति व्यक्त गरेका छन् ।

 

 

प्रकाशित: २७ असार २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App