७ वैशाख २०८१ शुक्रबार
खेल

कतारको योजनामा पुनर्विचार आवश्यक

मस्को – ठूलो संख्यामा दक्षिण अमेरिकी समर्थक आआफ्नो टिमको समर्थनका लागि रूस पुगेको विषयले २०२२ को विश्वकप आयोजक कतारलाई योजना पुनर्विचार गर्नुपर्ने भएको छ।

विश्वकपमा सहभागी नरहेका विभिन्न दक्षिण अमेरिकी देशबाट पनि ठूलो संख्याका दर्शक मस्कोमा जम्मा भएका भएका थिए । यस्तै भए २०२२ मा कतारले विश्वकप गर्दा पनि प्रतियोगिता सुरु नहुँदै दोहा सहर भरिभराउ हुने देखिन्छ।

प्रतियोगिता आयोजना हुनुपूर्व नै रेड स्क्वायरअगाडि पेरू, मेक्सिको र अर्जेन्टिनी समर्थकको बाक्लो उपस्थिति थियो । दुई रंगशाला रहेको मस्को सहरमा दक्षिण अमेरिकी समर्थकको बाक्लो उपस्थिति रहेको सिनियर कतारी अधिकारी अल खातिरले बताए । ३२ देशका समर्थकको उपस्थितिले सहर निकै व्यस्त देखिनेछ । त्यसैले छाँँटकाँट अत्यावश्यक छ।

राजधानी दोहामा ८ रंगशाला एक घण्टाको फरकमा हुनेछन् । २८ दिनसम्म हुने प्रतियोगितामा थोरै कतारीमाथि आगन्तुकले प्रभुत्व जमाउनेछन् । ‘यसैलाई मध्येनजर गर्दै हामीले दोहाको एक रंगशाला विकल्प सोचिरहेका छौं,’ अल खातिरले भने । समर्थकको उपस्थितिले सहर निकै व्यस्त रहनेछ । ट्राफिक र समर्थक व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता कतारलाई परेको छ।

विश्वकप आयोजना हुने सहरमा समर्थकलाई ठूलो पर्दामा हेर्ने व्यवस्था गर्नुपर्ने हुन्छ । मस्कोमा रूसले समर्थकलाई यस्तो व्यवस्था गरेको थियो तर २०२२ को विश्वकपमा कतारले दोहानजिक अल बिदा पार्कमा फ्यान जोन व्यवस्था गर्ने आयोजना बनाएको छ । ‘तर यो स्थान गलत हुन्छ,’ अल खातिरले भने । मानिसहरूको चहलपहल हुने ठाउँमा फ्यान जोन बनाउनुपर्छ।

दोहा सहरमा युरोपियन समर्थकलाई व्यवस्थापन गरिनेछ । रूसमा जारी विश्वकपमा युरोपका चार टोली अन्तिम चारमा पुगे पनि अन्य महादेशका समर्थक भन्दा युरोपका समर्थक कम छन् । ‘युरोपका समर्थक कहाँ छन् मैले खोजिरहेको थिएँ,’ अल खातिरले भने, ‘कतारमा आयोजना हुँदा युरोपियन समर्थकको स्थिति यस्तै भयो भने उनीहरू पछुताउनेछन् । उत्कृष्ट ढंगबाट फुटबल आयोजना हुँदै छ।’

आउँदो संस्करण आयोजना गर्न कतारले १ सय ८० कर्मचारी निरीक्षणका लागि रूस पठाएको थियो । रूस पुग्ने समर्थकले फ्यान आइडी (समर्थक परिचयपत्र)का आधारमा प्रवेशाज्ञा पाएका थिए । उपस्थित समर्थकलाई कडा निगरानीमा रंगशाला प्रवेश गराइएको थियो।

 

प्रकाशित: २६ असार २०७५ २१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App