coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बेलायती समर्थकलाई प्रहरीको चेतावनी

लन्डन – बेलायती प्रहरीले स्विडेनविरुद्धको विश्वकप क्वार्टरफाइनलमा जित हासिल गरेको खेलपछि भएका थुप्रै घटनाका कारण फुटबल समर्थकलाई संयमपूर्वक व्यवहार गर्न सचेत पारेको छ।

राष्ट्रिय पुलिस प्रमुखहरूको काउन्सिल (एनपिसिसी) ले शनिबार इङ्ल्यान्डले स्विडेनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको खेलपछि देशभर शान्ति सुरक्षामा खलल पुर्याउने खालका ३ सय ८७ घटना भएको र ७० जनालाई पक्राउ गरिएको बताएको छ।

‘अत्यधिक रक्सी सेवनका कारण अचेत भएका मानिसले ३ सयभन्दा बढी ठाउँमा नियमविपरीतका घटना गराएका छन्,’ एनपिसिसीका फुटबल नीति प्रमुख मार्क रोबर्ट्सले भने, ‘अराजक समर्थकले थुप्रै पसलमा तोडफोड गर्ने, मानिसलाई दुर्व्यवहार गर्ने, बस तथा कारमा जथाभाबी चढ्ने जस्ता काम गरेर थुप्रै धनको क्षति गरेका छन् । यस क्रममा उनीहरूले पनि क्षति बेहोरेका खबर छन्।’

रोबर्ट्सले आफू खुसी मनाउँदा अरूलाई दुःख नदिन आह्वान गरेका छन् । ‘खेल र जितको मजा नलिन हामी कसैलाई भन्दैनौं । तर आफूले खुसी मनाइरहँदा अरूलाई दुःख दिन पाइँदैन । कानुन मिचेर कसैले कोहीमाथि खराब व्यवहार गरे प्रशासनले आवश्यक कारबाही गर्नेछ,’ उनले भने।

शनिबार लन्डनको बाटोमा पार्किङ गरेको एक एम्बुलेन्समाथि इङ्ल्यान्डको जितमा खुसी र अत्यधिक रक्सी सेवनबाट मात्तिएका समर्थक उफ्रिँदा एम्बुलेन्स क्षतिग्रस्त भएको थियो । विगतमा हुल्याहा व्यवहारका कारण कुख्यात मिलवालका समर्थकहरूले भने भीडबाट सवारी साधनमा पुगेका क्षतिपूर्तिका लागि ९ हजारभन्दा बढी पाउन्ड उठाएका छन्।

‘मिलवाल स्पोर्ट्स क्लबमा हामीले स्थानीय समुदायलाई सहयोग होस् भनेर पैसा उठाएका हौं,’ फ्यान क्लबले विज्ञप्तिमा भनेको छ, ‘समर्थकहरूले खुसी मनाउने क्रममा कही केही चिजमा क्षति पुगेमा त्यसलाई पुनर्निर्माणका लागि पैसा आवश्यक पर्छ।’

१९७० र १९८० को दशकमा दक्षिणी लन्डनमा रहेको मिलवालका फुटबल समर्थक हरेक जसो खेलमा हुल्याहा व्यवहारका लागि कुख्यात थिए । त्यसैले मिलवालको खेल हुँदा प्रशासनले विशेष सुरक्षाव्यवस्था अपनाउने गरेको थियो भने अन्तर्राष्ट्रिय खेलहरूमा पनि मिलवालका बासिन्दामाथि विशेष निगरानी राख्ने गरिन्थ्यो।

 

प्रकाशित: २६ असार २०७५ २१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App