८ वैशाख २०८१ शनिबार
अन्य

के हो टेष्टट्युब विधि ?

फर्टिलिटी सोसाइटी अफ नेपालको केही दिनअघि भएको कार्यक्रमको उद्घाटन हामीले ओम अस्पतालमा पहिलो पटक जन्मिएका टेस्ट ट्युब बेबीबाट गरायौं । ओममणि तामाङ र निष्ट भट्टराई अहिले १४ वर्षका भइसके ।

टेस्ट ट्युब बेबी अर्थात् (इनभिट्रो फर्टिलाइजेसन, आइभिएफ) प्रविधिबाट ओममणि तामाङ जन्मिएका थिए । अहिले ओम अस्पतालमा मात्रै हजार टेस्ट ट्युब बेबी जन्मिसके । आइभिएफमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा मिलाएर भ्रूण विकास गराएपछि महिलाकै पाठेघरमा प्रत्यारोपण गरेर पाठेघरभित्रै बच्चा जन्माइन्छ । खासगरी महिलामा पाठेघरमा शुक्रकीट जाने दुवै डिम्बबाहिनी नली बन्द भएमा पुरुषको शुक्रकीट नै नबने अवस्थामा अन्य पुरुषको शुक्रकीट र तीनै महिलाको डिम्बलाई गर्भाधान गराउन, कम शुक्रकीट बनेको अवस्थामा पनि थोरै शुक्रकीटलाई पनि सफा गरेर ट्युबमा राखेर भ्रूण तयार गरेर प्रत्यारोपण गर्न यो प्रविधि उपयोगी हुन्छ ।

पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब राखेर एकअर्कासँग मिलन गराएर  भ्रूण विकास गरिन्छ । ट्युबमा गर्भाधान भएपछि पाठेघरभित्र नै राख्ने हो । कतिपय अवस्थामा बच्चा चाहने महिलाको पाठेघर नै नहुने वा पाठेघर भए पनि सिस्टका कारणले बच्चा बस्नै नसक्ने अवस्थामा सन्तानको चाहाना पूरा गर्न श्रीमान्को वीर्य र श्रीमतीको डिम्बलाई नै भ्रूणको विकास गराएर अर्को महिलाको कोखमा लगेर पनि बच्च हुर्काउन र जन्माउन सकिन्छ । जसलाई सरोगेसी भनिन्छ । नेपालमा यो कानूनी छैन ।

समाजमा टेस्टटुयब बेबी भनेपछि सिसाभित्र नै बच्चा तयार पारेर निकाल्ने भन्ने भ्रम पनि व्याप्त छ । यो त पाठेघरको नलीमा हुने गर्भधानलाई बाहिर सम्भव गराउने विधि मात्रै हो, बच्चा हुर्किने त पाठेघरमै हो । आइभिएफमा जानुपूर्व अन्य सबै परीक्षण र उपचार हुनुपर्छ। अझै खासगरी आइभिएफ महिलाको पाठेघर ठीक भएको  अवस्था र पुरुषको शुक्रकीटमा समस्या भएमा सुरुमा  आइयुआई विधि अपनाइन्छ । यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो । तर यो विधिको सफलता दर भने कम छ । यो विधिबाट पनि बच्चा नभएकालाई मात्र आइभिएफ विधिमा लगिन्छ ।

आइयुआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आइभिएफ विधि अपनाइँदैन । संसारमै यो प्रविधिमा सफलताको दर ४० प्रतिशतको हाराहारीमा भए पनि जीवित जन्मदर २५ प्रतिशत मात्रै छ । यसरी प्रत्यारोपण गर्दा पनि अधिकांश समयमा पाठेघरमा चार भ्रूण प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गर्दा सबै हुर्किन नसके पनि कम्तिमा एउटा हुर्किन्छ भनेर सोच राखिएको हुन्छ । विज्ञहरूका अनुसार सफल हुँदाको अवस्थामा पनि एकैपटक तीनचार वटा बच्चा जन्मिने सम्भावना बढी हुन्छ । आइभिएफका अधिकांश अवस्थामा शल्यक्रिया आवश्यक पर्छ।

(डा. रिजाल फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसन)का अध्यक्ष हुन्।)

प्रकाशित: २६ असार २०७५ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App