७ वैशाख २०८१ शुक्रबार
अन्य

व्यापारिक भवन एवं कार्यालयको आधुनिक वास्तु

वरिष्ठ अधिकारी, सानो सभा र विभागाध्यक्षका लागि कार्यालयको दक्षिण भागतर्फ कक्ष बनाउनुपर्दछ । वित्तप्रबन्धक र खजाञ्चीका निमित्त कार्यस्थलको उत्तरतिर कोठा बनाउनुपर्छ । स्वागतकक्ष, ठूलो सभाभवन र पानी सुविधाकक्षका लागि पूर्व उत्तर स्थान चयन गर्नुपर्दछ । कम्प्युटरविभाग, बिक्रीविभाग प्रमुखका लागि पश्चिम–उत्तरलाई कक्ष बनाउनु उपयुक्त हुन्छ । वरिष्ठ प्रशासनअधिकारीले पश्चिमतर्फ स्थान ग्रहण गर्नु राम्रो हुन्छ । त्यसैगरी कार्यालयप्रमुख र कोषकारलाई दक्षिण–पश्चिम स्थानमा राख्न सकिन्छ ।

कार्यालयमा खाना बनाउने कक्ष एवं क्यान्टिन, कम्प्युटर साथै विद्युत् आपूर्ति, मिटर र जेनेरेटर, इन्वर्टरका लागि पूर्व–दक्षिण कोण वा आग्नेय कोणमा व्यवस्था गर्नुपर्दछ । कार्यालयको अग्रभागस्थित केबिनलाई आयताकार बनाउनुुपर्दछ । वास्तु शास्त्रानुसार वर्गाकार कक्ष एवं वर्गाकार रिसेप्सन केविन राख्नु अशुभ मानिन्छ । चौडाइको अपेक्षाकृत लम्बाइ डेढ या पौने दुई गुणा हुनुपर्दछ । कार्यालयको ब्रह्मस्थानलाई यथासम्भव रिक्त राख्नुपर्छ । मुख्य कार्यालय तथा विभागको प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा हुनुपर्दछ ।

आजको आधुनिक व्यापार विकासको कारणले गर्दा उच्च स्थानको कमी र आकासिँदो वाहालको कारण पसल एवं सोरुमलाई  वास्तुसम्मत बनाउन प्रायः असम्भव नै छ तापनि व्यापारिक पसलको आकार, मापन, ढलान, द्वार र आन्तरिक सज्जाका लागि वास्तुनियमको पालना गर्नाले शुभ–कल्याण हुन्छ । अब व्यापारिक कक्षको आकारप्रकारलाई विचार गर्दा, निम्न प्रकारले विचार गर्नु उपयुक्त हुन्छ । पसलको आकार बनाउँदा वर्गाकार, आयताकार या त अष्टकोणीय हुनुपर्दछ । अनिश्चित आकार व्यापारका लागि बाधक हुन्छ । बाघको जस्तो आकार या सिंहाकार पसल त्यति शुभ मानिँदैन तर अगाडिको भाग अधिक चौडा पछाडिको भाग कम चौडा भएमा शुभ मानिन्छ । पसलको पूर्व एवं पश्चिम दिशातर्फ सडक भएमा प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा राख्नु पर्दछ ।

वास्तुशास्त्रीहरूको मत रहेको छ भने पसलेको चौडाइ एवं गहिराइको अनुपात १ः२ हुनुपर्दछ । साथै २.५ देखि ३ मिटर चौडा र ५ या ६ मिटर गहिरो पसल पनि शुभ नै मानिन्छ । अन्य विद्वान्हरुको मतानुसार १ः३ समेत शुभ मानिन्छ । साथै ३ गुणा गहिरो पसलमा सामान राख्न सजाउन अधिक सरल एवं प्रभावित हुने वास्तुशास्त्रमा पाइन्छ । व्यापारिक कोठाको उचाइ ८ फिटभन्दा कम राख्नु हँुदैन, अझ १० फिटको उचाइ भएमा, उक्त स्थानमा सफलता र समृद्धिका लागि श्रेष्ठ मानिएको छ । पसलप्रवेशको निमित्त बनाइने सिँढी, पसल अगाडि पूरै लम्बाइ लिएर बनाउनुपर्दछ । यदि कुनै कारणवश पूरै लम्बाइ कभर गरी सिँढी बनाउन नसक्ने अवस्थामा धनात्मक ऊर्जा उत्पन्न हुने गरी सिँढी तयार गर्नुपर्दछ । 

१) स्वागत कक्ष २) लबी एवं प्रतिक्षा कक्ष ३) नगद काउन्टर ४. ग्राहकका लागि बस्ने व्यवस्था ५) ग्राहकका लागि खानेकुरा उत्पादन कक्ष ।

वास्तु शास्त्र अनुसार विचार गर्नुपर्ने कुरा के छ भने स्वागत कोठा पूर्व दिशा या उत्तर–पूर्व दिशातर्फ धनात्मक ऊर्जा क्षेत्रमा बनाउनु पर्दछ । प्रतिक्षा कक्ष एवं लबी (अगाडिको खाली ठाउँ) बनाउँदा पूर्व या इशान कोणमा बनाउनु पर्दछ । 

नगद नारायण प्राप्त गर्ने कक्ष निर्माण गर्दा उत्तर दिशा तर पूर्व मुख फर्काएर या पूर्व दिशा तर उत्तर मुख फर्काएर बनाउनु पर्दछ । नगद काउन्टरको मुख दक्षिण दिशा बर्जित छ । 

खाद्यान्न सेवा कक्ष एवं खाजा वितरण कक्षको झ्याल या मुख दक्षिण दिशा या उत्तर–पश्चिम दिशा (वायव्य कोण) मै राख्नु पर्दछ । ग्राहक आउनेबित्तिकै बस्ने व्यवस्था पश्चिम या उत्तर–पश्चिम दिशामा गर्नु पर्दछ । प्रवेशद्वार धनात्मक ऊर्जा क्षेत्रमा हुनु पर्दछ भने बहिर्गमनद्वार ऋणात्मक ऊर्जा क्षेत्रमा हुनु शुभ मानिन्छ । झ्याल ढोका धनात्मक ऊर्जा क्षेत्रमा अधिक राख्नु पर्दछ । यदि ऋणात्मक ऊर्जा क्षेत्रमा झ्याल, ढोका बनाउनै पर्ने आवश्यक परेमा धनात्मक ऊर्जा क्षेत्रको ढोकादेखि ५० देखि ६० प्रतिशतभन्दा अधिक नहोस्। 

ग्राहकहरु बस्ने, आराम गर्ने र भोजन गर्ने कक्षमा मधुरो उज्यालो र मन्द संगीतको व्यवस्था हुनु पर्दछ । व्यवसायको स्थानलाई कहिल्लै पनि गाढा खैरो, कालो या गाढा रङ्गले रङ्ग्याउनु हुँदैन साथै भुइँ र भित्ताहरुलाई कालो, निलो एवं खैरो रङ्ग लगाउनु हँुदैन । यदि बिक्री कक्ष राखिन्छ भने दक्षिण–पश्चिम दिशामा राख्नुपर्दछ । उत्तर–पूर्व दिशा (ईशान कोण) मा जल पान कक्ष बनाएमा देवताको अपमान हुनुको साथै वास्तु दोषले व्यापारमा गिरावट आउँछ । होटलमा वेसमेन्ट या भू–गर्भ तलामा प्रदर्शनी, विचार गोष्ठी र सांस्कृतिक कार्यक्रमका लागि उपयोग गर्नु पर्दछ । भू–गर्भ तलामा खाना पकाउन र खान वर्जित छ ।  भूखण्ड नियमित आकारको, वर्गाकार, आयताकार या अष्टभूजाकार हुनु आवश्यक छ । दक्षिण या पश्चिमको समकोण हुनुपर्दछ । उत्तर या पूर्व दिशाको सडक होटेलका लागि शुभ मानिन्छ । दक्षिण दिशाको सडक यदि उच्च भएमा शुभ हुन्छ । भू–खण्डको ढलान उत्तर–पूर्व दिशामा हुनु शुभ हुन्छ । व्यवसाय नजिकै मूर्दा घाट, झुपडी, सुकुम्वासी बस्ती, मन्दिर, कसाई घर, विद्युत गृहादि भएमा अशुभ मानिन्छ । व्यवसायको जमिन नगरदेखि सहरदेखि धेरै टाढा हुनुहँुदैन जसले गर्दा सजिलै पुग्न सकिँदैन । प्रवेश भने धनात्मक ऊर्जा क्षेत्र र बहिर्गमन मार्ग ऋणात्मक ऊर्जा क्षेत्रमा हुनुपर्छ । प्र्रवेशद्वार बनाउँदा उत्तर, पूर्व या उत्तर पूर्व, दिशामा धनात्मक ऊर्जा क्षेत्र छनोट  गर्नुपर्दछ । दक्षिण, दक्षिण पूर्व (आग्नेय कोण) अथवा दक्षिण पश्चिम (नैऋत्य कोण) बाट प्रवेश बर्जित एवं त्याज्य छ । 

ध्यान रहोस्, यदि प्रवेश द्वार ऋणात्मक ऊर्जा क्षेत्रमा व्यवसाय गरियो भने आपराधिक गतिविधि बढ्न गई व्यवसायको बदनामी हुन्छ । पानी एवं जलस्रोत उत्तर या पूर्व दिशामै बनाउनु पर्र्दछ । भूखण्डको मापन आयादिक गणना, तिथि, बार, नक्षत्र, योग, करण  र लग्नायुको विचार गरी मुहूर्त निर्धारण गर्नुपर्दछ । यस्तो गणना गर्दा प्रतिष्ठानको स्वामी या होटेल जुन व्यक्तिको हो सोही व्यक्तिको जन्म एवं नामबाट विचार गर्नु उपयुक्त हुन्छ । भगवान्को उत्तर पूर्व भागमा आधिकारिक क्षेत्र रिक्त राख्नु पर्दछ तथा दक्षिण पश्चिम दिशामा सघन निर्माण गरी गह्रुँगो बनाउनु पर्दछ । भवनको सबैभन्दा उच्च भाग दक्षिण–पश्चिम दिशा र निचो भाग उत्तरपूर्व हुनु उत्तम मानिन्छ । स्वागत कक्ष उत्तर पूर्व या उत्तर पश्चिम दिशामा प्रवेशद्वारको नजिकै धनात्मक ऊर्जा क्षेत्रमा बनाउनु पर्दछ । स्वागत गर्ने कर्मचारीको मुख दक्षिण दिशामा हुनुपर्दछ । प्रतिक्षा कक्ष उत्तर पूर्व दिशामा, प्रवेशद्वार र स्वागत कक्ष सँगै बनाउनु पर्दछ । 

कफी चिया दक्षिण या पश्चिममा बनाउनु पर्दछ । व्यापारिक गतिविधि क्षेत्र, पसल, बैंक, मुद्रा परिवर्तन या पर्यटन सेवा आदि दक्षिण दिशामा बनाउनु पर्दछ । व्यापारिक पसलको पूर्व दिशामा बनाइने खुट्किला सिधा र समान भएमा शुभ हुन्छ । पश्चिम दिशामा बनाइने सिँढी वृत्ताकार, अर्धवृत्ताकार एवं अण्डाकार (दीर्घवृत्ताकार) भएमा कल्याण एवं शुभप्रद हुन्छ । उत्तर दिशातर्फ भने वर्गाकार सिँढी कल्याणप्रद मानिएको छ । दक्षिण दिशाबाट प्रवेशका लागि बनाएको सिँढीमा भने कुनै पनि विषम आकृति या लहरादार, कमलको फूल पानको पातजस्तो भएमा शुभ मानिन्छ । पसलको भित्री सतह बाहिरी भन्दा अधिक अग्लो हुनुपर्दछ यदि पसलको सतह सडकदेखि ४५० मि.मी. अग्लो भएमा वर्षाको पानी, सडक नाली, पसलमा पस्ने डर रहँदैन । व्यापारिक पसल खोल्दा, हर तवरले धनात्मक ऊर्जा उत्पन्न क्षेत्रमै, पसलको प्रवेशढोका या रोलिङ सटर बनाउनुपर्दछ । यसो गर्नाले शुभ एवं कल्याणकारी चुम्बकीय तरङ्ग कार्य स्थानमा प्रवेश गरी व्यक्तिमा उच्च आशा, उत्साह एवं उल्लासको वातावरण बनिरहने हुन्छ । यदि एकभन्दा अधिक द्वार राख्नुपर्ने भएमा रोलि सटर या ढोका धनात्मक ऊर्जा भएको क्षेत्रमै राख्नु राम्रो एवं शुभ हुन्छ ।

अत्यावश्यक भएर द्वारको प्रयोग गर्नुपर्ने भएमा अधिक धनात्मक ऊर्जा भएको ढोका नै बढी प्रयोग गर्नुपर्दछ । उच्च ऊर्जा भएका द्वारको अधिक प्रयोग गर्नाले धन, वैभव, मानप्रतिष्ठाको वृद्धिमा सहायक हुन्छ । रिसेप्सन एवं काउन्टर सजावटका लागि प्रयोग गरिने सामग्री काँच, प्लास्टिक गवाक्ष एवं -याकलाई ऋणात्मक ऊर्जा क्षेत्र (पूर्व–दक्षिण दक्षिण–पश्चिम या उत्तर–पश्चिम)  दिशामा राख्नु पर्दछ । हामी ध्यान राखौं पूर्व–उत्तर दिशा या ईशान कोणमा बिक्रीका सामान कहिल्यै पनि राख्नु हुँदैन । तुरुन्तै बेच्नुपर्ने सामग्रीलाई उत्तर दिशातर्फ सजाउनुपर्दछ, अझै वायव्य कोणमा बिक्रीवस्तु राखेमा शीघ्रातिशीघ्र बिक्री हुन्छ । पसलको स्वामी (व्यापारी) ले उत्तर दिशातर्फ फर्केर, उत्तर दिशाको वाललाई नछोइकन, उत्तर या पूर्व दिशातर्फ मुख फर्काएर गद्दीमा बसी सामान बेच्नुपर्दछ । यदि व्यापारीको मुख उत्तरतर्फ फर्केर बसेको खण्डमा क्याश बक्स आफ्नो बायाँतर्फ राख्नुपर्दछ । यदि पसलेको मुख पूर्वतर्फ फर्केर बसेको अवस्थामा क्यास बक्स दायाँतर्फ राख्नु उचित हुन्छ । उत्तर गेट भएको व्यापारिक भवनमा धनात्मक ऊर्जा क्षेत्रमा प्रवेश मार्ग बनाउनाले धन लाभ हुने र सुख साथै समृद्धि प्राप्त हुन्छ ।

व्यापारको स्वामी यदि कुर्सीमा बस्नुपर्ने अवस्थामा पूर्व दिशाको मध्यभाग दक्षिण पूर्व (अग्निकोण) लाई छोडेर मालिकको कुर्सी राख्नुपर्दछ । यदि आग्नेय कोणमा कुर्सी राख्नै पर्ने अवस्था आएमा, पूर्वीवालको दक्षिणी भागतर्फ नछोइकन बस्ने व्यवस्था गर्नुपर्दछ । क्यास काउन्टर सधैँ उत्तर–पूर्व दिशा (इशान) कोणमै बनाएमा पूर्ण लाभ मिल्छ । धनात्मक ऊर्जा क्षेत्रमा प्राप्त धन अधिक कालसम्म रहिरहने बताइएको छ । व्यापारिक भवनमा सुरक्षार्थ खटिएका प्रहरी एवं सुरक्षा गार्ड उत्तर–पूर्व या पूर्व दिशामा रहनु आवश्यक छ । दक्षिण–पूर्व (अग्नि कोण) मा खडा प्रहरी यदि उत्तर मुखगरी उभिएमा चिन्ता बढाउने साथै गलत खालको व्यापारिक सन्देश, बाहिर निस्केर स्वामीलाई क्षमायाचना समेत गर्नुपर्ने हुन सक्तछ । रत्नाभूषण, ऊनी कपडा, खाद्यान्न, विभिन्न प्राविधिक उपकरण या कमिसनसम्बन्धी कामका लागि पूर्व दिशा फर्केको स्थान शुभ हुन्छ । यस प्रकार उपयुक्त वास्तुशास्त्रीय सिद्धान्तमाथि विभिन्न वर्गका व्यापारीले पालना गरी आफ्नो व्यापार व्यवसाय गरेमा उच्च आम्दानी गरी धन–धान्य, समृद्धि, सुख शान्ति प्राप्त हुनेछ ।

(लेखक ज्योतिषी एवं वास्तु शास्त्री हुन्।)

प्रकाशित: २६ असार २०७५ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App