७ वैशाख २०८१ शुक्रबार
खेल

इनरिके स्पेनका नयाँ प्रशिक्षक

मड्रिड (एपी) – स्पेन फुटबल संघले सोमबार बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकेलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

यसअघि संघले आइतबार अन्तरिम प्रशिक्षक फर्नान्डो हायरोलाई निरन्तरता नदिने जनाएको थियो। रूस विश्वकप सुरु हुुनु एक दिनअघि तत्कालीन प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै हायरोलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको थियो। राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहँदा आफूलाई जानकारी नगराई रियाल मड्रिडको प्रशिक्षक पद स्वीकार गरेको भन्दै संघले लोप्तेगीलाई बर्खास्त गरेको थियो।

स्पेन फुटबल संघले इनरिकेलाई दुई वर्षका लागि अनुबन्धित गरेको हो।

‘सबैको सहमतिमा इनरिकेलाई नियुक्त गर्ने निर्णय लिइएको हो,’ स्पेन फुटबल संघका अध्यक्ष लुइस रुबेल्सले भने, ‘मलाई उनको प्रतिबद्धता मन प-यो। उनी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन योग्य छन्। इनरिकेले सम्झौताअनुरूप टोलीलाई प्रशिक्षण दिनेछन्। उनले आफ्ना सहकर्मी जुटाउँदै छन्। यसबारे अर्को साता जानकारी गराउनेछन्।’  

इनरिके अस्वस्थ भएपछि बार्सिलोना छाडेका थिए। तर स्वास्थ्यमा सुधार आएपछि अघिल्लो सिजन बार्सिलोनालाई प्रशिक्षण दिएका थिए।

एटलान्टिक कोस्टको स्थानीय स्पोर्टिङ गिजोनबाट उनले खेलजीवन सुरु गरेका थिए। १९९१ देखि १९९६ सम्म रियाल मड्रिडबाट खेलेका उनले १९९६ पछि बार्सिलोनाबाट व्यावसायिक खेल खेलेका थिए । रियाल मड्रिडबाट खेल्दा उनले मड्रिडका लागि एक उपाधि दिलाएका थिए। उनले २००४ मा खेलाडीजीवनबाट संन्यास लिँदै बार्सिलोना छाडेका थिए।

उनले रोमामा २०११–१२ मा प्रशिक्षण दिएका थिए। त्यसपछि सेल्टा भिगोमा गएका इनरिकेले २०१४ मा बार्सिलोना टोली सम्हालेका थिए।

समग्रमा इनरिकेको सफलता ग्वार्डिओलासँग तुलना गरिन्छ । बार्सिलोनाले १३ मध्ये ९ उपाधि इनरिकेको प्रशिक्षणमा जितेको छ भने ग्वार्डिओलाको प्रशिक्षणमा १९ मध्ये १४ उपाधि उचालेको छ।

उनको मुख्य काम भनेको खेलाडीलाई एकीकृत गर्नु हो। ‘म टोलीको खेलशैलीमा भन्दा पनि टोली बनाउन केन्द्रित हुनेछु, आपसी तालमेल मिलाउनेछु,’ इनरिकेले भने, ‘प्रत्येक खेलाडी बुझ्ने यो एक साताको काम हो । प्रशिक्षकको रूपमा नेतृत्व लिनेछु।’

खेलक्षेत्रमा रमाउने उनले खेलाडीजीवनबाट संन्यास लिएपछि ट्रायथोलनमा सहभागिता जनाएका थिए।

प्रकाशित: २६ असार २०७५ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App