coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

घर फर्कन तयार छैनन् इङ्लिस खेलाडी

क्राेएसियाविरूद्घकाे सेमिफाइनलअगाडि अभ्यास गर्दै इङ्ल्यान्डका खेलाडी। तस्बिर : फिफा

लन्डन - फ्रान्समा दुई वर्षअघि सम्पन्न युरोपियन च्याम्पियनसिपपछि इङ्ल्यान्डको मुस्कान हराएको थियो। तर, त्यो लामो समय लम्बिएन।

अहिले सबैलाई थाहा छ, हामी को हौँ भनेर। साथै हामीले कस्तो खेलिरहेका छौं भनेर। मलाई लाग्छ प्रशिक्षक गारेथ साउथगेटले जारी विश्वकपमा यही सफलता हासिल गर्छु भनेरै उक्त टोली छनोट गरेका थिए। र अहिले यो टोलीले एकपछि अर्को गर्दै पाएको सफलता हेर्न धेरै आनन्द आइरहेको छ।

मैले प्रतियोगिता सुरु हुनुअघि हाम्रो टोलीले यो सफलता पाउँछ भन्ने सोचेको पनि थिइनँ। टोलीले केही सुधारिएको प्रदर्शन गर्न सकोस् भन्ने मेरो चाहना थियो । इमानदार भएर भन्ने हो भने कसैले पनि यो टोलीले सेमिफाइनलसम्मको यात्रा गर्छ भनेर सोचेकै थिएनन्। मैले त कल्पना पनि गरेको थिइनँ। तर, क्रोएसियालाई पराजित ग¥यो भने इङ्ल्यान्ड फाइनलमा पुग्नेछ। यो सोच्दा पनि अद्भुत लाग्छ। र अब के हुन्छ भनेर सोच्दाको अनुभव नै बेग्लै हुन्छ।

मस्कोमा हाम्रो खुसीको सीमा नै छैन। झन् हाम्रो देशमा त समर्थक पागलै भए होलान्। किनकि हामीले प्रतियोगिताको उपाधि जित्ने सुनौलो अवसर पाएका छौं। के हामी उपाधि घर लैजान सक्छौं ? मलाई विश्वास छ, तपार्इंलाई छैन ? सबै पक्षबाट यो सम्भव देखिन्छ।

१९९६ को युरोपियन च्याम्पियनसिपमा म इङ्ल्यान्डको खेलाडी हुँदा तत्कालीन फुटबल पण्डित र समर्थकहरूले जे सोचिरहेका थिए, अहिले मेरो अनुभव पनि ठ्याक्कै त्यस्तै छ। हामी सेमिफाइनल पुग्दा ‘हामी गर्न सक्छौं, सबै पक्षबाट हामी जित्न सक्छौं’ भन्ने  सोच्थे। हाम्रो त्यो जोस छोटो समयमै सहन नसकिने पीडामा परिणत भयो। तर, अहिलेको समय र अनुभव फरक छ।

युरो १९९६ का प्रत्येक खेलमा हामीले जुन सुधारिएको प्रदर्शन गरेका थियौं, लाग्थ्यो हामीलाई कसैले रोक्न सक्दैन। त्यो महान् अनुभव थियो । मलाई लाग्छ अहिलेको इङ्ल्यान्ड टोलीलाई पनि त्यस्तै अनुभव भएको हुनुपर्छ। उनीहरूलाई लाग्दो हो कि अहिले जित्न नसकिने केही छैन। वा त्यो जसरी पनि गर्न सकिन्छ।

२२ वर्षअघिको त्यो यात्रा र अहिलेको सफलतामा केही मेल खान्छन्। त्यति बेला सबैको मुखमा इङ्ल्यान्डको राष्ट्रिय गीत झुन्डिएको थियो।  पाउल ग्यास्कोइन प्रत्येक बिहान उठेर झ्याल खोल्थे अनि सिडी प्लेयरमा ठूलो आवाजमा राष्ट्रिय गीत घन्काउथे। त्यसपछिको समय मैले कहिल्यै पनि त्यो गीत सुन्न पाइनँ, जति यो समरमा सुनेको छु। यो सकारात्मक पक्ष हो। यसले राष्ट्रिय भावना जागृत गर्छ र टोलीमा आत्मविश्वास झल्किन्छ।

पछिल्लो समय इङ्ल्यान्ड १९९० मा विश्वकपको सेमिफाइनल खेलेको थियो। त्यति बेला म १९ वर्षको थिएँ । परिवारसँग छुट्टी मनाउन पोर्चुगल पुगेका हामीले पेनाल्टी सुटआउटमा जर्मनीसँग पराजित भएको हेरेका थियौं।

अहिले सम्झँदा अचम्म लाग्छ कि, त्यो खेल भइरहँदा अहिलेको टोलीका १७ खेलाडी जन्मिएका पनि थिएनन्। म अहिले जति बूढो भएको छु, त्यसले अहिलेको इङ्ल्यान्ड टोली कति युवा छ भनेर पुष्टि हुन्छ।

अन्तिम चारमा स्थान बनाउँदासम्म यो टोलीले उत्कृष्ट प्रदर्शन गरिसकेको छ। अहिले इङ्ल्यान्डबाहिरका मान्छेको मनिस्थिति पनि परिवर्तन भइसकको हुन सक्छ। उनीहरू भन्दै होलान्, ‘तिमीहरूलाई कसैले हराउन सक्दैन।’ तर त्यसले केही फरक पार्दैन।

स्विडेनलाई हराएपछि मैले टेलिभिजनमा भनेजस्तै, प्रत्येकलाई इङ्ल्यान्डले १९६६ मा विश्वकप जित्दाको जस्तै प्रदर्शन गरेको छ भन्ने लागेको छ। उनीहरू अहिले उपाधि मात्र देखिरहेका छन्। आफ्नो अगाडि जो आउँछ, त्यसलाई हराउने हो र यो टोलीले त्यही गरिरहेको छ।

कोलम्बियालाई हराएर टोलीले खुसी दिएका कारण स्विडेनविरुद्धको खेलअवधिभर म कहिल्यै अताल्लिइनँ। मलाई सधैं लागिरह्यो कि हामीले राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्न सक्छौं। र त्यो हाम्रो जारी विश्वकपकै उत्कृष्ट प्रदर्शन रह्यो। हामीले बलियो टोलीविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्न सक्यौं। जुन उत्साहजनक छ। स्विडेनले युरोपेली छनोट प्रतियोगिताको समूहचरणमा फ्रान्सलाई हराएको थियो नेदरल्यान्डलाई पछि पारेको थियो। त्यसपछिको प्लेअफमा इटालीजस्तो टोलीलाई स्तब्ध बनाएको थियो। त्यति मात्र होइन, स्विडेन साबिक विजेता जर्मनी सम्मिलित समूहबाट विजेताका रूपमा अघिल्लो चरण प्रवेश गरेको थियो। त्यसैले स्विडेन कमजोर टोली थिएन। शनिबारको खेल साँच्चिकै उत्कृष्ट थियो। किनकि हामीले कहिल्यै पनि दबाब महसुस गर्नु परेन।

हामीले प्रतियोगितामा सुरुबाटै सेटपिसमा राम्रो गरिरहेका छौं। केही टोलीले हामीलाई रोक्न खोजे, तर सफल भएनन्। बेल्जियमविरुद्ध हाम्रो पहिलो रोजाइको टोली थिएन । फ्रिकिक र कर्नर बुधबार क्रोएसियाका लागि सबैभन्दा चिन्ताको विषय हो । पक्कै पनि क्रोएसियासँग केही ‘गड गिफ्टेट’ खेलाडी छन्। तर, त्यसबाट इङ्ल्यान्डका खेलाडीहरू आत्तिनुपर्ने कुनै कारण छैन। कोलम्बियाविरुद्धको खेलपछि हाम्रो टोलीको मनोबल बढेकोमा कसैको दुई मत छैन। स्विडेनविरुद्ध निर्धारित समयमा हामीले जुन गोल गर्न सफल भयौं त्यसले टोलीको मनोबल अझै बढाएको छ। र ह्यारी केनले गोल नगरे पनि अन्य खेलाडीले गोल गर्न सक्छन् भनेर पुष्टि भएको छ। यसबाट हाम्रा खेलाडी चाँडै घर फर्कन तयार छैनन् भन्ने स्पष्ट हुन्छ।
बिबिसीबाट साभार

प्रकाशित: २६ असार २०७५ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App