७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै

 काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका सदस्यहरुको तय भएसँगै समितिको बैठक आज मध्यान्ह १२ बजे बस्न लागेकाे हाे।

पहिलो बैठकको अध्यक्षता राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नैछन् । लामो समयसम्म सुनुवाई समिति नबन्दा संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तिमा ढिलाई भएको छ । आज सुरु हुने बैठकले प्राथमिकताका आधारमा विभिन्न संवैधानिक निकायका लागि सिफारिस भएका व्यक्तिहरुको सुनुवाईको मिति तय गर्नेछ ।

सुनुवाई विशेष समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट ३ गरी १५ सदस्य छन् । समितिमा राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुन मन्त्री पदेन सदस्य हुने व्यवस्था छ । हिजो बसेको प्रतिनिधिसभाको बैठकले नेकपाबाट सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, शिवकुमार मण्डल, निरुदेवी पाल र पार्वत गुरुङ, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुषाल, राजपाबाट कर्ण र संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

 राष्ट्रिय सभाले यसअघि नै जितेन्द्रनारायण देव, सुमन प्याकुरेल र नन्दा चपाईंलाई सुनुवाई समितिमा पठाइसकेको थियो ।  राष्ट्रियसभाको बैठक आज अपराह्न ३ बजे बस्नेछ । बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तत्काल सदनमा प्रस्तुत गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नैछन् ।

उनको प्रस्तावमा सांसदहरु अनिता देवकोटा र रमेशजंग रायमाझीले समर्थन गर्नैछन् । यसअघि हिजो बसेको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको थियो ।

 त्यसैगरी आर्थिक विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक, २०७५, ऋण तथा जमानत ९२२ औँ संशोधन विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई आज औंपचारिक रुपमा टुंग्याउने भएको छ ।

 सिंहदरबारमा हिजो बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बैठकमा विधानको मस्यौदाबारे छलफल भएको र आज १२ बजेसम्म विधानबारे केही सुझाव भएमा पार्टीमा बुझाउन समय दिएको बताएका छन्। राजपाले संसदीय दलको विधानलाई आज टुंगो लगाएर दलको नेता चयन गर्न निर्वाचनको मिति घोषणा गर्नेछ ।

प्रकाशित: २६ असार २०७५ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App