८ वैशाख २०८१ शनिबार
अर्थ

बगनाशकाली गाउँपालिकाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

युवाहरुलाई ऋण दिँदै गाउँपालिकाका पदाधिकारी। तस्वीरः मुक्ति/नागरिक

पाल्पा – जिल्लाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरि प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए। उनी भन्छन्, ‘गाउँमा पनि धेरै युवाहरु शैक्षिक बेरोजगार छन्। केही विदेशमा श्रम गरिरहेका छन्। अब गाउँमै स्वरोजगारीता मार्फत् रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम सुरु गरेका हौं।’

युवा लक्षित युवा स्वरोजगार (कषि विकास, पशु सेवा) कार्यक्रम संचालनका लागि चालु वर्षमा बिनियोजित रकम ७ लाख रुपैयाँबाट ऋण उपलब्ध गराइएको हो। युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातकतह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यहरुलाई चार लाख रुपैयाँ रकम उपलब्ध गराइएको हो। बगनासकाली युवा कृषक समूह वडा नं. २ र ३ लाई कृषि तथा पशुपालनका लागि ४ लाख रुपैयाँ ऋण प्रदान गरिएको हो।

बगनाशकाली–२, का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका एक लाख रुपैयाँ ऋण लिएका छन्। सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरि तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण पाएका छन्। यस्तै बगनासकाली–९, का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ।

बगनाशकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरि ऋण प्रदान गरिएको बताए। ‘गाउँपालिकाले दिएको ऋणबाट ३ महिनाभित्र काम सुरु हुनुपर्छ। २ वर्षसम्म व्याज तिर्नु पर्दैन। २ वर्ष भित्रै तिरे ५ प्रतिशत रकम छुट हुन्छ,’ अर्यालले भने, ‘आगामी वर्ष समेत कार्यक्रमले निरन्तरता पाउँछ।’

बगनासकाली युवा कृषक समूहलाई सामूहिक रुपमा ऋण रकम हस्तान्तरण गरिएको छ। गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल तथा वडा अध्यक्षहरुले सामूहिक रुपमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २६ असार २०७५ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App