८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सैन्य अधिकृतलार्इ मस्तिष्क संक्रमण

काठमाडौं - मस्तिष्क संक्रमणले ग्रसित नेपाली सेनाका २२ वर्षीय अधिकृत सौभाग्य देउजाको स्वास्थ्य अवस्था गम्भीर भएको छ। नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचाररत देउजालाई अनौठो प्रकारको कडा किटाणुले मस्तिष्क संक्रमण देखिँदा उपचार चुनौतीपूर्ण बनेको न्युरोलोजिष्ट डा. गोपालरमण शर्माले जानकारी दिए।

अस्पतालका अनुसार सेनाको तालिमका क्रममै उनलाई संक्रमण भएको थियो। सुरुमा कान पाक्ने, कानवाट पिप आउने जस्ता समस्या थियो। शीघ्र नै सही उपचारमा पुग्न नसक्दा उनको संक्रमण कान हुँदै मस्तिष्कमा पुगेको डा. शर्माले बताए। उनका अनुसार देउजालाई मेनेन्जाइटिस र बे्रन सेरवाइटिस भएको छ। कडा र अनौठो ‘बुर्खोल्डेरिया सिडोमेली एरोविक’ नामको किटाणु कान हुँदै टाउकोमा पुगेको छ। टाउकोमा पुगेर मस्तिष्कको बाहिरी झिल्ली र भित्री दुवै भागमा संक्रमण फैलिएको छ। किटाणु मस्तिष्कको अप्ठेरो ठाउँमा बसेकाले शल्यक्रिया गरी निकाल्न पनि अप्ठेरो परेको डा. शर्माले नागरिकसँग भने। ‘बाहिरी भागमा भएको भए शल्यक्रिया गरेर निकाल्न सकिन्थ्यो,’ डा.शर्माले भने। कडा एन्टिवायोटिकले पनि संक्रमण नघटेको उनले बताए।

डा. शर्माले आफ्नो २५ वर्ष लामो चिकित्सा अनुभवमा यो किटाणुले मस्तिष्क संक्रमण गराएको पहिलो घटना भेटेको बताए। ‘नेपालमै पहिलो घटना होला,’ उनले भने।

‘बुर्खोल्डेरिया सिडोमेली एरोविक’ हिलो र फोहोरमा बस्ने किटाणु हो। देउजा कमाण्डर तालिमका क्रममा जंगलमा हुँदा सो किटाणु कानबाट पसेर मस्तिष्कसम्म पुगेको हो। यो किटाणु श्वास–प्रश्वास नली, कान, हातखुट्टाका घाउबाट फोक्सो, मस्तिस्क, कलेजोलगायतका अंगमा पुगेर संक्रमण गर्छ।

देउजाका आफन्तका अनुसार उनी दश दिनअघि तालिम सकेर फर्केका थिए। तालिमकै क्रममा उनी बिरामी परे। उनी ज्वरो र कानबाट पिप बग्ने समस्यासहित घर आइपुगे। घर आएकै दिन उनलाई भरोसा अस्पताल बानेश्वर लगियो। त्यहाँ एक रातको उपचारपछि नेपाली सेना चिकित्सा अध्ययन प्रतिष्ठान छाउनी लगियो। त्यहाँ एमआरई र सिटिसक्यान र अन्य परीक्षणपछि रोग पत्ता लाग्यो। त्यहाँ चार दिन उपचार गरेपछि उनलाई मेडिसिटी अस्पताल लगियो। मेडिसिटीमा पुगेको पाँच दिन हुँदा पनि उनको स्वास्थ्य सुधार हुन सकेको छैन।

परिवारका एक मात्र छोरा यस्तो अवस्थामा परेपछि देउजा परिवार चिन्तत छ। मामा जयेन्द्र बस्नेतका अनुसार सौभाग्य तीन महिनादेखि बुटवलमा जारी कमान्डर तालिममा थिए। सो तालिममा हिलो, माटो, जंगलमा प्रतिरक्षाका सिकाइ हुने गर्छ । उनलाई त्यहीँ संक्रमण भयो। कडा ज्वरो आयो । त्यही बेला सेनाले शीघ्र सही उपचार पु¥याउन नसक्दा रोग जटिल बन्यो। ‘ज्वरो आउँदा सिटामोलको भरमा राखिएछ, अस्पतालमा नपु¥याई एक्लै घर पठाएछन्,’ बस्नेतले गुनासो गरे। नेपाली सेनाजस्तो मर्यादित सेवामा हुँदा पनि समयमै उपचार हुनु संस्थागत कमजोरी भएको बस्नेतको आरोप छ । ‘जहाँ तालिम भयो, त्यहीँ उपचार भएन, हेरचाह पनि भएन,’ उनले भने। समयमै उपचार पाएको भए देउजाको संक्रमण फैलिन नपाउने उनको भनाइ छ।

चिकित्सकका अनुसार यो किटाणु शरीरको विभिन्न भागबाट प्रवेश गरेमा अन्य अंगमा समेत संक्रमण गर्छ। तर मस्तिष्कमा भएको संक्रमणभन्दा अन्य अंगमा भएको संक्रमणको उचपार सहज हुन्छ। यो किटाणु अन्य अंगमा संक्रमण भएमा निमोनियाँ, कलेजो, बे्रन हेमरेज, सेप्टिसेमियाँ, बे्रन सेप्सिस, मेनेन्जाइटिस लगायत रोग लाग्छन् । मस्तिष्क संक्रमण भएमा बचाउने सम्भावना ५० प्रतिशत मात्रै हुन्छ।

फोहोर पानी, गाई–भैंसीको गोबर, दूषित पानी, बाढीको पानीमा समेत यो किटाणु हुने भएकोले कृषक, पशुपालन व्यवसायी तथा तालिममा सहभागी हुने सेनासमेत सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ। ‘यसको जोखिममा कृषक र गोठमा काम गर्ने सबै छन्,’ डा.शर्माले भने। यो किटाणुको संक्रमणबाट बच्न हात–खुट्टामा घाउ भएमा सफा गरेर एन्टिवायोटिक खाने, हातखुट्टामा घाउ भएमा गाईबस्तुको गोबर, हिलो, फोहोर पानी नछुने, प्रदूषित ठाउँमा माक्सको प्रयोग गर्न चिकित्सकको सुझाव छ। किटाणुले कुनै न अंगमा संक्रमण सुरु गरेपछि कडा खालको लक्षण देखिने र छिट्टै बिरामीलाई गम्भीर बनाउँछ। कडा ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, बेहोस हुने लगायतका लक्षण देखिन्छन्।

प्रकाशित: २६ असार २०७५ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App