७ वैशाख २०८१ शुक्रबार
समाज

एक ठाउँमा वर्षा अर्को ठाउँमा सुक्खा

काठमाडौं - मनसुन सुरु भएको एक महिना पुगिसक्दा पनि मनसुन सक्रियतामा विलम्ब हुँदा तथा सक्रिय मनुसन पनि लामो समयसम्म नटिक्दा वर्षाको शैलीमा केही परिवर्तन भएको छ।

जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार गत जुन ८ देखि सुरु भएको मनसुन छोटो अवधिका लागि मात्र सक्रिय हुने र अधिकांश समय मनसुन निस्क्रिय भइरहँदा थोरै थोरै वर्षा हुने र कुनै ठाउँमा भारी वर्षा हुँदा अर्काे ठाउँमा वर्षा नहुने वा कम वर्षा हुने भइरहेको छ। सामान्यतया मनसुन सक्रिय हुँदा अधिकांश स्थानमा एकैपटक वर्षा हुने शाखाको भनाइ छ। विगतको तुलनमा यसपटक वर्षाको प्याटर्नमा केही भिन्नता देखिएको मौसमविद् सुभास रिमाल बताउँछन्।

‘अहिले कतिपय स्थानमा भारी वर्षा हुँदा अन्य ठाउँमा वर्षा नहुने वा कम वर्षा हुने देखिएको छ,’ रिमालले भने। मनसुन पूर्ण रूपमा सक्रिय नहुने र सक्रिय मनसुन पनि कम अवधिका लागि मात्र सक्रिय हुँदा एकैपटक नभई छुट्टाछुट्टै वर्षा भइरहेको रिमाल बताउँछन्। मनसुन सक्रिय हुँदा सबैतिर फैलिएर वर्षा हुने उनको भनाइ छ।

मौसमविद् रिमालका अनुसार मनसुनी वर्षा गराउनका लागि न्यून चापीय रेखाको भूमिका महत्वपूर्ण हुने भए पनि हाल न्यून चापीय रेखा केही पछाडि भएकाले यस्तो सबैतिर एकैपटक वर्षा हुन नसकेको हो। केही दिनयता देशको पश्चिमी भूभागमा न्यून चापीय रेखानजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षा भइरहे पनि अन्य स्थानमा न्यून चापीय रेखा केही पछाडि रहेकाले वर्षा कम भइरहेको शाखाले जनाएको छ। दक्षिणी क्षेत्र अर्थात् भारततिरबाट आउने न्यून चापीय रेखा नेपालतर्फ अघि बढ्दा नेपालमा वर्षा हुनेगर्छ।

जल तथा मौसम विभागको तथ्यांकअनुसार हालसम्मको वर्षाका अवस्था हेर्दा सबैभन्दा बढी वर्षा हुने भनेर चिनिएको पोखरामा समेत औसतभन्दा कम वर्षा भएको छ। विभागका अन्य स्टेसनमा समेत अधिकांशमा औसतभन्दा कम वर्षा भएको रेकर्ड गरिएको छ। मौसमविद् रिमाल भने अहिलेको वर्षाको अवस्थालाई हेरेर सम्पूर्ण मनसुनको अवधिलाई मूल्यांकन गर्न नहुने बताउँछन्। ‘विगतमा भन्दा केही फरक देखिएको छ तर अहिलेकै अवस्थालाई हेरेर सम्पूर्ण मनसुन अवधिको मूल्यांकन गर्ने समय भएको छैन,’ उनले भने।

विभागको तथ्यांकअनुसार हाल वर्षा रेकर्ड गरिएका ताप्लेजुङ, विराटनगर, धनकुटा राजविराज, ओखलढुंगा, काभ्रे, जनकपुर, जिरी, रामपुर, लुम्ले, पोखरा, खाँचीकोट, सुर्खेत, जुम्ला, दिपायल, डढेलधुरालगायत स्टेसनमा औसतभन्दा कम वर्षा भएको छ । विभागले यो वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान गरेको छ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार पछिल्लो ७२ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी, मध्य र पश्चिम भागका केही स्थानमा भारी वर्षा हुनेछ। वर्षा भए पनि ठूला नदीले भने खतराको स्तर पार नगर्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ। साना नदीमा भने सतर्कता अपनाउनुपर्ने शाखाले जनाएको छ।

चार ठाउँमा हेलिकोप्टरसहितको उद्धार टोली
सरकारले वर्षामा बाढीपहिरोका कारण हुन सक्ने जोखिमको पूर्वतयारीका लागि चार ठाउँमा हेलिकोप्टरसहित खोज उद्धार टोली तयारी हालतमा राखेको जनाएको छ।

खोज उद्धारका लागि काठमाडौं, पोखरा, सुर्खेत र इटहरीमा नेपाली सेनाको हेलिकोप्टरसहितको खोज उद्धार टोली तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले खोज तथा उद्धारका लागि विभिन्न रणनीतिक स्थानमा उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तयारी अवस्थामा रहेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मानवीय सहायता स्थलबाट सातैवटा प्रदेशमा विपद् पूर्वतयारीका लागि टेन्ट, त्रिपाल, डोरी, जेनेरेटरलगायतका सामग्री पूर्वभण्डारका लागि पठाइएको र क्षेत्रीय गोदाम घरमा विपद् पूर्वतयारीका सामग्रीलगायत राहत सामग्री भण्डारण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै विपद्का बेला हुन सक्ने सडक अवरोध हटाउनका लागि रणनीतिक स्थानमा हेवी इक्युपमेन्ट तयारी हालतमा राखिएको र गृहमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुनका बेला सबै निकायलाई सक्रिय हुन पनि निर्देशन दिएको छ।

प्रकाशित: २६ असार २०७५ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App