७ वैशाख २०८१ शुक्रबार
अर्थ

रातारात सडक कालोपत्रे

धनगढी - केही दिनअघि धनगढीको मुटु एलएन चोक नजिक प्रदेश प्रमुख मोहनराज मल्ल निवास अघिल्तिरको सडक साँझसम्म उस्तै थियो।

साँझ ओहोरदोहोर गरेका सयौं नगरवासी त्यतिबेला अच्चमित भए, जब दोस्रो दिन बिहान त्यही सडकमाथि नयाँ कालोपत्रे टल्किरहेको थियो ।

सोमबार बिहानैदेखि धनगढीमा सिमसिम वर्षा भइरहेको थियो । धनगढी गाउँमा दुई ठाउँमा सडकमाथि कालोपत्रे गर्न भ्याइनभ्याइ भइरहेको थियो । असारे विकासका यी दुईवटा प्रतिनिधि उदाहरण मात्रै हुन् ।

वर्षभरी काम नगर्ने र असारमा बजेट सिध्याउन रातारात गुणस्तरहीन काम गरेर सर्वसधारणको आँखामा छारो हाल्ने प्रवृतिको अझै अन्त्य हुन सकेको छैन । असारमा हतार हतारमा झारो टार्ने शैलीमा गुणस्तरहीन काम गरेर ठेकेदार, कर्मचारी लगायतले मोटो रकम कुम्ल्याउने गरेको जानकार बताउँछन् ।संविधान सभामार्फत नयाँ संविधान बनेर देश संघियतामा गई तीनै तहका सरकारको अभ्यास भइरहँदा पनि जनताले तिरेको करबाट उठेको रकम विकासका नाममा बह्मलुट गर्ने यो परम्परा नहट्नुलाई स्थानीयले दुर्भाग्यको संज्ञा दिएका छन् ।

‘असारमा काम गर्ने नाममा हतार हतार झारो टार्ने गरी काम गरेर बजेट कुम्ल्याउने पुरानैदेखि गलत परम्परा हो,’ नगारिक समाजका अगुवा जनकराज पाण्डेयले भने, ‘अहिले पनि यही परम्पराले निरन्तरता पाउनु दुभाग्र्यपूर्ण हो ।’ हिलो सडकमाथि कालोपत्रे गरिदिने, हतारहतारमा कमसल सामग्री प्रयोग गरेर निर्माणको काम असार महिनामा हुने गरेको नगरपालिकाका एक कर्मचारी बताउँछन् ।‘डेढ दशक लामो समय स्थानीय तह जनप्रतिनिधिबिहीन भएर कर्मचारीको भरमा चल्दा अनियमितता मौलाएको र विकास हुन नसकेको भनियो ।

जनप्रतिनिधि चुनिएर अधिकार सम्पन्न स्थानीय सरकार भएपछि पनि विकासका नाममा ठगी भएपछि हामी सर्वसाधारण निराश भएका छौं,’ स्थानीय युवा किशोर जोशीले भने । धनगढी उपमहानगरपालिका लगायत सबै स्थानीय तह, विकासे कार्यालय अन्तर्गत बजेट सिध्याउन हतार हतारमा सबैतिर गुणस्तरहीन काम भइरहेको स्थानीय बताउँछन् । बजेट सक्नका लागि असार अन्त्यमा वर्षाकै बीच धनगढीमा सडक कालोपत्रे, नाली निर्माण, ग्राभेललगायत कामहरु रातारात भइरहेका छन् । यी सबै काम गुणस्तरहीन भइरहेको कर्मचारी नै बताउँछन् । असारमा गरेका काम ६ महिना नबित्दै भत्किने गरेको सर्वसधारण बताउँछन् ।

वर्षभरीका एघार महिनामा काम नगरेर असारमा हतार हतारमा काम गरेर बजेट सिध्याउने समस्या पुरानो र देशभरीकै हो । असारमा काम गर्ने प्रवृतीले देशको विकासमै गम्भीर नकारात्मक प्रभाव पारेको विज्ञहरु बताउँछन् । ‘विकास निर्माणका काम लापरवाही गरेर असारमा काम गरेजस्तो गरेर बजेट सिध्याउने काम हाम्रो देशको ठूलो समस्या हो, यसले मुलुकको विकासमा ठूलो असर पारेको छ।’

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘सरकारले नै यस्तो प्रवृतिलाई निरुत्साहित गर्ने नीति ल्याउनु पर्छ ।’ नियतवस भ्रष्टाचार गर्न असारमा काम गरिने गरेको भए पनि कानुनका कतिपय प्रावधान र प्रक्रियाले पनि यसलाई मद्दत गरेको उनी बताउँछन् । खरिद ऐन र नियमावली पनि समस्या रहेको उनको भनाइ छ । खरिद ऐन र नियमावली शंसोधन गरेर असारमा काम गरेर बजेट सिध्याउने गलत परम्परामा सुधार गर्नुपर्ने उनले बताए । ‘साउन महिनादेखि इस्टिमेट निकाल्ने लगायत प्रक्रिया सुरु गरेर छिटोभन्दा छिटो काम सुरु गर्ने प्रावधान बनाइनु पर्छ,’ उनले भने ।

स्थानीय सरकार भएपछि पुँजीगत बजेटमा वृद्धि भएको र खर्च बढेको भए पनि असारमा काम गर्ने कुरामा सुधार नभएको उनको भनाइ छ । ‘वर्षातमा सबैतिर सडकमाथि पिच भइरहेको छ,’ उनले भने, ‘यसरी गरेको कामले विकास हुँदैन, बजेट मात्र सक्ने काम हुन्छ ।’ उनले भने, ‘पूर्वाधार विकासमा धेरै लापरबाही भइरहेको छ, विगतमा र वर्तमानको काम गराइमा कुनै सुधार भएको छैन।’

‘पुँजीगत बजेट खर्चले नै विकास निर्माणका काम हुने, रोजगारी पाउने र पैसाको मुभमेन्ट बढ्ने हो,’ उनले भने, ‘हामी कहाँ यही बजेट कम खर्च हुने गर्छ, खर्च गरिएको बजेट पनि ‘असारे विकास’मा लगाइन्छ ।’ यसमा एउटा मान्छेलाई दोष दिनुभन्दा पनि सबैको दोष भएकाले सरकारले संरचनामा नै सुधार गर्नुपर्ने उनको सुझाव छ ।

उपभोक्तालाई काम दिँदा समस्या
गुणस्तर र राम्रो काम होला भन्ने मान्यता राखेर विकास सँग जोडिएका उपभोक्ता समिति मार्फत गराउने गरिन्छ । राजनीतिक दलका कार्यकर्ताले भागभण्डा गरेर उपभोक्ता समितिको नाममा लिने र कामको गुणस्तरमा ध्यान नदिने देखिएको छ । समयमा काम नगरेर उपभोक्ता समितिले पनि ठेकेदारमार्फत नै हतार हतारमा असारमा काम गराइरहेका छन् ।

‘धनगढी उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सन्तकुमार सुनार असारमा हतार हतार काम गर्ने गलत परम्पराले यस वर्ष पनि निरन्तरता पाएको स्विकारेका छन ।‘असारमा काम गर्ने पुरानो परिपाटी, हाम्रो संस्कार यो अत्यन्त घृणित रहेको छ’उनले भने,‘यो सुधार भएन भने विकासका लागी खतरनाक सावित हुने छ ।’ यो समस्यामा सुधार गर्न नसकेको उनको स्विकारोक्ती छ ।‘ समयमा काम नगर्ने र घर्केपछि रातारात काम गर्ने गलत परिपाटी छ’उनले भने,‘यो रोगवाट हामी मुक्त हुन नसकेको अवस्था छ।’ केही बजेट केन्द्रवाट नै जेठ असारमा आउने गरेको पनि उनले बताए ।‘

उपभोक्ता समितिको जुन संस्कार छ त्यो उपभोक्ताको मर्म अनुसार नभई विकृत देखिएको छ ।’उनले भने,उपभोक्ता समितिले आफु काम नगरेर कमिशन खाएर ठेकेदारलाई दिदा समस्या भएको छ।’ उपभोक्ताले आफ्नो काम आफै गर्ने, रोजगारी सृजना गर्ने उद्येश्यले उपभोक्ता समिति मार्फत गर्न दिइएको हो । टाठावाटाले समिति बनाएर कमिशन खाएर ठेकेदारलाई काम दिने गर्छन । कयौ ठाउँमा काममा हात हालेको ठेकेदारले उपभोक्तावाट काम लिएर हतार हतारमा गुणस्तर हिन काम गर्ने गरेको उनी बताउँछन् ।

समयमै यसमा सुधार गर्न नसके ठुलो समस्या हुने उनको भनाई छ । असारमा रातारात काम गर्ने र गुणस्तर हिन काम गर्ने ठेकेदारलाई भन्दा उपभोक्तालाई दिदाँ बढी समस्या देखिएको उनी बताउछन । सडक मर्मतमा उपमहानगरपालिकाले मात्र यस वर्ष १ करोड भन्दा बढी खर्च गर्दै छ । यसैगरी अन्य स्थानीय तह अन्तर्गत र विकासे कार्यालय अन्तर्गत काम भइरहेको छ ।

प्रकाशित: २६ असार २०७५ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App