८ वैशाख २०८१ शनिबार
अर्थ

एक नेपाली एक डिम्याट खाता अभियान

काठमाडौं– नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नेपालभरी धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन बोर्डले यस्तो नीति ल्याएको हो।

बोर्डले सोमबार आर्थिक वर्ष २०७५-०७६ को धितोपत्र तथा बस्तु विनियम सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बोर्डले आगामी आवका लागि बजार पूर्वाधारहरुमा सुधार तथा विकासका कार्यक्रम सार्वजनिक गरेको छ।

बोर्डले क्रेडिटी रेटिङ सेवालाई थप स्तरीय एवं विश्वसनीय बनाई बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने ऋणीहरु तथा स्थानीय स्तरबाट निष्काशन हुने नगरपालिका तथा सहरी विकास ऋणपत्रहरुको समेत शाख मूल्यांकनको लागि आवश्यक समन्वय एवं सहजीकरणको व्यवस्था गर्ने भएको छ ।धितोपत्रको दोस्रो बजार कारोवार सुविधा देशव्यापीरुपमा विस्तार गर्न धितोपत्र बजारमा अन्तर्राष्ट्रिय स्तरको कारोवार प्रणाली बोर्डले भित्र्याउने भएको छ । 

बोर्डले ऋणपत्र बजारलाई प्रभावकारीरुपमा विकास गर्न तथा धितोपत्र बजारलाई प्रतिस्पर्धी एवं गुणात्मकरुपमा अगाडि बढाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।सरकारले वास्तविक क्षेत्रका कम्पनीहरुलाई पब्लिक कम्पनी भई सर्वसाधारणमा सेयर जारी गर्न बाध्यात्मक तथा कर छुटको प्रोत्साहनमूलक व्यवस्था गरेको छ ।

बोर्डले हालै लागु गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको व्यवस्था अनुसार प्रिमियममा धितोपत्र निष्कासन गर्नसक्ने व्यवस्थासमेत भएकोले आगामी आवलाई वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजार प्रवेश गराउने विशेष वर्षको रुपमा लिई कम्पनी ऐन तथा औद्योगिक नीतिमा सम्बन्धित व्यवस्था समावेश गराउन सरकार, अर्थ मन्त्रालय तथा कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय तथा सहकार्य गर्ने भएको छ ।धितोपत्र बजारमा खुलामुखी सामूहिक लगानी योजना प्रवेश गराउने र साथै यसको प्रबर्द्धनमा सहायक कम्पनीमार्फत बिमा कम्पनीहरुसमेत सहभागी हुनसक्ने व्यवस्था गर्ने गर्ने भएको छ ।

बोर्डले अन्तर्राष्ट्रिय अभ्यास तथा धितोपत्र सम्बन्धी ऐन नियम अनुसार हुने गरी नेप्से तथा सिडिएससिको पुर्नसंरचना गर्न सहजीकरण गर्ने छ । यसैगरी धितोपत्र दलाल व्यवसायीमार्फत् ग्राहकको खरिद बिक्री आदेश स्वचालितरुपमा दिने प्रणालीलाई नेप्सेको नयाँ कारोवार प्रणालीसंग आबद्धगरी धितोपत्रको दोस्रो बजार सेवालाई स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै लैजाने भएको छ । धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार गरी धितोपत्र बजारमार्फत् स्थानीयस्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पुँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिकरुपमा सम्भाव्य स्थानहरुमा धितोपत्र दलाल व्यवसायी सेवा सञ्चालन अनुमति दिने छ ।

बोनस सेयर तथा हकप्रद सेयरको घोषणा तथा सो सम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउन र हकप्रद सेयरको हकको निस्सा बोलककबोल प्रक्रियामा व्यापक सहभागीता बढाउन आवश्यक व्यवस्था गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा हुने कारोवारको भुक्तानी सुनिश्चितताका लागि आवश्यक सेटलमेन्ट ग्यारेन्टी फन्ड स्थापना गराउन तथा अक्सन मार्के सञ्चालन गराउन आवश्यक सहजीकरण गर्ने भएको छ ।

हकप्रद सेयरमा खरिदका लागि विद्यमान सेयरधनीहरुलाई प्राप्त हुने हकको खरिद बिक्रीको व्यवस्था गरी इक्विटी डेरिभेटिभ मार्केटको शुरुवात गर्ने, वस्तु विनिमय बजार तथा वस्तु कारोबार व्यवसायी सेवा सञ्ंचालन अनुमति दिने र ओटिसी कारोवारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्ने जस्ता कार्यहरु गरी बजार पूर्वाधारहरुको सुधार तथा विकास गर्ने भएको छ।

बोर्डले चालु आवको धितोपत्र बजार र बोर्डको नीति तथा कार्यक्रमको प्रगति समीक्षा गरेको छ । पछिल्लो समयमा धितापत्रको पूर्ण अभौतिक कारोबार, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागु भइ हाल ७७ वटै जिल्लाका बैंक तथा वित्तीय संस्थाका २५०० भन्दा बढी शाखाहरूबाट प्राथमिक बजारको सेवा उपलब्ध हुनुका साथै मर्चेन्ट बैंक र तथा धितोपत्र दलाल व्यवसायीको उपत्यकाबाहिर शाखा विस्तार हुँदै गएको छ । नेपालको धितोपत्र बजार पनि प्रविधिमैत्रीं, लगानीमैत्रीं एवं देशव्यापी बन्दै गइरहेको जानकारी बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए।

विगतका वर्षहरुमा धितोपत्र बजार सुधार तथा विकासका लागि उल्लेख्य कार्यहरु भएतापनि अर्थतन्त्रमा लगानीको अन्य विकल्पहरु कम भएको, वित्तीय बजारमा असन्तुलित भई बैंक व्याजदर अस्थिर रहेको तथा बैंक तथा वित्तीय संस्थाको हकप्रद, बोनस सेयर निष्काशन तथा थप सार्वजनिक निष्काशन, संगठित संस्थाको धितोपत्रको प्राथमिक निष्काशनबाट धितोपत्रको आपूर्तिमा वृद्धि भएका कारण समीक्षा अवधिमा धितोपत्र बजारमा संकुचन देखिएको बोर्डको भनाइ छ । धितोपत्रको प्राथमिक स्थिति मिश्रित रहेको छ भने दोस्रो बजार संकुचनको स्थितिमा रहेको बोर्डको भनाइ छ।

चालु आवको प्रथम एघार महिनासम्ममा हकप्रद सेयर तथा थप निष्कासनमा आएको कमीका कारण समग्र प्राथमिक बजारमार्फत् हुने पुँजी परिचालनमा कमी आएको छ । समीक्षा अवधिमा ७३ संगठित संस्थाले कुल ४२ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ, जुन गत वर्षको सोही समयावधिको तुलनामा करिब २४ प्रतिशतले कम हो । गत वर्ष प्राथमिक बजारमार्फत् ५५ अर्ब ४५ करोड बराबरको पूँजी परिचालन भएको थियो । विगत तीन वर्ष ऋणपत्र निष्काशन सून्य रहेको अवस्थामा समीक्षा वर्षमा एक वाणिज्य बैंकले तीन अर्ब रुपैयां बराबरको ऋणपत्र निष्काशन गरेको छ ।

सोही समयावधिमा साधारण सेयरको निष्काशनमा भने करिब तीन गुणाले वृद्धि आएको छ । कुल पुँजी परिचालनमा सबैभन्दा बढी हिस्सा (५२.३८ प्रतिशत) हकप्रद निष्काशनको रहेको छ भने सबैभन्दा कम हिस्सा (७.१४ प्रतिशत) ऋणपत्र निष्काशनको रहेको छ । यस्तै चार योजनामार्फत् ४.८ अर्ब बराबरको म्युचुअल फण्ड निष्काशन भएको छ जुन विगत तीन वर्षको अवधिमा निष्काशन भएको सामूहिक लगानी योजना मध्ये सबैभन्दा बढी निष्कासन हो ।

प्रकाशित: २६ असार २०७५ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App