coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रमुख नहुँदा चक्रपथ सुधार आयोजना अलपत्र

ललितपुर- एक महिनादेखि कार्यालय प्रमुख नहुँदा चक्रपथ सडक सुधार आयोजना अलपत्र परेको छ। प्रमुख नहुँदा आयोजनाका सबै काम कारबाही सुस्त भएपछि चक्रपथ सुधार समयमै नहुने सम्भावना बढेको छ।

आयोजना प्रमुख नहुँदा चालु आर्थिक वर्षको योजना अनुसारका सबै काम रोकिएका, लागत अनुमान स्वीकृत नभएको र चिनियाँ निर्माण कम्पनीसँग हुने सम्झौतासम्बन्धी निर्णय हुन नसकेको निमित्त आयोजना प्रमुख रमेश द्रिष्टीले जानकारी दिए। उनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै बेवास्ताका कारण आयोजना एक महिनायता प्रमुखविहीन भएको आरोप लगाए।

यातायात मन्त्रालयका प्रशासन शाखाप्रमुख विश्वकुमार केसीले आयोजना प्रमुखमा ज्ञानेन्द्र झालाई खटाउन विभागबाट मन्त्रालयमा पत्र आएको जानकारी दिए। तर सडक विभागप्रमुख देवेन्द्र कार्कीले मन्त्रालयमा यस्तो कुनै पनि पत्र विभागले नपठाएको बताए। आयोजना प्रमुख नियुक्त गर्ने काम मन्त्रालयकै भएकाले प्रमुख नियुक्तीमा विभागले कुनै निर्णय गर्न नसक्ने उनी बताउँछन्।

यसअघि आयोजन प्रमुखमा राजेशकुमार दास थिए। तर सडक निर्माणमा उनको कार्यक्षमता कमजोर भएको भन्दै उनलाई मन्त्रालयले सरुवा गरेेको चक्रपथ सडक सुधार आयोजनाका एक कर्मचारीले बताए। तर आयोजना प्रमुख सरुवा गरेको एक महिना बित्दा पनि मन्त्रालयले अर्को प्रमुख नियुक्त गर्न चासो दिएको छैन। 

सडक सुधारको लागि अनुमानित ४ अर्ब ९९ करोड २० लाख नेपाली  रकम छुट्याएको छ। सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु भएको कोटेश्वर कलंकी सडक सन् २०१८ जुलाई ३१ सम्म सक्नुपर्ने म्याद छ। तर योजना सुरु भएको ३ बर्षको अवधिमा ४२ प्रतिशत मात्र काम हुँदा बाँकी २ बर्षमा योजना नसकिने देखिएको हो।

उक्त सडक निर्माणको लागि सन् २०१२ डिसेम्बर १८ मा चिनिँया सरकार र नेपाल सरकारबीच सडक निर्माणबारे द्धयपक्षिय सम्झौता भएको थियो। सम्झौता अनुसार उक्त सडक निर्माणको लागि चिनिँया निर्माण कम्पनी (साङघाई कन्ट्रक्सन गु्रप) लाई जिम्मा दिएको थियो। तर उक्त कम्पनीसँग सडक विभाग र चक्रपथ सुधार योजनाले उचित समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा योजना सुस्ताएको निर्माण कम्पनीको भनाई छ।

सडक निर्माणको लागि चिनिँया टोलीमा ६० जना इन्जिनियर तथा कर्मचारीहरु छन्। साङघाई कम्पनीले निर्माणको लागि १२० जना चिनिँया निर्माण कर्मचारीहरु ल्याउने भनेतापनि ६० जना मात्र कर्मचारी ल्याएका कारण पनि काम तीब्र रुपमा हुन नसकेको निमित्त प्रमुख द्रिष्टी बताउँछन्।

१०.३९ किमी दुरी रहेको सडक सुधार योजना अर्न्तगत हालसम्म छेउछाउका टहरा भत्काउने, सडक पेटी र ढल निकासको काम समेत सकिएको छैन।

बर्षाको समय भएकोले योजना पुरा गर्नको लागि अप्ठेरा परेको निमित्त प्रमुख द्रिष्टीले जानकारी दिए। उनले असोजसम्म दायाँवायाँका खाल्डाखुल्डी पुर्ने, ढल व्यवस्था गर्ने र टहरा भत्काउने काम सकिसक्नुपर्ने सम्झौता भएको थियो तर उक्त काम कार्यालय प्रमुख नभएको कारणले चिनिँया कम्पनीसँग समन्वय गर्न नसक्दा काम सुस्ताएको बताए। उनले भने, 'चिनिँया कम्पनीले सडक निर्माणको लागि दुईवटा चरण छुट्याएको छ, पहिलो चरण– कोटेश्वरदेखि नक्खुसम्म ५ किमी सकाउने र दोश्रो चरण– बाँकी ५ किमी सक्नेगरी योजना बनाएको छ।'

चिनिँया कम्पनीले गर्ने उक्त योजनामा चक्रपथ सडक सुधार योजनाले सहजकर्ताको भूमिका निर्वाह गर्ने सम्झौता भएतापनि कार्यालय प्रमुख नहुँदा निर्णयका कामहरु रोकिएका छन्।

चक्रपथ सडक सुधार आयोजनाले चाइनिज कम्पनीले सडक विस्तार गर्दा खानेपानीका पाइप सारिदिने, पुल भत्काउने, बिजुली पोल सार्ने जस्ता कामको जिम्मा लिएको छ।

त्यस्तै बाटो छेउका विद्युतका लाइन हटाउन अप्ठेरो परेको र बारम्बार आग्रह गर्दा पनि नक्खु क्षेत्रमा रहेको पटीपाचोकमा रहेको इलेक्ट्रोनिक टावर हटाउन नेपाल विद्युत प्राधिकरण पुल्चोक शाखासँग पटकपटक आग्रह गर्दा पनि प्राधिकरणले अटेर गरेको निर्माणमा संलग्न कर्मचारीहरुले जानकारी दिए।

सडक सुधार योजनाले सडक विस्तारको क्रममा अप्ठेरो पर्ने विषयलाई मध्यनजर गर्दै उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकमलाई सडक निर्माण गर्दा आइपर्ने पोल तथा पाइप एक ठाउँबाट निकालेर अर्को स्थानममा सिफ्ट गर्नको लागि सडक विभागबाट रकम समेत दिएको योजना विभाग प्रमुख देबेन्द्र कार्की बताउँछन्।

त्यस्तै चाइनिज कम्पनीले गुणस्तरीय गिटी, वालुवा, ग्राभेल नपाएकोले निर्माण कार्य ढिला भएको जनाएको छ। कलंकीको आकाशे पुल समयमै भत्काउन नसक्नु, सवारी जाम तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम र विद्युत प्राधिकरणले समयमै खानेपानीका पाइप तथा सिफ्ट गर्न ढिलाई गरेको कारण पनि कामका अवरोध पुगेको निमित्त प्रमुख बताउँछन्।

सडक निर्माण प्रक्रृयाबारे चिनिँया प्रतिनिधिसँग कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन्।

त्यस्तै सडक सुधार अर्न्तगत कोटेश्वरदेखि कलंकीसम्म ३ वटा आकाशेपुल चिनिँया कम्पनी र ३ वटा पुल सडक विभागले निर्माण गर्न लागेको छ।  चिनिँया कम्पनीले कोटेश्वर, ग्वार्को र धोविघाटमा आकासे पुल निर्माणको ५० प्रतिशत काम सकाएको छ भने सडक पुल राख्ने भनेको स्थान सातदोबाटो, एकान्तकुना र बल्खुमा राख्ने निर्णय भएतापनि विभागले पुल निर्माणको लागि जग समेत बसाल्न सकेको छैन। पुल निर्माणको लागि सडक विभागले १० करोड रकम विनियोजन गरेको छ।

त्यस्तै सडक निर्माण गर्दा स्थानीयको अवरोध भएका कारण चक्रपथ सुधार योजनाले छेेकबार लगाएर काम सुरु गर्न लागेको निमित्त प्रमुख द्रिष्टीले जानकारी दिए। उनले चिनिँया कम्पनीले नै सडक छेउमा भएका टहरा र अनावश्यक रुपमा आउजाउ गर्ने व्यक्तिले काममा अवरोध खडा गरेकोले छेकबार लगाउन थालिएको पनि जानकारी गराए।

६२ मिटरको चौडाईमा निर्माण हुन लागेको उक्त सडकको मेनलेन १५ मिटर, ६/६ मिटर पहुँचमार्ग (एक्सेस रोड), साढे सात मिटर दायावायाँ ट्रयाक सर्भिस, अन्य स्थान पर्खाल र हरितले ओगटेको छ।

त्यस्तै बालकुमारीदेखि ग्वार्कोसम्म सडक पेटीमा ओछ्याइएको सल्याव फुटेको छ। उक्त सल्याव फुट्नुमा प्राविधिक र गुणस्तरहिन कमजोरी नभएको भन्दै निमित्त प्रमुखले धेरै निर्माण गर्दा सामान्य कमजोरी देखा पर्ने बताए।

प्रकाशित: २३ भाद्र २०७३ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App