भक्तपुर- दसैं नजिकिएसँगै भक्तपुरको तलेजु भवानीको वाहनका लागि सेतो घोडा खोजी तीव्र भएको छ। तलेजु भवानीको वाहन सेतो घोडा भएको र पहिलेको घोडा गत वर्ष कात्तिक ७ मा मरेको थियो। घोडा मरेपछि तलेजु भवानी वाहनविहीन छिन्।
विजया दशमीको रात भक्तपुरको तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्राका लागि घोडा हुनैपर्ने परम्परा छ। महिषासुरसँगको युद्धमा विजयी भएपछि आफ्नो वाहन सेतो घोडामा सिंगारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गर्ने प्रचलन छ। नगर परिक्रमाका लागि सेतो घोडा हुनैपर्छ। परम्पराअनुरुप भक्तपुरको खड्ग जात्रामा विजया दशमीको रात सेतो घोडामा तलेजु र नवदुर्गा भवानीलाई नगर परिक्रमा गराइन्छ।
तलेजु मन्दिरकामूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीका लागि वाहन नभइ नहुने भएकाले घोडा मरेदेखि नै निरन्तर खोजी भइरहेको जनाए। 'दसैंमा जसरी भए पनि वाहन सेतो घोडा हुनै पर्ने भएकाले खोजी तीव्र पारेका छौं,' मूलनाइके जोशीले नागरिकसँग भने।
सेतो घोडा मरेपछि जोशीले भक्तपुर सूर्यविनायकस्थित गुठी संस्थान शाखा कार्यालयमा तलेजुको वाहन सेतो घोडा उपलब्ध गराइदिन अनुरोधसहित पत्राचार गरेको थियो। संस्थानको शाखाले केन्द्रीय कार्यालयमा तलेजुको पत्र पठाइदिएको थियो।
गुठी संस्थान भक्तपुर शाखा कार्यालय प्रमुख लेखनाथ सापकोटाका अनुसार संस्थानको केन्द्रीय कार्यालयले भूमिसुधार मन्त्रालयमा पत्र पठाएको थियो। भूमिसुधारले सेतो घोडा खोज्न रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको जंगी अड्डामा पत्र पठाएको उनले जनाए।
'जंगी अड्डाबाट तलेजुले खोजेजस्तो सेतो घोडा छैन नभएको मौखिक जानकारी आएको छ,' संस्थानका भक्तपुर शाखा प्रमुख सापकोटाले भने, 'अब हामी तलेजुका नाइकेसँग छलफल गरी अघि बढ्ने योजनामा छौं।'
सापकोटाका अनुसार जंगी अड्डाले रातो, खैरो रंगका घोडा मात्र आफूसँग रहेको जानकारी दिएको छ। तर तलेजुले सेतो घोडा नै चाहिने बताएकाले सेतो बाहेक रातो, खैरो ल्याउने कि सेतो नै खोज्नेबारे छलफल गर्ने उनले बताए। उनका अनुसार भक्तपुरमा नै सेतो घोडा रहेको खबर आएको छ। 'पहिले भक्तपुरमा सेतो घोडा खोजी गर्ने कि जंगी अड्डाबाट रातो, खैरो भए पनि ल्याउने निर्णय एकदुई दिनमै गर्छौं,' उनले भने।
गत वर्षको खड्ग जात्रामा पूजाका लागि नवदुर्गा र तलेजु भवानीलाई नगर परिक्रमा सकेर तबेला फर्कंदा तलेजु मन्दिरको मूलद्वारमा ठोक्किएर खुट्टामा चोट लागी घाइते भएको घोडाको मृत्यु भएको तलेजुका पुजारी नाइके प्राडा सिद्धीवीर कर्माचार्यले जानकारी दिए।
धार्मिक र सांस्कृतिक मान्यता अनुसार तलेजुको वाहन घोडाको मृत्यु हुनु अशुभ मानिन्छ। घोडालाई वैदिक विधि अनुसार तलेजु मन्दिर परिसरभित्रै समाधिस्थ गरिएको थियो।
प्रकाशित: २३ भाद्र २०७३ ०३:५७ बिहीबार